यी तमाम किटाणुहरूसित म भिड्न चाहन्छु

कविताः म मुक्त हुन चाहन्छु

विपल घले
कालिम्पोङ, दार्जिलिङ, भारत ।

म पनि चाहन्छु
तोड्न
यी तमाम साङ्लोहरू
र, मुक्त हुन चाहन्छु ।

म आफुलाई म स्वयं भएर
जिउनै नदिने
मलाई जिउँदै मार्न खोज्ने
यी तमाम किटाणुहरूसित म भिड्न चाहन्छु ।

म भत्काउन चाहन्छु
मलाई कँज्याएर राखिरहने
परम्पराका पिजँडा ।

जरा गाडेर बसेका मान्यताहरू
उखेल्न चाहन्छु म ।

म फुटाउन चाहन्छु, ती संदिग्ध आँखाहरू
चौबीसै घण्टा मेरा क्रियाकलापमा
निगरानी राखिरहने
र, मलाई जहिल्यै गलत साबित गर्न उद्यत रहने ।

मस्तिष्कमा हावी भएर बसेका
विचारका ती हस्तक्षेपलाई परास्त गर्न चाहन्छु
र, आफ्नै विचारको विजयी पताका फहराउन चाहन्छु ।

म ती आवाजलाई जित्न चाहन्छु
जसले मलाई बहिरो बनाइसकेको छ
म ती आदेशहरूलाई नकार्न चाहन्छु
जसले मलाई गुलाम बनाइसकेको छ।
मेरो जिब्रो थुत्न खोज्ने ती दुष्ट हातहरूलाई
प्रहार गर्न चाहन्छु
जसले मलाई गुंगा बनाइसकेको छ ।

ठुला सपना पछि देखुँला
बस् अहिले म तोड्न चाहन्छु
यी साङ्लोहरू
र, मुक्त हुन चाहन्छु
हो, म मुक्त चाहन्छु ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button