… जब राती अबेर घर फर्कंदा चरित्रहिन भनिँदैन

कविताः नारी सशक्तिकरण

शारदा पाण्डे

जब सासु बुहारीलाई छोरी मान्छिन्
अनि बुहारी सासुमा आमा देख्छिन्
जब नन्द भाउजुलाई साथी मान्छिन्
जब भाउजु नन्दलाई बहिनी झै ठान्छिन्
जब यो सम्बन्धमा आउँछ आफ्नोपन
तब मात्र हुन्छ नारी सशक्तिकरण ।

जब दाइजो माग्न छोडिन्छ
अनि दाइजोलाई अभिशाप ठानिन्छ
जब दुलहीलाई नै लक्ष्मी मानिन्छ
अनि दुलहीको बुबाले यथोचित सम्मान पाउँछन्
जब बिना दाइजो हुन थाल्छ पाणिग्रहण
तब मात्र हुन्छ नारी सशक्तिकरण ।

जब पतिले भन्छ पत्नीसँग
तिम्रो नि हुनुपर्छ सपना पूरा
नत्र त मेरो साथमा रहे पनि
तिमी हुन्छेउ सधैं अपुरा
जब मेरो बन्धन हुँदैन तिम्रो मजबुरी
तब मात्र हुन्छ नारी सशक्तिकरण ।

जब छोरीलाई गर्भमा नै मार्न छोडिन्छ
अनि छोरी नपाउने आमालाई दुत्करिदैन
जब छोरीलाई पनि शिक्षा दिलाइन्छ
अनि बालविवाह गरी जीवन नष्ट पारिदैन
जब हुँदैन छोरीको अधिकार हनन
तब मात्र हुन्छ नारी सशक्तिकरण ।

जब अग्नि परीक्षा केवल सीता मात्र दिन्न
काम गरेर राती अबेर घर फर्कदा चरित्रहिन भनिँदैन
जब उसको कपडाको लंवाई
समाजको आँखाको फिताले नाप्न छोडिन्छ
केवल नारीमाथि आचारसंहिता लागु हुन्न
जब सम्मानित तरिकाले हेर्छन् नारीको आचारसंहिता
तब मात्र हुन्छ नारी सशक्तिकरण ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button