
‘मै मरेको समाचार’
सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।
कथा
गुरुदत्त ज्ञवाली
तिलोत्ततमा–१ रुपन्देही ।
बैशाख महिनाको आधा–आधी जस्तो । गर्मी चर्कने बेला पनि हो । दिउसो बाह्र बजेसम्म टण्टलापुर धाम थियो । आकाशमा कतै घोँडा र कतै मान्छेकै आकारजस्ता लाग्ने सेता बादलका छिर्का बाहेक सफा थियो । मौसम विज्ञानले त्यसै पनि आकाश हेरेर भविष्यवाणी गर्छ भन्ने आम जनताको आरोप हुन्छ । विज्ञानले त्यस्ता हुण्डरी पत्तो लगाउन सक्ने कुरै भएन । बिहानको समाचारमा मौसम विज्ञानले पनि त्यस्तै समाचार भन्यो ।
तर, मौसम विज्ञानलाई चुनौती दिंदै एकबजेतिर अचानक हुरी–बतास आयो । हुरी एकैछिनमा आफै हराउला भनेको त झनै सिरङ्गिएर पो आयो । धुलो उडेर बुटवल बजार कुइरीमण्डल भयो । सडक किनारका रुख ढलेर यातायात ठप्प हुनु स्वभाविकै थियो तर हुरीले गाडी नै उडाउला जस्तो भएकोले यातायात त्यसै पनि बन्द थियो । रुख र बिजुलीका पोल ढल्नु तथा बिजुलीका तार सडकमा लत्रनु सामान्य जस्तो भयो । हुरीको गति वा अवस्था हेर्दा घरहरु नै उड्नु पर्ने जस्तो लाग्दथ्यो । घरका टीनका छाना त कहाँ पुग कहाँ ? त्यसको लेखो रहेन ।
त्यसपछि पुर्व वा पश्चिमबाट आयो, कालो बादल मडारिँदै आयो । बुटवल अन्धकार भयो, निस्पट्ट अन्धकार । त्यो बेला लाग्दथ्यो औंसीको रात हो । अन्धकारमै मुसलधारे पानी प¥यो । कसैले साथमा घाम छेक्न ल्याएकोे छाता भए पनि, ओढ्न भ्याएनन्, छाता खोलेको भए त्यो छाताले काम गरेन । कति मान्छे त मर्नुपर्ने खालको भवितब्य हो, तै मरेको र घाइते भएको समाचार तत्काल थाहा पाइएन । घरभित्रै बसेका मान्छेले पनि आफु सुरक्षित भएको महसुस गरेनन् । बजारगर्न निस्केकाहरु, बाटोमा हिँडेका यात्री र सडकका ब्यापारीहरुको के हालत भए होला ? यस्तो भयो कि न ठेलावालाले ठेला स्याहार्न पाए, न पेटीमा समान बेच्न राखेका ब्यापारीहरुले ती समान स्याहार्न पाए । न रिक्सावालाले आफ्नो रिक्सा थन्क्याउनै पाए । मान्छे जो जहाँ छ त्यहीं कुटियो, चुटियो । कसैले कसैलाई गुहार दिन सक्ने अवस्था नै थिएन । आफ्नै ज्यान त कसरी बचाउने हो ?
राष्ट्रिय बाणिज्य बैंक, बुटवल शाखाको भवन त्यसै पनि पुरानो, जीर्ण, भत्कने डरले भाडामा खोज्ने तयारी थियो । त्यस भवनले त्यो भवितब्य धान्ला भनेर कसैले पनि सोंचेको होइन । कर्मचारीमध्ये पुरुषहरुले त टाउकामाथि हत्केला राखेर मानौं खस्नै लागेको छत थाम्दै थिए । कोही टेकुुलमुनि लुके । महिला कर्मचारीको डर चित्कारमा परिणत भयो, सबै मरिएछभने सहनै पर्ला भन्ने खालको जीवनको जुवा पनि खेलेको देखिन्थ्यो । फोन सेवा पनि बन्द भएको थियो । उता ग्राहकको खचाखच भीड थियो, पैसा झिक्नेहरुले टोकन लिएर ढोका बाहिरै पालो कुरेका थिए । त्यसै भवनको पेटीमा उभिएर सबैले त्यो तमासा आँखा चिम्म गर्दै जीवनको अन्तिम दिन यही हो जस्तो गरेर सहे ।
त्यसै हुण्डरीमा एकजना युवक जो त्यसै बैंकमा चेक साट्न आएको थियो । काम सकिएरै होला, देख्दा जवान तर पातलो, साइकल चढेर ओरालो लाग्यो । अरुले नजाउ नजाउ मरिएला भन्दा भन्दै ऊ हिँड्यो । उसको घर बुटवलबाट करीब दस किलोमिटर टाढा कुञ्जलापुर हो । त्यो बेलामा घरमा नगए झनै गुहार पाइन्न कि भन्ने उसको मनमा थियो शायद । पाँच बजेतिर भवितब्य शान्त भयो र घाम पनि लाग्यो । बुटवल बजार थलिएको, औषधिले काम गर्न छोडेको र आाफन्तले पनि वास्ता नगरेको बेवारिसे बिरामी जस्तो देखिन्थ्यो । त्यसपछि त्यो दिन गाडी चलेनन्, कसको रिक्सा कहाँ थियो, खोजेर पनि रिक्साले छिचल्ने बाटो थिएन र अरु साइकल पनि चलेको देखिएन । पैदल यात्री त जसोतसो जानै प¥यो, हिँडे ।
