
कोरोनाले जन्माएको शहर
एन डि क्षितिज
बौद्ध, काठमाडौं ।
सानो प्लास्टिक कपमा
फिक्का चियाको चुस्कीसँगै
छाप्रे चियापसलको छेउमा
टुसुक्क बसिरहेको छु ।
साँघुरो सडकको छेउछाउ
सटरे पानपसल र किरानावाला
सटरभित्रका सैलुनवालाहरु
आधी अनुहारमै भनिरहेछ ब्यथा ।
सडकमा गन्तव्य नाप्दै
हिंडेका थोरै पैदलयात्रुहरु
एकले अर्कोलाई छोइने डरमा
सतर्क हुँदै हिँडेरहेछन् ।
सुनसान सडक अनि चोकहरु
जोरबिजोर निजि सवारीहरु
मास्क लगाएका अर्ध अनुहारहरु
यस्तै छ अचेलका दृश्यहरु ।
खल्तीमा स्यानीटाइजर बोकिरहेछन्
रेस्टुरेन्टबाट प्याकिङ मःम
अनि चाउमिन बोकेर
निस्केका केही नौजवानहरु ।
यस्तै यस्तै अरु धेरै नयाँ दृश्य
एउटा नसोचेको परिचय
कोरोनाले जन्माएको शहरको
नयाँ प्रथा, नयाँ ब्यथा, नयाँ कथा ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)