बाँकी खुशी

कथा

सुशीला चौरेल

श्रीमान ओछ्यानमा परेको वर्ष दिनपछि बल्ल बाटुलीले काम पाई । माया दिदीले चिन्नु भएको हाकिम सापले बाटुलीको दुःखका कुरा सुन्नेवित्तिकै काम दियो । र, त उसलाई कोठा भाडा, श्रीमानको उपचार अनि घरखर्च चलाउन जेनतेन पुग्ने भयो । छोरीलाई पनि निजी स्कूलबाट निकालेर सरकारी स्कुलमा राखेर व्यवस्थापन गरेकै थिई ।

समयमा अफिस पुग्नु, सबैको लागि पानी, चिया, नास्ता तयार पार्नु, सरसफाइ गर्नु उसको दिनहुँको तालिका नै बन्यो । मेहेनतको फल त हो २,३ महिनामा सबैको हाई हाई भई बाटुली । सबैले उसको कामको तारिफ गरिरहे । हाकिम पनि खुशी थियो । भन्थ्यो, सबैलाई खुसी पारेकी छौ, काम राम्रो छ बाटुली । विगत सम्झिदै हाकिमलाई धन्यवाद दिँदै भन्थी, ‘मेरो श्रीमानको उपचार, घर व्यवस्थापन सबै हजुरको सहयोगले त हो । यहाँ काम पाएर खुसी छु अझै सबैलाई खुसी पार्न सकुँ ।’

हाकिमले कुर्सीबाट अलि नजिक आयो अनि कुममा हात राखे जस्तो लाग्यो । ऊ झसङ्ग हुँदै थिई । उसलाई कता कता डर र सन्देह भयो । हाकिमले सुस्तरी भन्यो, ‘तिमीले एउटा कुरामा मलाईचाहिँ खुसी दिन बाँकी छ ।’

त्यति भनेर मुसुक्क हाँस्दै आफ्नो झोला बोकेर निस्क्यो ।

ओहो ! ५ बजिसकेछ । बाटुली हतारहतार अफिसको काम सकेर घर पुगी । आफ्नो बिरामी श्रीमानछेउ बसी । र, मलिनो अनुहारमा भन्दै थिई, ‘काम सबै राम्रो छ रे । तर खै आज हाकिमले अलि के काम चित्त बुझेन भने । खै के काम हो सोध्नै सकिनँ । आज नास्ता नमिठो भएको हो कि ? अरूले त केही भनेनन् ।’

श्रीमानले टुलुटुलु हेर्दै सुनिरह्यो अनि भन्यो, ‘म काम गर्न सक्ने भएपछि तिमीलाई दुःख नहोला ।’

उसले के काम विराइछु भनेर हाकिमलाई सोध्न आँट पनि गरिन । ठूलाबडा मान्छे । अलि डराइडराई काम गरी । आजकल हाकिम धेरै व्यस्त हुन थाल्यो । अरु कर्मचारी गइसकेका हुन्थे । हाकिम व्यस्त । बाटुलीलाई कुन बेला अफिस बन्द गरौं र आफ्नो दिनभरिको भोको श्रीमानलाई खाजा दिउँ भन्ने तर्कनाले छोडेकै थिएन । हाकिम अझै व्यस्त ।

नजिक आउँदै बाटुलीसँग टाँसिदै कता कता छुन पो थाल्यो । बाटुली नर्भस भई । भनी, ‘यो के गर्नु भएको मलाई ? मन पर्दैन हजुर !’

‘… अनि तिमी यहाँ काम गर्दा खुसी छौ त मलाई नि खुसी पार । मलाई यस्तो गर्न असाध्यै मन पर्छ अनि अस्ति एउटा कुरामा खुसी पार्न बाँकी छ भनेको यही हो ।’

त्यति भन्दै हाकिमको हर्कतले ठाउँ छोडिसकेछ । जबर्जस्त लुट्यो पुरै शरीर अनि फेरि दोहोर्यायो ।

‘यस्तै गरी मलाई खुसी दिनु है । बाँकी खुसी मेरो यही हो’ भन्दै हाकिम निस्क्यो ।

बाटुली मरे तुल्य भई । आफ्नो श्रीमान सम्झी रही । बिस्तारै उठी । काम्दै गरेको आफ्नो शरीर टेबुल नजिक अडेसा लगाई । पुर्पुरो ठोकी । खै के भई ? रिसाई आफैसँग अनि आफ्नो नियतिसँग । उठेर हिँड्न खुट्टै लागेनन् । फेरि रिसले चुर भई, ‘अब कसलाई भनौं ? यो मान्छे हैन । यो राक्षस रहेछ ।’

‘के गरौं ? अब म मेरो श्रीमानको अगाडि कसरी उभिनु ?’, बेस्सरी रोई बाटुली ।

मोबाइलको घण्टी बज्यो । उही हाकिमको रहेछ । भन्यो, ‘आज तिमीले धेरै खुसी दियौ अनि सधैं यसरी खुसी दिँदै जानु । ऊ अवाक् थिई । हाकिमले प्रष्ट पारिदियो, यो कुरा कसैलाई भन्यो भने तिम्रो जागिर जान्छ नि ।’

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button