
अनौठो ललितपुर, जहाँ मन्त्री निवास छ
कविता: ललितपुरको दक्षिण भूमि
योगेन्द्र घिसिङ
सिंहदरबार
बन्दै गर्दा-
तिनपाने र नल्लु भञ्ज्याङ्ले
बिर्सेका छैनन्
असङ्ख्य टिम्बा हिँडेर
सिंहदरबारको झ्याल, ढोका उभिएको
सरकारलाई प्रशस्तै
अन्न र पशुपंक्षी
दाखिला गरेर-
कछाड र खाली खुट्टामा
च्याटी बालेर-
दक्षिण ललितपुरवासीहरू
झुपडी फर्किएको ।
कुपन्डोल
बागमती पुलमा
मोटर दौडिदा-
घुसेलदेखि गिम्दीको
बागमती नदिमा-
तुईन र साँघु तेर्सिएन
लगनखेलमा बसपार्क चलिरहँदा
साइकलको गोरेटो पाएन
पाटन क्याम्पसले
उज्यालो दिइरहँदा
यसले मावि पाएन
पाटन अस्पताल खोल्दा
सिटामल बाड्ने ठाउँ आएन ।
तथापि यहाँ-
फिक्कल र नगरकोट पाइन्छ
मुग्लानबाट आउने-
मासु र सब्जी तयार हुन्छ
लिफ्ट सिँचाइ गरे-
खोलाको जल डाँडा उक्लिन्छ
ललितपुर सहर पाल्ने
यसको सामर्थ्य रहन्छ
तर ऊ
अजिब व्यथाले-
ओछ्यानमा थलिएको छ
पुल्चोकमा मन्त्री निवास छ
त्यहाँका महोदयबाट
उपेक्षित भएर-
विक्षिप्त छ
पाटन सहर-
ललितपुरको शिर !
ललितपुरको पाउ-
दक्षिण ललितपुर !
एउटै शरीरमा यति फरक-
अनौठो ललितपुर ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