कुञ्जलापुर सुब्दारको परिवारमा त्यो दिनको राती दश बजेसम्म छोरो घरमा फर्केन भन्ने कुरामा पिरलो बाउ–आमा र उसकी पत्नीलाई हुन थाल्यो । त्यस युवकको को नाम अशोक हो । खोज्न पनि पैदल हिँडेर जाने संभावना थिएन । गाडी चल्न बाटो सफा थिएन । गाउँमा छिमेकीहरु जुटे र लाल्टीन बालेर यताउति खोजे । अहँ, कुनै मेसो आएन र घरमा फर्के । रातको एघार बज्नै थाल्दा स्थानीय एफ.एम, रेडियो लुम्बिनीले स्थानीय बेनामी ब्यक्तिको हवाला दिँदै दिउसोको हावा हुरीले मणिग्राममा घरको छानाको टीनको पातो उडेर एकजना यात्री गम्भीर घाइते भएको भन्ने अस्पष्ट समाचार बाँच्यो । रेडियो पनि त्यसै हुरीको कारणले राती दश बजेमात्र खुलेको थियो । त्यो समाचार कुञ्जलापुरको त्यस घर, छिमेकी र अरु धेरैले सुने । को मान्छे हो भन्न्ने थाहा हुन सकेन । हावाको कुरो, हावाकै भरमा चल्यो । त्यो घाइते अशोक नै हो भन्न कसैले पनि सकेनन् र पनि आफन्तको मनमा भने चिसो पस्यो ।
भोलिपल्ट गाडी चले । अशोकको खोजी भयो । रेडियोको समाचारले भनेको मणिग्रामको मान्छे अशोक भए–नभएको कुरा थाहा हुन सकेन । कुनै मान्छेले हो मैले देखेको हुँ भन्ने निस्केन । त्यो घाइते को थियो भन्ने कुरा पनि थाहा हुन सकेन । अशोक भेटिएको छैन । कहाँ गयो त अशोक ? अहँ, कसैले लख काट्न सकेनन् । प्रहरी, आफन्त, अस्पताल कतै पनि अशोक भेटिएन । बाटोमा कतै रुखले च्याँपिएको पनि देखिएन र उनको साइकल पनि भेटिएन ।
त्यो समाचारले राष्ट्रिय मान्यता पायो । त्यसको त्यस्तै एक हप्तापछि समाचारले प्रहरीको हवाला दिँदै रुपन्देहीकै चरङ्गेको जंगलमा एकजना मान्छेको लास भेटिएको कुरो फुक्यो । लास हेर्न जाँदा कुहिएको अवस्थामा थियो, अनुहार समेत फतक्कै गलेको । सनाखत गर्दा कागजातको आधारमा अशोक हो भन्ने थाहा भयो । कुञ्जलापुरका मान्छे आएर लास बुझे । किरो कराउनु र बाख्रो हराउनु संगै परेकोले त्यो लासको बारेमा धेरै कुरा चलेनन् । आँधी बेहरी त्यस्तरी चल्नु, त्यही अवस्थामा बैंकबाट ती युवक जोखिम ब्यहोरेर हिँड्नु, बैंक रेकर्डले पनि अशोकको नाममा चेक साटिएको कुरा गर्नु, जंगलमा त्यस्तै मान्छेको लास देखिनु र सनाखतले समेत अशोक हो भन्नुले शंका गर्ने ठाउँ रहेन । तर लासको शरीरमा लगाइएका लुगाहरु च्यातिएको अवस्था, साथमा मोटरसाइकलको लाइसेन्स बाहेक कुनै सामान, पैसा तथा उसले भिर्ने गरेको घडि नभेटिनुले भने शंका थपेको थियो ।
आवश्यक विधि पु¥याएर त्यो लासको दाहसंस्कार भयो । काज–किरिया पनि भयो । नौली दुलही मुनु माइतबाट अघिल्लो दिनमात्र घरमा आएकी थिइन् । उनको माइत सालझण्डी हो । उनको नाम मुना भएपनि बोलाउँदा सबैले मुनु भन्ने गर्छन् । उनी पनि भार्सेलीकी छोरी हुन्, घरको नामै भार्सेली । कुञ्जलापुरको त्यो परिवार, अझ ती नौली दुलही, छिमेकी, आफन्त, साथी–भाइ र त्यस सेरोफेरोका सबै शोकमग्न भए । दुलही नानी, भर्खरैजस्तो बिहे भएको, उनी रुनुको त के हिसाब किताब भयो र ? त्यस दुःखद खबरले धेरैको मन घोँच्यो, पोल्यो र झस्कने गरायो ।
हुरी चलेको दिनकै कुरो हो । भैरहवाबाट एउटा भारतीय नम्बरको जीप बुटवलतिर हुइकँदै थियो । मङ्गलापुर पुग्दा हुरीले भेटायो । जीप मणिग्रामभन्दा उत्तरतिर लाग्न सकेन र एउटा घरको आडमा रोकियो । हुरी चल्दैगर्दा कुनै मान्छेको चित्कार सुनियो । त्यो चित्कार मणिग्रामका कुनै मान्छुेले पनि सुने भन्ने हल्ला चल्यो । तर कसले सुने त्यो कुरा पुष्टि भएन । घरको झ्यालबाट हेरेका मान्छेले कुनै मान्छेलाई उडेर आएको टीनको पाताले हानेको पनि अस्पष्ट रुपमा देखे रे । त्यसैको आधारमा समाचार बन्यो र रेडियोले समेत फुक्यो । अरु कुरा पुष्टि भएन ।
उता चित्कार सुनेपछि जीपमा रहेका मान्छेहरु मुश्किलले जीपबाट निस्केर हेर्न गए । मणिग्राम बजार त्यसै पनि बुटवलको बजारजस्तै सुनसान थियो, सडकमै र सडकको दायाँ–बायाँ धेरै साइकलहरु अलपत्र परेको थिए । ज–जसको साइकल हो कसैले पनि उठाएर लैजाने वातावरण अझै बनेको थिएन । पानी बिदो भएको थिएन । जीपमा सवार भएका मान्छेहरुमा मानवीय दया वा कर्तब्यको बोध भएछ । पानीमा भिज्दै त्यो घाइते मान्छेलाई जीपमा राखे ।
