रत्नदाइले भने, ‘ल, जुठो नगरी खा’

संस्मरण: सखर-पानीले मुख मिठ्याउँदा

राजेन्द्रमान डंगोल

२०३० साल, चैतमासको एक दिन ।

आँगनमा गुच्चा खेलिरहेका थियौँ, रत्नदाइ र म ।

सिसाको गुच्चा खेल्न त कहाँ पाउथ्यौँ र हामीले ! रिट्ठाको गुच्चाचाहिँ फालाफाल हुन्थ्यो । बाहिरपट्टिकोले नुहाउने; भित्रपट्टिको खेल्ने । क्या मज्जा ! नुहाउनलाई साबुन किन्नै पर्थेन हामीलाई । रिट्ठा नभएको बेला कमेरोले नुहाइन्थ्यो । साबुन किन्न त पैसो भए पो !

०००

“ओइ, हिँड् जाऊँ काजीगाउँ ! आज डिट्ठाबुवाको घरमा सर्बत बाँड्छ !”

हठात् गुच्चालाई आँगनमा यात्त फाल्दै रत्नदाइले भने ।

“सर्बत भनेको के हो ?” मैले सोधेँ ।

“सखर-पानी ।” उनको जवाफ ।

गर्मीमा सखर-पानी भन्नेबित्तिकै मेरो मुख रसायो । त्यत्तिकै फुरफुरिएथेँ म ।

मैले भनेँ- “ल जाऊँ न त !”

हामी लाग्यौँ उकालो । त्यस्तै तीन बजेको थियो होला ! पश्चिमतर्फ लम्कँदै थियो घाम । रत्नदाइ अघिअघि म पछिपछि । उमेरले मभन्दा पाँच वर्ष जेठा थिए उनी । दाइ भनेर सम्बोधन गर्थेँ म उनलाई । साथीजस्तै व्यवहार गर्थे उनी मसँग ।

अहिलेजस्तो बाक्लो बस्ती थिएन ऊ वेला । कसैको घर डाँडामा, कसैको गहिरोमा । कोहीको खोल्सावारि, कोहीको खोल्सापारि । यीमध्ये सबैभन्दा ठूलो थियो बानियाडाँडा ।
नागपानी चउर नजिक रत्नदाइको घर । त्यसैको पुछारको नयाँ डिहीमा हाम्रो घर । नागपानीभन्दा पर काजीगाउँ । दूरीको हिसाबले हाम्रो सबैभन्दा नजिकका छिमेकी थिए रत्नदाइ । बनेपाबाट बसाइँ आएका थिए उनका बुवा बिखुलाल डङ्गोल ।

रत्नदाइ मेरो जीवनकै पहिलो साथी थिए । बिहानदेखि बेलुकासम्म सँगै हुन्थ्यौँ हामी । सँगै खेल्यौँ । सँगै खान्थ्योँ । सँगै जान्थ्यौँ वनतिर । कहिले थाकल टिप्थ्यौँ, कहिले भलायो, कहिले अमला त कहिले बयर । कहिले पँदेल, कहिले बेल त कहिले ऐंसेलु । पाकेको अमिली पनि खुब खाइयो । भलायो खाँदा मुखभरि उस्रेको, बेलको काँडा बिझ्दा खुट्टा खोच्याएर हिँड्नु परेको र बयर टिप्दा हातभरि काँडाले कोतरेको कहिल्यै बिर्सन्नँ म । मुखै टर्रो हुन्थ्यो थाकल चपाउँदा । अमिली खाँदा दाँत कुँडिएपछि तीन दिनसम्म मकै चपाउनै सकिन्नथ्यो । एकचोटि सर्पको मकै खाँदा कोक्याएर कुन जात्रा ! खुर्सानी पिरो भयो भनेर बोटै काटेथेँ मैले । कस्ताकस्ता दिन बिताइयो । के मात्र गरिएन र बालवयमा । रमाइलो लाग्छ पुराना दिन सम्झेर । म सोच्छु- साँच्चिकै बाल्यकालका दिन सबैमा फर्कने हो भने संसार के पो हुन्थ्यो होला !

