सूर्य गिरफ्तार छैन तर घामको चर्चा धेरै छ

पुस्तक चर्चा

श्रीरामसिंह बस्नेत

क्रान्ति फेरिएको छ मेरो हातमा
शेषनागहरुले अझ डस्दै छन्
जात,धर्मको हतियार उठाएर
मसानहरु लुट्न उठिरहेछन्
त्यही छेऊ म
तुवाँलोले ढाकेको समाजवादी बाटो हिँड्दै छु
मेरो छेउ
पागल बाघ
मान्छे खाएर मस्त गर्जदै छ ।

मानवशास्त्रको गहिरो अध्ययन, अध्यापनसाथै अनुसन्धानले खारिएका कवि, कथाकार प्रा.डा. विष्णु राईको यो र यस्तै अनेकौं आक्रोश, असन्तोष छरिएको छ, उनको पछिल्लो कृति ‘सूर्य गिरफ्तार’ कविता सङ्ग्रहमा । विभिन्न रोचक शिर्षकका ९० वटा कविता मार्फत् उनले आफु जन्मे, हुर्केको माटो माँझ किराँत देखि सिंङ्गो देश र विश्वपरिवेशलाई समेत कोमल तर सशक्त रुपमा स्पर्श गरेका छन् ।

कविता कस्तो हुनुपर्छ ? भन्ने एउटा बहुउत्तरीय प्रश्न कविता लेख्ने, पढनेहरुका बीचमा अक्सर उठ्ने गर्छ । युग कवि सिद्धिचरणले भनेका थिए ‘(कवितामा) भाव भए पो हुन्छ, शब्द थुपारेर के हुन्छ ?’ उनको भनाईमा असहमत हुने ठाउँ छैन । तर, उत्तर यतिमा मात्रै अन्त्य हुँदैन ।

कतिपयको भनाई रहेको पाइन्छ कि कविताले सबैभन्दा पहिला त्यसको स्रष्टालाई सन्तुष्टि दिन सक्नुपर्छ, त्यसपछि मात्र अरु पाठक वा श्रोतालाई । तर, यो भनाई पनि अन्तिम सत्य भने होइन । किनकि कतिपय कविताहरु त्यसका श्रष्टालाई अत्यन्त प्यारो लागे पनि पाठकको कसीमा खरो नउत्रिएका पाइन्छन् भने श्रष्टा स्वयम्लाई मन नपरेर उपेक्षामा रहेका वा पाठक समक्ष प्रस्तुत नगरिएका कविताहरु पनि पछि उम्दा सावित भएका पाइन्छन् । त्यसैले यो यसै हो भनेर ठोकुवा गरेर भन्न नसकिने विषय हो, अर्थात् लेख्ने र पढनेको नितान्त व्यक्तिगत् ‘पर्सेप्सन’मा भरपर्ने विषय हो । तर, पनि राम्रो चिजले धेरैलाई आकर्षित गर्नु स्वभाविकै हो । यति कुरा भन्ने धृष्टता गर्नुको कारण कवि राईका प्रत्येक कविताका स्वाद बेग्लाबेग्लै छन् भने कतिपय कविताका स्वादमा समानता पनि पाइन्छ । त्यसैले पाठकले यसलाई चाख्दा स्वादको विविधता पाउनेछन् ।

करामत मान्नै पर्छ
संविधान कथा लेखेर
रोचक फिलिमको हिरो खेल्यौ
अरुलाई गाडेर पद खायौ
म समेत मरेको मैले हेरें
योभन्दा ठूलो मृत्यु के हुन्छ मेरो

सयौं चिहानमाथि
संविधानको कथा लेखिन्छ
फेरि पछि चिहानभित्र कथा पुरिन्छ
तिम्रो फिलिम पूरै हेरें
पलपल मर्दै
म हाँसेको सिन आफैं हेरें ।

संविधान बनाउनकै लागि भनेर जनताबाट चुनिएका सभासद्हरुबाट बनेको संविधानले पनि सदियौं देखिका निमुखा जनताको मुहारमा अलिकति खुशी ल्याउन नसकेको तीतो परिस्थितिको मीठो चित्रण कवि राईको यो ‘गजब सिनेमा’ मा पाइन्छ ।

उनका कवितामा प्रयुक्त कैयौं मिथक र शब्दहरु नेपाली भाषाका आम पाठकहरुलाई नौलो र अनौठो लाग्न सक्छ । किनकि किराँत भाषा, सँस्कृति र किराँतीहरुको पवित्र धार्मिक ग्रन्थ ‘मुन्धुम’ बाट अभिप्रेरित दर्जनौं शब्दहरु यस कविताकृतिमा समाहित भएका छन् । तर, कविले त्यस्ता शब्दहरुको अर्थ पनि खुलाईदिएकाले पाठकलाई कुनै असुविधा हुँदैन । किराँत इतिहास र सँस्कृतिको केही अध्ययन वा ज्ञान भएका पाठकहरुलाई भने कवि राईका कविताहरुले अझ थप सन्तुष्टि दिनेछन् । किनकि किराँती राजाहरु येलुङ, जितेदास्ती, बलिहाङको सन्दर्भ अन्य नेपाली कविताहरुमा हत्पती पाइदैन नि त ।