घाइते मान्छे बोल्न सक्ने अवस्थामा थिएन । दाहिने हातको कुहिनाभन्दा माथिबाट काटिएको थियो तर चुँडिएको थिएन । टीनको पाताले बायाँ गालो, नाक र निधारमा पनि बेस्सरी काटेको थियो । रगत थामिएको थिएन । जीप त्यहाँबाट फर्केर भैरहवातिरै लाग्यो । भैरहवामा बुटवलमा जस्तो हुरी बतास र आँधी आएको रहेनछ । तर पनि बजार सुनसान थियो । जीप भिम अस्पतालको गेटमा पुग्यो । हावा हुरीको कारणले भित्रबाट चुक्कुल लागेकोले गेट खुल्न सकेन । चिच्याएर पालेले सुनेन । एकजना मान्छे सानो गेटबाट भित्र पसे र तुरुन्तै निस्के । अस्पतालमा के कुरा भयो थाहा भएन । जीप त्यहाँबाट फक्र्यो र सुनौलीतिर हानियो ।
जीपवालाको उद्धेश्य घाइतेलाई अस्पतालमा जिम्मा दिएर आफुहरु गन्तब्यतिर जाने हुन सक्दथ्यो । जीप सुनौली हुँदै नौतनवातिर लागेको देखियो । सिमानामा कुनै चेकिङ्ग थिएन । भर्खरै गएको जीपको चेकिङ्ग गर्न आवश्यक पनि थिएन होला भन्ने अनुमान हो । नौतनवामा प्राथमिक उपचार बाहेक त्यो घाइतेको अरु उपचार हुन सकेन । अबभने त्यस घाइते मान्छेको उपचारको दायित्व अथवा कर्तव्य जीपवालाको हुन गयो । त्यो उत्कृष्ट मानवता जीपवालामा जाग्यो । घाइते मेरो कारणले मर्नु हुँदैन भन्ने कुरा गाडीवालाको मनमा जाग्यो । जीप कुनै भाडाको टेक्सी थिएन बरु कुनै ठूलै ब्यापारी साहुको थियो । साहुले स्वविवेकले नै त्यो घाइतेको जिम्मा लिए । गाडी गोरखपुर पुग्यो ।
हावा हुरी मथ्थर भएपछि पनि मणिग्रामको बजार त्यो दिन खुलेन । पसलहरु खोल्ने खालको वातावरण बनेको थिएन तर मान्छे भने आवत–जावत गर्न थाले । सडकको छेउछाउ लथालिङ्ग अवस्थामा रहेका साइकल सबैले उठाएर लगे । साँचो नलगाएका साइकल भने कसले कसको साइकल लग्यो खासै लेखो रहेन । त्यसै अवस्थामा कुनै मान्छेलाई घरको छानो रहेको टीनको पाताले लागेर घाइते भएको कुरा फेरि चल्यो । सडकमा रगत त देखिन्थ्यो तर पानीले पखालिएकोले रछाएँ–रछाएँ मात्र देखिन्थ्यो । त्यो मान्छे कहाँको र को थियो भन्ने थाहा भएन, मान्छे त्यहाँ थिएन । कसैले त्यहाँ एउटा जीप आएको र त्यही जीपमा घाइतेलाई लगिएको हो अरे भने । त्यस कुराको जिम्मा कसैले लिएन ।जीपको खोजी भएको हो तर कतैबाट पत्ता लागेन । कसैले त आ…, देशी होला खोज्नु पर्दैन भन्ने कुरा पनि गरे । मान्छे थिएन मधिशे थियो भन्नेजस्ता कुरा भए । त्यो दिन त्यसरी नै बित्यो र घाइते मान्छेका कुरा हराएर गए ।
अशोकको गत फागुनमा बिहे भएको थियो । उ राममणि क्याम्पसको बिहानी सत्रको विद्यार्थी हो । परीक्षा सकेर रिजल्टको प्रतीक्षामा थियो भन्ने सुनियो । उसको अरु पेशा खासै जम्ने उमेर त भएको थिएन, तैपनि कुनै घर–जग्गा ब्यवसाय गर्ने ब्यापारीको सहयोगी हो । जग्गा खरीद–बिक्रीको सूचना दिएबापत इनाम, पुरस्कार वा कमिशन जे भन्न मिल्छ त्यही उसको काम हो ।
उसको पूरा नाम अशोक थापा हो । उसको परिवार गुल्मी भार्सेबाट कुञ्जलापुरमा सरेका हुन् तर अशोक भने कुञ्जलापुरमै जन्मेको हो । उसका बाबु भारतीय सेनाका सेवा निबृत्त सुबेदार हुन् । ऊ त्यस परिवारको एक्लो सन्तान पनि हो । हावा हुरी आउने दिन उसले एउटा चेक पाएको थियो पाश्रिमिक बापतको । चेक उसैको नाममा काटिएको थियो । रकम कति थियो त्यो कुरो सामान्य पब्लिकलाई थाहा भएन र पनि धेरै थियो भन्ने अनुमान लाग्दथ्यो । र उ चेक साट्न बुटवल स्थित रा.बा.बैंमा गयो ।
पैसा हातमा परेपछि उसको मन रमायो, धेरै खुशी भयो । उसले त्यो खुसी पत्नी मुनुलाई बाँड्न हतारियो । उसले त्यति धेरै रकम एकैचोटी हातमा समातेको, त्यो पनि आफ्नै कमाई, मुनुलाई सुनाउन चाहन्थ्यो देखाउन चाहन्थ्यो र अलिकति ‘लौ मुनु तिमी राख’ भन्दै पत्नीलाई दिन चाहन्थ्यो । थोरै आफूलाई राखेर शायद अरु पैसा बाबुलाई पनि दिन चाहन्थ्यो । छोराको कमाई भनेर बाबु निकै खुसी हुन्थे । यस्तै कल्पना ग¥यो र आँधी बेहोरीमै हिँड्यो । जवानी त त्यसै थियो, मगरको छोरो– त्यसै पनि डराएन ।
