
तिमी महलकी रानी, म झुपडीकी सानी
कविता: तिमी र मबीचको भिन्नता
बैकुण्ठ पोखरेल
गोदावरी, ललितपुर ।
तिमी कुर्सीमा बसी
डाईनिङ टेबलमा खाएर हुर्केकी
म पिर्कामा बसी
भान्छामा खाई बढेकी
तिम्रो मेरो बसाई कहाँ मिल्छ र ?
तिमी महलकी रानी
म झुपडीकी सानी
तिम्रो मेरो औकात कहाँ मिल्छ र ?
तिम्रा क्रिम अनि पाउडर
मेरा बेसन अनि मकैका पीठा
हाम्रा श्रृंगार कहाँ मिल्छन् र ?
तिमी बोर्डिंङ स्कूलमा पढ़ेकी
म सरकारी स्कूलमा अड्केकी
तब हाम्रो ज्ञान मिल्ने त कुरै भएन !
तिम्रा हातमा बाला
मेरा हातमा ठेला
तिम्रा हातमा कलम
मेरा चिरिएका हातमा
राजबेलीका मलम
तब हाम्रो हस्तरेखा कहाँ मिल्छ र ?
तिम्रा घाँटीमा सुनको साँग्लो
मेरा निधारमा ज्यामीको नाम्लो
मलाई भारमाथि भार
तिम्रा स्कूटर अनि कार
तब हाम्रो बर्ग कहाँ मिल्छ र !
अँह मिल्दैन
मिल्दै मिल्दैन ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



