
आकाश पढाउनु हुन्छ अनि पखेटा काटिदिनु हुन्छ
कविता: मालिक
विपल घले
कालिम्पोङ, दार्जिलिङ, भारत ।
मालिक,
तपाईँ आकाश पढाउनु हुन्छ
अनि आफैँ पखेटा काटिदिनु हुन्छ
धरती पढाउनु हुन्छ
अनि आफैँ जरा उखेलिदिनु हुन्छ
जिब्रोमा काँटि ठोकिदिनु हुन्छ
श्वास नलि अँठ्याउनुहुन्छ
काटेको घाउमा नून दलिदिनु हुन्छ ।
सबभन्दा गाह्रो यो पेटको ज्वाला
दनदनी दन्किदिन्छ
जुन भोकको रापले
यी हातहरू एकाएक
तपाईँका सेवामा हाजिर हुन्छ ।
तपाईँको छाया समेत परेपछि
यो मनको सुर्यमा ग्रहण लाग्छ
यो पेट छ र पेटसितै मजबूरी छन्
नत्र,
विज्ञापन जस्तो टाँगिएको यो मुहारको नेपथ्यमा लुकाएका
अनुहारका प्रतिरोधी रूप देख्नुहुन्थ्यो ।
तपाईँलाई जुन हातले पस्किएर दिन्छु खाना
त्यही हातले तपाईँको गला दबाउने मन हुन्छ
तपाईँको काम जसरी खच्चडले जस्तो गर्छ यो खुट्टाले
यिनै खुट्टाले तपाईँको खप्पर फुटाउने मन हुन्छ ।
घाम उदाएदेखि अस्ताएसम्म
तपाईँको निमित्त खट्दाखट्दै
आफैँ अस्ताउन लागेको हुन्छु
मानवताको पाठ पढाइहिँड्ने तपाईँ
न्यून ठान्नुहुन्छ अनदेखा गर्नु हुन्छ
तपाईँ आफुभित्रको दानवलाई लुकाएर
धर्मको ढोँग गर्दै हिँड्नु हुन्छ ।
सत्ते होला मालिक
जसरी तपाईँका क्रूर आँखाले
भयको गहिरो डोब खोपिदिएको छ यो मनमा
जुन दिन मेटाउन सक्नेछु म आफैँ
त्यो दिन तपाईँ आफैँ मेटिनु हुनेछ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