राजमार्ग चौराहामा पुग्दा उसको एक जना साथी श्यामसँग भेट भयो । साथी पनि मगरकै छोरो थियो । हुरी बतासको कारणले ऊ पनि त्यसै अलपत्र परेको रहेछ । श्याम, अशोकभन्दा सामान्य पाको खालको र सरल स्वभावको तर चलाक हो । उसले अशोकको पैसाको सुरक्षा तथा घरसम्म पु¥याउने बचन दियो । अशोकले त्यो कुरो सजिलै स्वीकार ग¥यो र साँझको रमझमको लागि ब्यवस्थ गर्न भनेर अलिकति पैसा श्यामको जिम्मा दियो । संभवतः त्यो रात साथीहरु अशोककै घरतिर जमेर बस्ने योजना बनाए । श्यामको घर चरङ्गेतिर हो । चरङ्गे धागो कारखानातिर पर्छ । अशोकले श्यामलाई पहिले सबै पैसा राख्न दियो । गोजीको पैसा दिँदा साथमा रहेको मोटर बाइकको लाइसेन्स पनि सँगै गएछ । अशोकको आफ्नै बाइक त थिएन तर लाइसेन्स बनाएको रहेछ । श्यामले सबै पैसा राख्न मानेन र त्यो दिनको साँझ हुने खर्चको निम्ति चाहिनेजति राखेर अरु पैसा अशोकलाई नै फिर्ता दियो र ‘एक पटक म घरमा पुगेर खबर गरेर आउँछु’ भन्दै साइकल चढेर गयो । उनीहरुमा शङ्का वा अविश्वासको कुनै अंश थिएन ।
हावा हुरी मथ्थरिएकै थिएन र पानी पर्न थालेकोले हावाको बेग झनै गरुङ्गो भएको थियो । श्याम चरङ्गेको जङ्गलमा पुग्दा हुरी फेरि बहुलायो । बाटोको छेउका रुखहरु बेथितिले ढल्न थाले । ऊ ढल्ने रुखहरुलाई छल्न बाटो छोडेर जङ्गलतिर पस्यो र धेरै परसम्म पुग्यो । दुर्भाग्य, ऊ साइकलमा अडिन सकेन, अघि बढ्न सकेन । ठुलै रुखले किचिक्क पा¥यो । उसले न गुहार पायो, न उद्दार भयो ।
यता अशोकले बुटवलको राजमार्ग चौराहामा धेरैबेरसम्म श्यामलाई कु¥यो । त्यो बेला अहिलेजस्तो मोबाइल सेवा सुलभ थिएन । श्याम छिटै आउने छाँट नदेखेपछि घरमै आउला भन्ने सोँचेर साइकल चढेर घर, कुञ्जलापुरतिर लाग्यो ।
हरबंशलालको गोरखपुरको गीता प्रेसतिरजाने चोकनेर कपडाको ठूलो होलसेल पसल छ । पसल उनकै घरमा छ । घर पनि भब्य छ । बुटवलतिर आँधी बेहोरी आउने दिनको बिहानै उनी नौतनवा, सोनौली (भारततिर) भैरहवा र बुटवलसम्म भ्याउने गरी आफै पैसा उठाउन सहयोगी कारिन्दाहरुलाई साथ लिएर हिँडेका थिए । उनको नेपालतिर ठुलै कारोबार छ । त्यसो त त्यो काम मुनिम तथा अरु कारिन्दाको हो तर अरु ठुलै बिज्नेसमा हात हाल्नु थियो शायद, आफै हिँडे । उनै हरबंशलाल, निजी जीप चढेर बुटवल जाँदैगर्दा मणिग्राममा एकजना मानिस हुरीले उडाएको घरको टीनले काटेर भएको दुर्घटनाको त्यो हालत देखेर उद्दारको लागि लिएर गएका हुन् । सिधै गोरखपुर लैजानुको कारण पनि त्यही हो । गोरखपुरको कुनै अस्पतामा बिरामीलाई भर्ना गरे र उपचार शुरु भयो । बिरामी अझै बेहोशमै भएकोले उसको के नाम हो भन्ने थाहा हुन सकेन । हरबंशलालले बिरामीको नाम श्याम बहादुर भनेर लेखाए । त्यो नाम अन्दाजी भनेका हुन् ।
बिरामी सामान्य होशमा आएको भएतापनि पूरा होस वा बोल्न र कुरा गर्न सक्ने अवस्थामा पुग्दा दशदिन बित्यो । कसले कसरी कहाँ लगेका छन् भन्ने कुरा भने अझै मेसो पाएको छैन । उसको हात भाँचिएको रहेछ । त्यसको अप्रेशन गररे अरु ठाउँमा टाँका लगाइएको थियो । त्यहाँ लाग्ने खर्च र सबै हरबंशलालले गरेका थिएभने बिरामीको हेरचाह अस्पतालबाटै गर्ने गरी मिलाइएको थियो । र उनी अस्पतालमा सधै जानु पर्ने थिएन । बिरामीको अवस्था धेरै सुध्रेको थियो ।
ब्यापारी हरबंशलाललाई त्यस घाइते बिरामीको कारणले मन खलबल्यायो । उपकार गर्छु भन्दा उल्टै अप्टिक त लाग्ने होइन ? उनको मनले त्यस्तो सोँच्यो । त्यसैले ब्यापारको कामका साथै बिरामीको बिषय तथा बिरामीको घर ठेगाना पत्तो लाग्योभने सबै जिम्मेवारी सुम्पने समेत जोडेर उनी नेपालतिर लागे र शुरुमै मङ्गगलापुर चौकीमा पुगे ।
त्यसबेला त्यो चौकी इलाकामा स्तरबृद्धि भएको थियो–थिएन तर सबैले मङ्गलापुर चौकी नै भन्दथे । घाइते बिरामीको बारेमा सबै कुरा भयो र प्रहरी इञ्चार्जले हरबंशलाललाई धन्यबाद दिए । घाइते बिरामीको नाम थाहा हुन नसकेको कारणले अनुसन्धान गर्न गाह्रो भएको कुरा पनि भयो । कुञ्जलापुरको अशोकसंग धेरै कुरा त मिलेका हुन् तर अशोकको त लास भेटिएर दाह संस्कार समेत भएको छ । ‘को हो त त्यो मान्छे ?’
