कविताः माटोमा शव्द
सुनिता खनाल
कठोरभन्दा अझ कठोर
क्रूरभन्दा अझ क्रूर
बैमानभन्दा अझ बैमान
त्यस्तो कुनै शब्द छ भने
त्यो यही माटोमा झरोस् ।
माटो
आमाको शालीन गर्भ हो
जहाँबाट जस्तै राक्षस पनि
कलिलो शिशु अवतारमा निस्कन्छ
अब तपाईं नै भन्नुहोस्
के कुनै शिशु कहिल्यै राक्षस हुन्छ ?
सम्पूर्ण धोका
सम्पूर्ण छल
सम्पूर्ण कुटनीति
सम्पूर्ण ईर्ष्या
सम्पूर्ण लोभ
सम्पूर्ण घमण्ड बोक्ने
कुनै शब्द बाँकी छ भने
त्यो पनि आजै यो माटोमा झरोस् ।
एकदिन त्यहीँबाट
अङ्कुराउने छ प्रेम ।
अत्यन्तै उत्कृष्ट रचना !
आशावादी सृजना !