गाउँलेहरूको गाइवस्तु र बाख्राको चरन क्षेत्र थियो नागपानी चउर । बारीका ठुल्ठूला पाटाहरू छुट्टिएका थिए । कुनै वेला सालघारी फाँडेर बस्ती बसाएका थिए रे जिम्मावाल र तिनका आफन्तले । अहिले फेरि पूरै सालघारी भइसकेको छ नागपानीको चउर । नुवाकोटका नौ वटा कोटमध्येका सिमलकोट र प्यासकोटमा उहिले नै बस्ती उठिसकेका थिए । खण्डहरमात्र बाँकी थिए ती दुवै कोटमा । एकपटक बसिसकेको बस्ती किन र कसरी उठ्यो भन्ने कुराचाहिँ थाहा पाउन सकिएन । कुनै ठूलो महामारीले बस्तीहरू उजाडिए होलान् भन्ने अनुमानमात्र गर्न सकिन्छ ।

नागपानीको उकालो छेउमै थियो रत्नदाइको घर । अग्लालग्ला आँपका बोटहरू थिए नागपानीमा । आँप पनि थरीथरीका । कुनै सिँदुरे आँप, कुनै, सुपारी आँप, कुनै फर्सी आँप र कुनै किरिया आँप । आँप पनि केके हो केके । असार-साउनमा त आँप जाबो को खाइ !

“आज किन सखर-पानी बाँड्न लागेको ?”

नागपानीको ठूलो उकालो चढ्दै गर्दा रत्नदाइलाई सोधेँ ।

“आज नारायण जात्रा भएर क्या !” उनको जवाफ ।

“नारायण जात्रा भनेको के हो ? मेरो जिज्ञासा ।

“देउता ल्याउँछ के आज ! मान्छेहरू पनि थुप्रै आउँछन् । अहिले देखिहाल्छस् नि !” उनको भनाइ ।

नागपानीको ठूलो उकालो त्यही ठाउँ हो, जहाँ गोठालाहरू खुब चिप्लेटी खेल्थे । त्यही साल भदौमा च्याँसे नारान(दाइ)को हुटहुटीमा लागेर मैले पहिलोचोटि चिप्लेटी खेलेको थिएँ । कट्टु त भ्वाङ परिगो ! यतिमात्रै भइदिएको भए त हुन्थ्यो नि ! पछाडि त घाउ नै घाउ, पत्तीले चिरेको जस्तो । भोलिपल्ट भात खान पिर्कामा बस्न पनि सकिएन । कम गाली खाइनँ मैले निनी(फुपू)को ! पछि निनीले नै भ्वाङ टालिदिइन् । त्यही कट्टु लगाएको थिएँ मैले त्यो वेला ।

भगवती मन्दिरमा पुगेर घन्ट बजाए रत्नदाइले । मन्दिरभन्दा अलिमाथि छ चिसो पानीको कुवा । कुवाको नाम नै भगवती कुवा । भगवती मन्दिर छेउको कुवा भएकोले भगवती कुवा भनिएको होला । नुवाकोट जाँदा-आउँदा यही कुवाको पानी खान्थ्यौँ हामी । सीधै हातले झिक्दा फोहोर हुन्छ भनेर सालको पातलाई खोचो पारी पानी उबाउँथ्यौँ हामी । ठूलाले यही सिकाएका थिए हामीलाई ।