प्रहरी इञ्चार्जले दाहिने हातको चोर औंला आफ्नै कञ्चटमा राखेर सोंच्ने प्रयत्न गरे र बुटवलको इलाका प्रहरीमा सोधे । इलाकाले पनि खासै जानकारी दिएन र रामनगर वडाकार्यालयमा बुझ्न पठाए । रामनगरले चरङ्गेबाट हुरी आएकै दिनमा एक जना युवक हराएको कुरा गरे । चरङ्गेको कुरो अशोकको साथी श्यामको कुरो हो जस्तो लाग्छ । वडा प्रहरीका अनुसार त्यो मान्छेको नाम पनि श्याम थापा रहेछ । ती सबै कुरा मङ्गलापुरमा रहेका हरबंशलाललाई थाहा भएन वा प्रहरीको कोडयुक्त मेसेज सबै बुझेनन् । श्याम भनेको त सुने तर गोरखपुरमा रहेको घाइते बिरामीको नाम उनैले काम चलाउन राखेको हुनाले त्यसको वास्ता गरेनन् । कुञ्जलापुरको अशोक नाम गरेको मान्छे मरेको, सुबेदारको छोरो, गत फागुनमा बिहे गरेको र श्रीमतीको नाम मुनु जस्ता कुराभने टिपेरै राखे । मङ्गलापुरको प्रहरीले पनि आवश्यक बिवरण लिएर हरबंशलाललाई बिदा ग-यो ।
हरबंशलाल मङ्गलापुरको चौकीमा गएको भोलिपल्टै रामनगर वडाप्रहरीका एकजना प्रहरी जवानसहित श्यामका बाबु तथा अरु दुई जना मान्छे मङ्गलापुर चौकीमा पुगे । एकैछिनमा अशोकका बाबु पनि त्यहीं पुगे । उही अशोकको साथी श्यामको लासलाई अशोकको लास हो भनेर उनका परिवारले दाहसंस्कार गरिसकेका कुराको छनक त्यहाँसम्मको कुराले दियो तर त्यो कुराको भेद खुलेको छैन । खोल्न मिल्ने अवस्था पनि छैन । आश्चर्य लाग्ने कुरो, अशोक त लौ चरङ्गेको साथी श्यामकहाँ जाँदा आँधी ब्यहोरीमा परेर म¥यो होला । त्यसै दिन श्याम कसरी वा किन मणिग्राम आयो ?
उता श्याम जुन दिन भवितब्यमा परेर म¥यो, श्यामको घरमा कुनै खोजी खबरै भएन । ती सबै कुरा प्रहरीले केरकारको भाषामा सोधे, ‘भन्नुस् बा, श्याम हराएकै दिनमा किन खोजी खबर गर्नु भएन ?’ श्यामका बाबु पनि पल्टनिया नै हुन् । उनले आफ्नै शैलीमा जवाफ दिए, ‘क्या नाम सो, उ सधै त्यसै गथ्र्यो, कहिले घरमा आने र कहिले नआने । बुटवल नगरपालिकाको खोइ के जाति काममा लागेको छु भन्थ्यो । त्यसैले आज पनि घरमा आन्न होला भनेर खोजिएन । भुलि नि आएन, पर्सी नि आएन र मात्र खोजियो । पुलिसमा पनि खबर गरियो ।’ उनीहरुमा श्याम थापाको बिषयमा थोरै शंका र थोरै संभावना तथा खोज्ने क्रममा एउटा काम जस्तो पनि मानेर भोलिपल्टै गोरखपुर जाने तयारीमा लागे । हरबंशलालले ठर–ठेगाना बताएका थिए ।
हरबंशलाल गोरखपुर फर्केर सरासर अस्पतालमा पुगे र त्यो घाइते बिरामीलाई भेटे । बिरामीले सामान्य आँखा ह्खोलेर हेर्ने तथा बोल्ने अवस्थामा थियो । ऊ हरबंशलाललाई देखेर फिस्स मुस्कुरायो । ‘तिम्रो नाम के छ ?’ हरबंशलालको उनकै लवजमा सोधे, युवकले उसको नाम ‘अशोक हो’ भन्यो । ‘ अशोक ? कहाँको घर छ तिम्रो ? कुञ्जलापुर उञ्जलापुर त छैन तिम्रो घर ?’ यो प्रश्नको जवाफ पनि युवकले, ‘हो’ भन्यो । हरबंशलाल झसङ्ग भए । सुबेदारको छोरो, गत फागुनमा बिहे भएको, पत्नीको नाम मुनु सबै कुरा सोधे, कुरो त मिल्छ । उनलाई लाग्यो र मनमनै सोँचे, ‘मरेको मान्छे कसरी यहाँ मसंग आयो ? कतै अशोक नामको अर्को मान्छे त होइन ?’ हुन त अझै सबै कुरा खोल्न हुन्थ्यो हुन्थेन ? हरबंशलालको चिन्तनमा खुल्दुली उत्पन्न भयो र अशोकलाई भने, ‘ओ माइ गड….। तिमीलाई एउटा समाचार सुनाउँछु माइण्ड नगर्नु हँ ?’ अशोक सामान्य मानसिकतामा थियो । ‘भन्नुस् न के समाचार होला ?’ ऊ सुस्तरी बोल्यो । ‘तिमी त मरेको मान्छे हो, तिमी मरेकोले तिम्रो घरमा काज किरिया पनि भयो । मैले मङ्गलापुरको चौकीमा गएर सबै कुरा बुझेँ, के कुरा हो त्यस्तो ?’ यसपटक हरबंशलालले भावुक हुँदै हिन्दीमा बोले । त्यसो त उनले नेपाली ठिकै बोल्छन् । त्यो कुराले अशोक नराम्ररी झस्क्यो र रोयो पनि । उसले बुटवलको त्यो हुरी बतास, आफु त्यसै अवस्थामा हिँडेको, साथी श्यामसंग भेट भएको र मणिग्रामसम्म पुगेको कुरो सम्झ्यो । एक रफ्तारमा ज्यानको बाजी थापेर साइकल कुदाउँदै गर्दा उसले धड्याम्म आकाश खसेर उसैमाथि परेकोजस्तोे घटना सझ्यो, त्यसपछि के भयो थाहा पाएन । थाहा पाउने कुरै भएन । अहिले एकाएक आफू मरेको र काज किरिया समेत भइसकेको समाचार सुनेको छ । हरबंशलालले भनेका सबै कुरा मिल्छन् । बाउको गाउँमा बोलाउने नाम, फागुनमा बिहे भएको, श्रीमतीको नाम मुनु, सबै–सबै । त्यस कुराको बोझ वा परिणति उसले धान्न सकेन ।
