यौवनसँग खेल्ने रहर, आगोजस्तै बल्ने रहर

कविताः आगोको झिल्को

अम्बिका खरेल उप्रेती
विराटनगर-१२

नियाल्दै छु मनको मझेरीबाटै
सुम्सुम्याइ रहेछु हिँड्ने त्यो बाटोभरि
इन्द्रेणी रङ्ग सजाउँदै
तिम्रो स्पन्द खोजि रहेछु
कतै, कतै तिमी नै हौ कि
मेरो अदृश्य ढुकढुकी ।

प्रकृतिसँग मात्र पनि रमाउन
नसकिने रहेछ
सुन्दर फूललाई चुम्दा मात्र पनि
तृष्णा नमेटिने रहेछ
विरक्तिएको मनलाई
अल्मल्याउन
थकानमा शीतल चौतारी
खोज्दैछु म पनि
लाग्छ, कतै तिमी नै हौ कि
मेरो अनुपम सौन्दर्य ।

फक्रन पाउँछ पाउँदैन कोपिला
निमोठिन्छ कि कतै डर लाग्छ
भय यत्रतत्र सल्बलाउँछन्
तै पनि यौवनसँग खेल्ने रहर
आगोजस्तै बल्ने रहर
हिजोआज स्वर्णिम सपनाहरू
धाउन थालेका छन्
लाग्छ तिमी नै हौ कि कतै
बाल्ने आगोको झिल्को ।

तिम्रो स्नेहको आभाषले
मात्र पनि आगो बल्छ
कहिले कुना काप्चाभित्र
शीतलता फैलाउँदै
प्रेमिल स्पर्शहरू
प्रमाणित गर्न
आएको भान हुन्छ
कतै तिमी नै हौ कि भानु
हावाका झन्कार
अदृश्य ढुकढुकी
अनुपम सौन्दर्य
आगाको झिल्को ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button