दुईवटा पाटी थिए, नागपानी भगवती परिसरमा । २०६५ सालसम्म आइपुग्दा खण्डहरमा परिणत भएसकेका थिए ती संरचना । काजीगाउँ निवासी रामराजा पाँडेले व्यक्तिगत खर्चमा दुवै पाटीलाई पुनर्निर्माण गरी पहिलेकै अवस्थामा पुर्‍याइदिए । काजीगाउँकै निवासी अर्का समाजसेवी अम्बिका पाँडेले भगवती मन्दिरअगाडि नयाँ ढुङ्गा छापेर जीणर् अवस्थामा पुगेको मान्दिरलाई नयाँ स्वरूप दिएकी छिन् । राज्यले गर्नुपर्ने काम व्यक्तिबाट भएको छ । धन्न वेलैमा समाजसेवीको आँखा पर्‍यो यी संरचनामा । नत्र खण्डहरले कति बिझाइरहन्थ्यो होला आँखा ।

प्रत्येक वर्ष चैत महिनामा काठमाडौँको हनुमानढोकास्थित कँडेलचोक भगवतीलाई रथमा राखेर यहाँँ ल्याइन्छ । ऊ वेला गुठियारहरूले प्रहरी सुरक्षासहित् साथमा एकजना ब्राह्मण पनि ल्याउँथे । नुवाकोटका धामी र द्वारे बावुसाहेबको पनि उपस्थिति हुन्थ्यो । सिन्दुरे जात्राका लागि काठमाडौँबाट आएका गुभाजू पनि उनीहरूसँगै आएका हुन्थे । पूजाको सङ्कल्प द्वारेबाटै गरिन्थ्यो । होम गर्नेबाहेक बाँकी पूजाकर्म गुभाजूबाटै हुन्थ्यो । काठमाडैँबाट हिँडेको तेस्रो दिनमा सेराबेसी आइपुग्थे उनीहरू । चौथो दिनमा नागपानी उक्लेर भगवतीलाई पञ्चवलीसहितको पूजा दिई भोज गरेपछि उही दिन बास बस्न मालाकोट/ढाँडेफेदी पुग्थे । कँडेलचोक भगवती यहाँबाट प्रस्थान गरेको भोलिपल्ट मात्र नुवाकोटमा गाडिएको लिङ्गो ढालिन्थ्यो । सिँन्दरु जात्राका लागि काठमाडौँबाट आएका गुभाजुबाट पूजाकर्म गराइनु, भैरवीका पुजारी र द्वारेको उपस्थिति हुनुले यहाँँ गरिने पूजापाठ सिन्दुरे जात्राकै अवच्छेद हो भन्न सकिन्छ ।

कँडेलचोक भगवती रथयात्राको बारेमा रोचक कथा सुनेको थिएँ मैले, छिमेकी घनबहादुर काकाको मुखबाट-
‘यहाँँकी भगवती दिदी र काठमाडौँबाट आउने कँडेलचोक भगवतीचाहिँ बहिनी रे । एक पटक यी दुई दिदी-बहिनी घुम्दै फिर्दै यो ठाउँमा आइपुगेछन् । थकाइ मारुन्जेल दिदीले बहिनीलाई जुम्रा हेर्न लगाइन् रे । बहिनीले टाउकोमा ठुङ हान्न थालेपछि दिदी त भुसुक्कै निदाइछन् । धेरै बेर पर्खंदा पनि दिदी नब्यूँझिएपछि बहिनीले उठाउने कोशिस गरिछन् । जति बोलाउँदा पनि दिदी उठिनन् रे । बहिनीलाई पनि झोक चलेछ । उनको पालो दिदीलाई यहीँ छाडेर हिँडिछिन् । हिँड्ने बेलामा भनेकी थिइन् रे- अब तिमी यहीँ बस ! वर्षको एक पटक म तिमीलाई भेट्न चाहिँ आउँला तर हाम्रो बोलचाल भने हुने छैन ।’

त्यसैले होला आजपर्यन्त नागपानी भगवतीसित आमनेसामने गराइएको छैन कँडेलचोक भगवतीलाई ।