नेपालको जुनसुकै नाम वा रुपको शासन सत्तामा लामो समयदेखि हालिमुहाली गरिरहेका गैरकिराँतीहरुले छातीमा हात राखेर भन्ने हो भने किराँती इतिहास, सँस्कृति र सभ्यतामाथि न्याय गर्न नसकेको वा नचाहेको सत्य स्वीकार्न करै लाग्दछ । त्यसो त केही गर्नसक्ने हैसीयतमा पुगेका किराँतीहरुले चाँहि के गरे त? भन्ने प्रश्न पनि यसैसँग गाँसिएर आउँछ । जे होस्, किराँती इतिहास, संस्कृति र सभ्यताको सम्मानमा राज्य र समाजको उदासिनता एउटा गम्भीर भूल हो, जसको प्रायश्चित हुन सक्दैन । कवि राईका कवितामा आफ्नो इतिहास, सँस्कृतिप्रतिको त्यो चेत प्रखर रुपमा पाइन्छ ।

नेपाली समाजमा ‘लाहुरे’ को ठूलो प्रभाव छ । यसको ऐतिहासिक, सामाजिक, आर्थिक, साँस्कृतिक, कुटनीटिक पक्षले गहन अध्ययन अनुसन्धानको अपेक्षा राख्दछ । राईका कवितामा पनि लाहुरेको सुकुमार गन्ध पाइन्छ । ‘कसले नाम राख्यो लाहुरेफूल’ कविताको अन्तिम चार पँक्ति कति बेजोडको छ –

बाबुले छोडेको पुरानो लाहुरे कोट
लाहुरे भाइको मफलर लगाएर
चन्द्रशम्शेरको दरबार अगाडि उभिएको छु
दाह्रा किटेर ।

राईका भावना माँझ किराँतको परिवेशमा मात्र सिमित छैनन्, त्यहाँबाट धेरै पर भेरी नदीको सुस्केरामा पनि हेलिन पुगेका छन् ।

भेरी नदीको नीलो पानीभित्र
बिहानै सूर्य नुहाउँछे
रातभरिको मैलो पखाल्न
चुमेको योनिलाई
जानेबेलामा अपवित्र भन्छन् सभ्यहरु
धर्म ठान्ने महान् न्यायमूर्तिहरु
धर्फरिँदै बिहान मोटर चढेर दक्षिण झर्छन्….

यसकृतिमा रहेका केही कविता उनका अघिल्लो कविताकृति ‘कारागारभित्रको जून’ मा रहेका कविताका दोस्रो भागका रुपमा प्रस्तुत भएका छन् । यस कृतिमा ‘सूर्य गिरफ्तार’ शिर्षकको कुनै कविता छैन अर्थात् सङ्ग्रहित कविताबाट पुस्तकको नाम जुराइएको छैन । तर घाम र जूनको चर्चा धेरै कवितामा छन् । ‘सूर्य गिरफ्तार’ नाम जुराउनुको कारण भने कवि स्वयंले मात्र बताउन सक्नेछन् । सबै ९० वटा कविता पढिसकेपछि पाठकले कविमा भएको वर्तमान परिवेशप्रतिको सशक्त असन्तुष्टि, प्रकृति–सँस्कृति प्रेम, विश्व दृष्टिकोण, किराँती सभ्यताको सुगन्ध, मानवशास्त्र अध्ययनको प्रभाव आदिको स्पष्ट अनुभूति गर्नेछन् । समग्रमा भन्नुपर्दा कविताका पारखीहरुका लागि ‘सूर्य गिरफ्तार’ एउटा नौलो स्वाद लिएर आएको छ । कतिपय शब्दका हिज्जेमा भने केही त्रुटी भेटिन्छन् ।

विभिन्न विधाका गरी १० वटा साहित्यिक र साङ्गीतिक कृति साथै चार वटा अनुसन्धान कृति नेपाली समाजलाई दिइसकेका प्रा.डा. राईबाट अनवरत लेखन र प्रकाशनको अपेक्षा राख्नु पाठकहरुको हक हो भन्ने मलाई लाग्छ ।

पुस्तकको नाम– सूर्य गिरफ्तार
विधा– गद्य कविता
कवि– प्रा.डा. विष्णु राई
प्रकाशक– वृषबहादुर राई-पर्वतकुमारी स्मृति पुस्तकालय,खोटाङ
पृष्ठ–२१४
मूल्य– रु ३००.००

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

  1. मेरो प्रिय साथी श्रीराम सिंह बस्नेत |
    तपाइलाई मेरो मुटुभित्र सम्झना त सधैं छदै छ | तपाइलाई भेट्न साथ म उही २०३६ सालको त्रिचन्द क्याम्पसमा बि.ए अध्ययनको समय सम्झन्छु | यो मेरो कविता संग्रह को समीक्षा मैले हेरिरह्दा कविता भन्दा धेरै तपाइको उही समयको मुहार देखिरहें छु | धन्यवाद अन्य कुरा कुनै भेटमा बोलौंला | धन्यवाद |

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button