त्यो तीन सय भाउजुले दिएको पैसा थिएन

लघुकथाः माया

सीता रेग्मी
सुन्दरहरैँचा, मोरङ ।

दुर्गम पहाडी जिल्लामा जागिर । बिहान बस चढे साँझ मात्र पुगिने । कहिलेकाहीँ त त्यो पनि मुस्किल ।

लगभग बीचबाटोतिर दाजु भाउजुको घर थियो । तर, म अहिलेसम्म पुगेकी थिइनँ । यस पटक भने मैले एक दिन त्यही बसेर जाने निधो गरेँ । पहाडको ठाउँ, दाजुभाउजुको खेतीपातीबाहेक अन्य कमाई थिएन ।तीन जना साना साना नानीबाबुहरु थिए । उनीहरुले मलाई राम्ररी देखेका पनि थिएनन्, चिन्ने कुरै भएन । भाउजुले तिमीहरुकी कान्छी फुपु भनेर चिनाउनु भयो । तीनै जना मेरो अगाडि आएर उभिए । मैले गुलिया मिठाई र केही खेलौनाहरु लगिदिएकी थिएँ, त्यही दिएर बाँडेर लिनु है भनेँ ।

‘हस्’, सबैले टाउको हल्लाए ।

हाम्रा सबै आफन्त तराईतिरै बसाईँ सरेर आइसकेका र त्यो पुर्खौली पहाडमा हत्तपत्त कोही नपुग्ने भएकाले होला दाजुभाउजुले मन खोलेरै मेरो स्वागत सत्कार गरे झै लाग्थ्यो ।

‘हामी त फुपुसँगै सुत्ने’, नानीहरु कति छिट्टै मसँग लुट्पुट्टिए ।

बिहानको खाना खाईसकेपछि बाँकी यात्रा गरी गन्तव्यमा पुग्नु थियो । म तयार भएँ । खेतिपाती र बस्तुभाउको काममा व्यस्त हुने दाजुभाउजुलाई पनि कामको चटारो नै थियो । म विदा मागेर हिँड्न तयार भएँ ।

‘फुपु फेरि आउनु ल’, एउटा बाबुले भन्यो ।

‘फुपु मलाई मिठाई ल्याईदिनु ल’, अर्कोले भन्यो ।

‘फुपु मलाई खेलाउने गाडी ल्याईदिनु है’, अर्को बाबुले भन्यो।

‘ल ल फुपुलाई धेरै दुःख नदेओ’, भाउजु केटाकेटीलाई कराउँदै निस्कनु भयो ।

उहाँले मैलो गुन्युको छेउ फुकाएर केही पैसा निकालेर मतिर हात बढाउँदै ‘लिनोस् नानी ! बाटा खर्च’ भन्नुभो ।

‘पर्दैन भाउजु’, मलाई अप्ठेरो लाग्यो ।

पहिलो चोटी ​गएको । त्यो पनि विचरा दाजुभाउजु त्यत्रो दुःख गर्नुहुन्छ, स-साना नानीहरु छन् । म कसरी भाउजुबाट पैसा लिन सक्थेँ ?

‘नानी लिनोस् न’, भाउजुले फेरि आग्रह गर्नु भो ।

‘हैन, भाउजु मसँग छदै छ नि, हजुरले दिनु पर्दैन’, मैले फेरि पनि असहज महसुस गरेँ ।

‘नानी यो पैसा मैले तपाईँसँग छैन, तपाईँलाई बाटा खर्च पुग्दैन भनेर दिएकी हैन, यसमा त हामीले तपाईँलाई गर्ने माया र दिने आशिर्वाद मिसिएको छ । त्यसैले तपाईँले यो लिन नमान्नु भनेको हाम्रो माया र आशिर्वाद पनि नलिनु हैन र ?’, भाउजु अलि गम्भिर हुनुभो ।

उहाँको कुराले मैले केही बोल्ने ठाउँ नै पाईन अनि थपक्क त्यो पैसा हातमा लिएँ, तीन सय रुपैया रहेछ । त्यसपछि विदाईका हात हल्लाउँदै आफ्नो बाटो लागेँ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button