अशोक सुत्यो, निदायो । मेडिकल साइन्सको भाषामा फेण्ट भयो । बेहोश भयो । ती सबै कुरा हरबंशलालले डाक्टरसंग पनि कुरा गरे । डाक्टरले जिभ्रो टोक्दै अचम्म माने र ‘बिरामीलाई अझै नभनेको भए हुने’ भनेर हरबंशलाललाई सम्झाए । त्यहाँ वरीपरी रहेका मान्छेमा त्यो कुरो फैलियो । सबै अशोकलाई हेर्न भनेर आए तर नर्सहरुले भीड हुन्छ भनेर कोठामा पस्न दिएनन् । हरबंशलालको मनमा भने अनौठो काम गरेंछु, भन्ने लाग्यो । खर्चको त कुरै भएन । जति लागेपनि ब्यहोर्न उनको मनले तयार गरायो । ब्यापारी हुन्, त्यस घटनाले ब्यापारमा समेत लाभ हुन्छ भन्ने कुरा पनि उनले सोंच्न भ्याए । जे होस्, अशोक मरेको रहेनछ ।
भोलिपल्ट नै अशोकका बाबु, ससुरा, श्यामका बाबु र मङ्गलापुरका एकजना प्रहरी गोरखपुरको त्यो अस्पतालमा पुगे । प्रहरी सिभिल ड्रेसमा थिए । उनीहरुले हरबंशलाललाई पनि भेटे । हरबंशलालबाट केही कुरा सुनेपछि नै आफन्तहरु चकित परे । अब के हुन्छ ? उनीहरुमा नयाँ समस्या थपिएजस्तो पनि भयो । अशोक म¥यो भन्ने कुराले संस्कार, समाज तथा अन्य ब्यवहारले एउटा बाटो तताएको थियो । पीडा थियो त्यो बेग्लै कुरो हो । मरेको मान्छे बाँच्यो भने के हुन्छ ? हुन त मरेकै मान्छे बाँचेको होइन । बाँचेको मान्छे मरेको हो । उता श्यामको अवस्था अज्ञात नै छ । उनीहरु त श्यामको बिषयमा पो गोरखपुर पुगेका हुन् । अशोकको बिषयमा त जे भयो भयो । चित्त बुझाएका थिए, कालको खेल, भगवानको लिला, मान्छेको मर्ने चोला आदि कुन कुराले मन बुझाउनु पर्ने हो, बुझाएका थिए । त्यसरी बुझाइएको मन फर्कने हो त ? फर्काउनु पर्ने हो त ? तर अशोकसंग उनीहरुको भेट भएको छैन । कसरी भेट गर्ने ? त्यस बिषयमा अस्पताल प्रशासन पनि गम्भीर भएको छ । एउटा रमाइलो वा आनन्द लाग्ने कुरो, अस्पतालले मानवता हेर्छ, देशको सिमाना त हेर्दैन नै सरकारले मार्न खाजेको मान्छेलाई पनि अस्पताले बचाउँछ । अशोकको कुरो त झनै अनौठो हो, दुर्लभ घटना हो । न यो दन्त्य कथा हो न फिल्मी कहानी । पौराणिक गाथा पनि होइन ।
कुञ्जलापुरको टोलीले अशोकलाई भेटे । भेट्नु त के थियो र ? हेरे, देखे । अशोकको होश खुलेको थियो तर मानसिकता सन्तुलनमा थिएन । थप उपचार हुँदै थियो । अनुहारले पनि अशोक, अशोकजस्तै लाग्यो हेर्नेहरुलाई । आखिर ऊ अशोक नै त थियो । अशोकका आँखाले बाउको अनुहार देख्यो । बाउले पनि छोराको अनुहार देखे । छोराको होश त त्यसै गुम भएको थियो । बाउको पनि होश त्यसै गुम भयो । त्यो दृश्यले सुब्दार अथवा अशोकका बाउलाई छट्पटी भयो, एक प्रकारको भाउन्न छुट्यो । हुन त खुशीको छट्पटाहट हो तर के खुशी के खुशी ? त्यहाँ हर्ष, आश्चर्य र त्यो घटना–परिघटनाले सिर्जना गरेको सुख र दुःखको द्वन्द्वले चक्कराए । न रुनै सके न त बोल्न नै । उनीहरु त्यहाँबाट निस्केर अस्पताल प्रशासन तथा हरबंशलालसंग के–के कुरा गरे र उसैदिन घरतिर फर्के । बिरामीलाई लैजाने अवस्था थिएन । उसको संरक्षक हरबंशलाल नै थिए । त्यस कुराको चिन्ता गर्नु परेन । र पनि अशोकका मान्छे घरबाट आउने–जाने गर्न थाले तर अशोकसंग कोही बोल्न सकेनन् । जान्थे, हेर्थे र भक्कानो छोडेर रुन्थे । त्यस कारणले अस्पतालले त्यस्तो भेटघाटलाई नियन्त्रण गरेको थियो । यी सबै कुरा अशोकी श्रीमती मुनुलाई भनिएको थिएन । घटना हो, कता जान्छ भन्न सकिने अवस्था थिएन । मुनुले भाग्यलाई सबै कुरा जिम्मा लगाएर सहेकी थिइन् , अरु के नै उपाय थियो र ?