नागपानी भगवती कसरी स्थापना भयो भन्ने सवालमा अर्को किंवदन्ती पनि छ-

मल्लकालमा यी दुवै दिदीबहिनीलाई काठमाडौँबाट नुवाकोटमा ल्याएका थिए रे तत्कालीन राजाले । तादीखोला तरेपछि कहीँकतै नबिसाई नुवाकोटडाँडा पुर्‍याउनु भनेका थिए रे । तर बोक्ने मान्छेलाई पानी तिर्खा लागेछ । भगवतीलाई अहिले भएको ठाउँमा बिसाएर कुवाको पानी खान गएछन् । बोक्ने मान्छे फर्केर आउँदा त भगवती शिला भएर बसिसकेकी थिइन् रे ।
दुवै किंवदन्ती सहीजस्तै लाग्छन् तर कुन यथार्थ हो भन्नेचाहिँ राम जाने !

ऊ वेला रथ ल्याउँदा दमाहा बजाउँथे । साथमा मुखले फुकेर बजाउने अर्को थरी अज्ञात बाजा पनि हुन्थ्यो । त्यो बाजा फुक्दा हुँक्क्……….हुँक्क्………. आवाज आउँथ्यो । बाजाको फुकाइ पनि लामो हुन्थ्यो । बाजाको धुन सुन्दा यस्तो लाग्थ्यो मानौँकि काठमाडौँबाट आउने भगवतीले ‘आएँ…. दिदी आएँ……’ भन्दैछिन् । नागपानीबाट फर्कंदा पनि त्यसरी नै बज्थ्यो त्यो बाजा । जाँदाको अवस्थामा बाजा बज्दा ‘गएँ…. दिदी गएँ….’ भन्ने भान हुन्थ्यो ।

नेपालमा माओवादी स-शस्त्र द्वन्द्व चर्कंदै गएपछि भयभीत गुठियारहरू गाडीमा आउजाउ गर्न थाले । अहिले पनि उनीहरू गाडीमै आउजाउ गर्छन् । चलन भनेको जस्तो चलायो त्यस्तै हुँदोरहेछ । अचेल कँडेलचोक भगवतीले न ‘आएँ…. दिदी आएँ….’ भनेको आभास हुन्छ न ‘गएँ…. दिदी गएँ…’ भनेको नै । गाडीमा आउँदा-जाँदा उनीहरूलाई सजिलो त भयो होला तर मालाकोट, ढाँडेफेदी, चतुराले, रानीपौवा र ककनीका मान्छेहरू भगवतीको दर्शनगर्नबाट वञ्चित भए । यसै गरीगरी मौलिक धरातलबाट स्खलित हुँदै गइरहेका छौँ हामी ।
लुइँलुइँ लम्केपछि पुगियो काजीगाउँ ।

सिर्सिरे बतास चलिरहेको थियो त्यहाँँ पुग्दा । जाँदाजाँदै दाहिनेपट्टि थियो आँपको बोट । आँपको बोटमुनि बसेर हावा खाइरहेका थिए बानियाडाँडातिरबाट आएका रातागाले ब्राह्मणी कन्याहरू । त्यहीँ बसेर छिल्लिरहेका थिए धिताल कान्छा, मिजार कान्छा र सिटौला कान्छा । त्यो वेलाका तीन एक्का थिए, यी तीन कान्छा । मेलापातदेखि जात्रासम्म जहाँ गए पनि सँगसँगै हुन्थे उनीहरू ।

रातागाले र तीन एक्काबीच छेडपेच भइरहेथ्यो । उनीहरूको उन्मुक्त हाँसोले डाँडाको चकमन्नतालाई भत्काइरहेथ्यो । आफू त भुरो परियो- के बुझ्नु र सुन्नु उनीहरूका कुरा ! रत्नदाइका ओठ भने खित्खिताइरहेका थिए ।

