
एक्लै रोएको कसैले देखेनन्
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
कविता
ओजश्वी किरण दवाडी
प्रिय साथी !
अरुको आँसु सजिलै देख्ने तिमी
एक्लै रोएको कसैले देखेनन् ।
अरुलाई दुख देखेर
दुखमा साथ दिने
तिमीलाई हात दिने भएनन् ।
सबैलाई हाँस्नुपर्छ भनेर सिकाउने तिमी
आज आफै हाँस्न बिर्सेको कसैले देखेनन् ।
जिन्दगी यात्रा हो भनेर भन्ने तिमी
खै आज थाकेको कसैले देखेन ।
अरुको सपना टुटदा हौसला दिने तिमी
आज तिम्रो आफ्नै भरोसा टुटेको कसैले बुझेनन् ।
थियौं त तिमी पनि यही समाजमै
तिमीमाथि भएको अन्याय देखेर
सहयोग गर्ने कोही भएनन् ।
अरुलाई उडान दिने ती तिम्रा पखेटा
आज काटिँदा मलम लगाउने कोही थिएनन् ।
म पनि यहीँ समाजजस्तो भएछु
तिम्रो पीडा बुझ्ने प्रयास गरिनँ ।
तिमीलाई औंला देखाउनेहरु
आजभोलि ताली बजाएको भने
सबैले देख्नेछन् ।
आज
तिमी फेरि उदाएकी छौ
बिहानीको किरण जसरी
तर, अबचाहिँ अस्ताउन्न ।
हरेक पीडाको प्रतिशोध यसरी लिनेछौ
तिमी सबैको उदाहरणीय हुनेछौ
जुन समाजले तिमीलाई रुवायो
त्यही समाजलाई फेरि हसाउनेछौं
तिमीले प्रकाश छर्नेछौ
भगवान बनेर होइन, मानव बनेर ।