अशोकलाई गोरखपुरको अस्पतालबाट डिस्चार्ज गरेपछि हरबंशलालले सरासर आफ्नो घरमा लिएर गए । उनको घरमा अशोकको बिषयमा चर्चा भएको थियो । त्यहाँ अशोकलाई सबैले बडो स्नेहपूर्वक ब्यवहार गरे । खास गरेर हरबंशलालकी आमाले त आँसु झार्दै मुसारिन् । अशोक कलिलै केटो हो, त्यसमा पनि मगरको छोरो देख्दै गोरो, रहर लाग्दो अनुहार । त्यसैमा घटनाले त्यसैपनि मरेर बाँचेको हो भन्नु परेको छ र ब्यवहारले त साँच्चै मरेको मान्छे भन्ने प्रमाणित गरेको छ । झनै मरेको मान्छे बाँचेको छ । हरबंशलालले अरु कसैलाई त भनेनन् उनले आफ्नै लागि त्यस उपचारको खर्चको हिसाब निकाले । टाकटुक भारु. एक लाख खर्च भएको रहेछ । त्यो बेलाको एकलाख आजको हिसाबले पनि ठुलै अंक हो । त्यसपछि एकैछिन अशोकसंग उनका परिवारले सामान्य गफ गरे । त्यो दुर्घटना हुन गएको बारेमा सोधे । त्यसैबेला अशोकसंग भएको पैसाको कुरो भयो । उसले लगाउने लुगा बदलिएका थिए तर फालिएका थिएनन् । पैसाको कुरा चल्दा ती पुराना लुगा खोजियो । उसको पाइण्टको भित्री गोजीमा जे जति पैसा राखिएको थियो सबै रहेछ । त्यस्तै ६० हजार नेपाली । त्यो पैसा अशोकले जग्गा सम्बन्धि काम गरेबापत पाएको थियो । त्यो पैसा उसले हरबंशलाललाई दिने कुरा गरेको थियो तर उनले लिएनन् । उनकी आमाले त घरमै राखेर पाल्ने जस्ता कुरा गरेकी थिइन् । भोलिपल्ट अशोकलाई घर कुञ्जलापुरमा लैजाने कुरो थियो । घरबाट उसका जेठान त्यहीं गएका थिए ।
महिना जेठको अन्त्यजस्तो लाग्छ, कुञ्जलापुरको क्षेत्रमा हरियाली थियो । केही दिन पहिले पानी परेर बन्द भएको थियो । किसानले खेतमा धानको ब्याड राखिसकेका थिए । मौसम विज्ञानको भाषामा सफा त होइन, आकाशमा सेतो बादका छिर्का–छिर्की देखिन्थे । आकाशलाई नियालेर हेर्दा बादलले बिभिन्न आकृति बनाउँदै भत्काउँदै गरेको जस्तो लाग्दथ्यो । कतिबेला धेरै मान्छेको लावा लस्कर, पञ्चेबाजाका आकृति, त्यस्तो पनि देखिन्थ्यो । त्यो दिन अशोकलाई घरमा ल्याउने कुरो थियो । त्यस समाचारले मान्छेको खचाखच भीड जम्मा भइसकेको थियो । सञ्चारकर्मी, अशोकले पढेका र अरु क्याम्पसका समेत विद्याथी साथीहरु, छिमेकी तथा आफन्तहरुको जमघट त थियो नै । त्यो हल्ला सुनेका वरपरका धेरै जनता भेला भएका थिए । कुनै अलौकिक भगवान उत्पत्ति भएजस्तै त्यो अपूर्व भेला, मेलाजस्तो पनि थियो तर त्यहाँ हो–हला, अनावश्यक गफ, हाँसो मजाक कुनै भएको थिएन । सबै गम्भीर मुद्रामा देखिन्थे । भार्सेलीहरु स्थानीय सद्भावका नाताले, मगरहरु जातिय सद्भावका नाताले भरिभराउ थिए । त्यहाँ मञ्च तयार गरिएको थियो । मञ्चमा दुईटा मात्र कुर्ची थिएभने अरु अलिकति कुर्ची दर्शक दीर्घामा थिए ।
हरबंशलालले अशोकलाई त्यहाँ पु¥याउने सबै ब्यवस्था मिलाएका थिए । साथमा उनका अरु आफन्तहरु पनि थिए । अशोक हिँड्न बोल्न सक्थ्यो । चोट लागेको हात बाहेक अरु सबै सञ्चो भएको थियो । घटना अनौठो भएकोले हेर्न आउनेहरुको घुईचो थामिनसक्नु भएको थियो । स्थानीय प्रहरीले त्यसको नियन्त्रण गरेको देखिन्थ्यो । त्यस्तैमा गाडी घुर्र आयो र मङ्गलापुर चौकीमा रोकियो । मरेको भनेर प्रमाणित गरेको मान्छे घरमा आएको छ । त्यसलाई पुनः नमरेको बनाउनु छ । त्यसैले प्रहरी प्रशासनको काम बाँकी थियो होला । गाडी हरबंशलाल आफैले चलाएका थिए । त्यो उही जीप थियो जुन मणिग्रामबाट अशोकलाई लिएर गएका थिए । अशोकलाई विशेष कार्यक्रम सहित घरमा प्रवेश गराउने योजना थियो । त्यो भन्दा पनि म¥यो भनेर काज–किरिया समेत गरेको मान्छेलाई जिवित अवस्थामा भित्राउने कुरा संस्कारमा के ब्यवस्था छ ? त्यस कुराले पनि अलमल पारेको थियो घरपरिवारमा ।