उनैले मलाई तानेर पुर्‍याए डिट्ठाबुवाको आँगनमा ।

त्यो वेला जम्माजम्मी दश वटा घर थिए काजीगाउँमा । खास नाम त कपासखोरिया हो । पाँडेकाजी र बस्नेतकाजीहरूको बसोबास भएकोले जनजिब्रोमा काजीगाउँ नै झुन्डिएको थियो । काजी कालु पाँडेका सन्तान हुन् डिट्ठाबुवा अर्थात् डिट्ठाकाजी । उनको नामचाहिँ नरसिँहबहादुर पाँडे ।

मान्छेहरू थुप्रिएका थिए डिट्ठाबुवाको आँगनमा । कोही गाग्रोबाट सर्बत सारेर ठाडो घाँटी लगाउँदै । कोही मुख मिठ्याउँदै । ओहोरदोहोर बाक्लै थियो मान्छेहरूको । यस्तो लाग्थ्यो- आज ‘सर्बतजात्रा’ भइरहेछ डिट्ठाबुवाको घरमा ।

एक गाग्रो सर्बत रित्तिनेबित्तिकै अर्को गाग्रो खन्याइहाल्थे डिट्ठाबुवाको घरमा बस्ने घटुवारे कान्छाले । सर्बतका लागि उभिएका मान्छेहरूको पङ्क्तिमा गयौँ हामी । पालो आएपछि रत्नदाइले गाग्रोबाट अम्खोरामा सारे । पहिले त उनी आफैँले ठाडो घाँटी लगाए घटघटी । उनले फेरि अर्को अम्खोरा सारेर मलाई दिँदै भने- “ल, जुठो नगरी खा !”

त्यसैगरी घुट्क्याएँ मैले पनि । मिठो थियो । दुवैले एकएक अम्खोरा बुत्यायौँ । मेरो त भोक र तिर्खा दुवै मेट्यो गुलियोले ।

बासुकी स्थानसम्म पुगेर खुदो/सखर ल्याउन लगाउँथे काजीबाले । सखर घोलेर मरिच र सुकुमेल राखेको भगवती कुवाको चिसो पानी खान पाएपछि तिर्खाएर आएकालाई के चाहियो र ! वर्षमा एक दिन भए पनि यसरी सर्बत खुवाएर धर्म कमाउँथे उनी । जिन्दगीमा पाप गरेको भएपनि यसैमा कटनी भयो होला काजीबाको । तर २०७७ सालमा उनको निधन भएपछि यसरी धर्म कमाउन चाहने अरू कोही निस्केका छैनन् यो ठाउँमा ।

नुवाकोट डाँडामा बसोबास गर्ने धेरैजसोको खनीखोस्री गर्ने ठाउँ हो- कपासखोरिया । तिनैका गाईवस्तु बाँध्ने गोठहरू राखिएका थिए पाखैभरि । कपासखोरियाबाट अलि माथि छ- नुवाकोट डाँडो । त्यही डाँडोमा छन् मेरा शाखा-सन्तान । शाखा-सन्तानका खलक सबै माथि तर हामीमात्रै तलतिर हुँदा हाम्रो घर पनि माथि नै भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो ।

कपासखोरियाबाट टड्कारै देखिन्छ- मालिका डाँडा । त्योभन्दा तल देखिन्छ- साततले दरबार । त्यही दरबारमुनिको खोरियामा जन्मेको रे म । हाम्रो ठूलै घर थियो रे त्यहाँँ । अकालमै मृत्यु भएको थियो रे मेरो बाजेको । उनको देहवसान भएको वर्ष दिनपछि घरमा आगलागी भएको थियो रे । म जन्मनेबित्तिकै बसाइँ सरेका रहेछन् अलि तलको नयाँ डिहीमा ।