ती सबै कुरालाई साम्य पार्दै तयार गरिएको मञ्चका दुईटा कुर्ची मध्ये एउटामा अशोकलाई बसालियो । घर–परिवार, नजिकका आफन्त, हरबंशलाल, स्थानीय प्रहरी तथा प्रशासनका प्रमुख आदि दर्शकदीर्घाको कुर्चीमा बसे । ती सबै कुरा मुनुलाई त्यसै दिनको बिहान मात्र सुनाइएको थियो । त्यसैले मुनाको पनि होश ठेगानमा थिएन । त्यो कुरो सत्य हो वा होइन भन्ने शंका पनि लागेको थियो शायद । हुन त त्यसभन्दा पहिले गाइँ–गुइँ चलेको थियो । ‘अशोक झ्याप्प घरमा आएभने के होला ?’ यस्ता कुरा हुने गर्थे । सोझै भन्न सकेका थिएनन् । तर मुनुले आफूलाई मन भुलाउन त्यसो भनिएको हो भन्ने ठान्थिन् ।
त्यो दिन भने उनकी आमाले नै खोलेर कुरा गरिन् । त्यस कुराले मुनुलाई कता–कता आकाशमा उडेजस्तो वा आकाशबाट एकाएक तल खसेजस्तो भयो । एकैछिन त होश हवास हरायो । होश खुलेपछि उनलाई बिहेकी दुलही जस्तै सिंगारियो । अचेल बिधवाले सेतो पहिरनमा बस्ने चलन हराउँदै गएको छ, त्यसैमा नयाँ पिँढीमा धेरै कुरा परिवर्तन भएको छ । अझ मगरहरुको संस्कार अरु खुकुलो वा सजिलो हुन्छ । मुनुको पहिरन त्यसैपनि सामान्य थियो । विधवा र सधवा भनेर चिनिन्थ्यो । उनको पीडा शान्त गराउन मात्र होइन, त्यसैपनि मुनुलाई त्यस घरमा असाध्यै माया गर्छन् । पति बितेपछिको उनको अवस्था कसरी जाने हो अथवा कस्तो ब्यवहार गर्नु पर्ने हो, त्यस कुरामा पनि कसैले सोँचेको देखिन्नथ्यो । स्वयं मुनुले पनि त्यस बिषयमा कुनै कल्पना गरेकी जस्तो लाग्दैनथ्यो । उनी माइतमा पनि बस्न नचाहेर घरमै बसेकी थिइन् । घरमा अरु कुनै कुराको दुःख वा अभाव थिएन ।
अशोकसँगैको कुर्चीमा अशोककी श्रीमती मुनुलाई साँच्चै बिहेकी दुलही जस्तै सजाएर ल्याइयो र बसालियो । मुनु निकै रोइन् । अशोक पनि रोए र त्यो दृश्यले सारा दर्शक रोए । साथै तालीको गडगडाहट चल्यो । मौसम पनि रमाएको भान हुन्थ्यो । पूर्वीय हावा सररर चलेर केरा, आँप तथा अरु रुखका पातहरु हल्लँदा उनीहरुले पनि ताली बजाएको भान हुन्थ्यो । कार्यक्रम सञ्चालकको निर्देशनमा अशोकले दुलहीलाई रातो टीका, चुरा,पोते र फूलको माला लगाइदिए । त्यस्तै दुलहीले पनि रातो टीका र फूलकै माला लगाइदिइन् । स्थिति निकै भावुन बन्दै गयो । धेरै मान्छे त घुँक्क घुँक्क गरेर रोए ।
हरबंशलालले ‘अशोक, जीवविज्ञानको नाताले तपाईंको छोरो हो, तर नैतिकरुपले मेरो पनि छोरो हो त्यसैले मैले गर्नु पर्ने भुमिकामा पछि पर्ने छैन’ भनेर हिन्दीमा मन्तब्य सके । उनी त झनै भावुक भएका थिए । अशोकलाई बचाउन सकेकोमा वा बचाउन पाएकोमा उनको जीवन नै सफल जस्तो लागेको थियो ।
हरबंशलालको मन्तब्यले अर्को भावुकता थप्यो । मधेशी, पहाडी, नेपाली, भारती, धोती र टोपीजस्ता कुरालाई निमिट्यान्न पारेको अनुभव सबैले गरे । त्यहाँ मानवताको मात्र कुरो भयो । पे्रमको कुरो भयो । कर्तब्य र सभ्यताको कुरो भयो । सक्कली धर्म भनेको त्यही हो भन्ने कुरो पनि भयो र सबैले हरबंशलाललाई धन्यवाद दिए । अशोक त्यसै पनि धेरै बोल्ने अनुभव नभएको युवक, अझ त्यो क्षणमा कुनै शब्द निस्केनन् । तै पनि उसले भन्यो, ‘म मरेको समाचार मेरै कानले सुन्दैगर्दा मैले मेरो घर, बा–आमा र खास गरेर भर्खरै बिहे गरेकी श्रीमती मुनुलाई सम्झिँँदै थिएँ । म मरेको र बाँचेको कुरा एकैचोटी मनमा खेलाउन सकिन र बेहोश भएँछु । र आज….., र आज…, र आज… ।’ ऊ त्योभन्दा बोल्न सकेन ।
बैंकको भाषामा एकातिरको रकम अर्को खातामा चढेर उल्टो परेको हिसाबलाई इफेक्टिङ्ग परेको भन्छन् । त्यो हिसाब सुल्ट्याउने विधिलाई कण्ट्रा भौचर पास गर्ने भन्छन् । अशोक थापा र श्याम थापाको जीवनलिलाको हिसाबमा इफेक्टिङ्ग परेको रहेछ । अहिले त्यसको कण्ट्रा भौचर पास भएको छ र श्यामको घटना पनि अशोककै भौचरले मिलाएको छ । हिसाब जेका ते निस्केको छ ।
र, कार्यक्रमको अन्त्यमा माइकबाट एउटा गीत बज्यो,….
मर्दै नमरेर पनि मरेको म मान्छे…,
सुनु कसरी मै मरेको कुरा ।
भनुँ कसरी म ज्युँदै छु भनेर …
रुनु कसरी, म हाँसु कसरी……. ?