“खोई त नारायण जात्रा ?” रत्नदाइलाई सोधेँ ।

उनले भने- “एकछिन पर्खी न ! तलबाट आउँदैछ के !” थुम्थुम्याए उनले मलाई ।

उनले मलाई कपासखोरियाको डिलतिर लगे ।

आफैँमा एउटा थुम्का हो- कपासखोरिया । सामुन्नेका बेलकोट, मदानपुर र चतुरालेमा बसेका बस्तीहरू अहिलेजस्तो बाक्लो देखिन्नथ्यो उति वेला । कपासखोरियाको डिलमा उभिँदा मेरा आँखा हुत्तिए तादीको विशाल फाँट र टारी खेतहरूमा । वर्षेनी दुवाली थुन्थे मालाकोटेहरूले । माछाकिरा टिप्न जान्थे हाम्रा दाइहरू । भान्छा रमाइलो हुन्थ्यो कहिलेकाहिँ ।

त्यो वेला चौखडाका बस्तीलाई छोएर पहाडको फेदफेदै मालाकोटको पीपलबोट छिचोलेको थियो तादीले । मालाकोटबाट अगाडि बढेको तादीले सिँदुरेखोलाको साथ पाएपछि नारायणस्थानको नाक छेडेर घोडघाटको बस्ती छुन पुगेथ्यो । वेलाबखत सेरा-बगैँचा हान्न आइपुग्ने तादी धेरै भयो, फाँटको बीच भागबाटै बगिरहेको छ । अर्कोपट्टि फर्कंदा कुसुमबारी र ढ्वाङखोपे पाखाको सौन्दर्य टाँसिन आइपुगे परेलीमा । वसन्तको वहारले पाउलिँदै गरेको ठूली वनमा लोभिएथ्यो मेरो मन ।

बिस्तारै कानमा ठोक्किन आइपुग्यो सनाई, दमाहा र नगराका आवाज । र, उकालो छिचोलेपछि बिस्तारै देखापर्‍यो मान्छेहरूको लर्कन । अघि रत्नदाइले ‘तलबाट आउँदैछ’ भनेको यही रहेछ । बल्ल पो बुझेँ मैले ।

सबैभन्दा अगाडि थिए- बाजा बजाउनेहरू । त्यसपछि थिए- टोकरीमा नारायण देउता बोक्ने मान्छे । त्यसपछि भैरवीको निशान र क्रमबद्ध थिए- भैरवीका पुजारी धामी, गणेश र कुमारलगायत बाह्रभाइ गुठियारहरू । टाउकोमा सेतो फेटा गुथेका र सेतै जामा पहिरिएका थिए धामीले । आ-आनै पोशाकमा थिए गणेश र कुमार ।

कपासखोरिया आइपुगेपछि रोकियो जात्रा ।

जात्रेहरूका लागि सर्बत पिउने छुट्टै गाग्रो र अम्खोराको व्यवस्था गरिएको थियो, बाटोको देब्रेपट्टि कुनामा ।

बटुवाहरूको बिसौनी पनि हो- कपासखोरिया । तादी तरेर नुवाकोट उक्लनेहरू र बेसीबाट आएका भरियाहरू नसुस्ताई बाँकी उकालो उक्लिन्नथे । नारायणको दर्शनका लागि मान्छेहरू यहीँ बसेर प्रतीक्षा गर्ने भएकोले पनि जात्रा रोकिनुपथ्र्यो यहाँँ ।

नारायणको पूजा गरे गाउँलेहरूले । भक्तजनका लागि नारायणको दर्शन गर्ने अवसर यही मात्र हो । मन्दिरभित्र छिर्न त पुजारीबाहेक कसैले अनुमति पाउँदैन । वर्षको एकचोटी भगवान् नारायण भक्तहरूका सामु यसरी आफैँ आइपुग्छन् ।

सर्बत टन्न घुट्क्याएपछि जात्रा लाग्यो नुवाकोट डाँडोतिर । तितरवितर भए सबै । सखर-पानीले मिठ्याएको गुलियो मुख लिएर फर्कें म । भुकभुके साँझ परिसकेको थियो घर आइपुग्दा ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button