
उताबाट छोरोले फर्कन्न भन्छ यता आमाको प्राणले !
लघुकथा
विद्या खड्का
पाँचौं दिन भयो आज अस्पतालको शैयामा छट्पटाई रहेछिन् ईन्द्रा । हिजो डाक्टर भन्दै थिए, ‘अब कुनै उपाय लाग्दैन, केही दिन वा केही महिना मात्र हो ।’
सम्झन्छिन्, ‘उनको एउटै छोरा उच्चस्तरीय शिक्षा पाएर ठूलो मान्छे बन्ला । टन्न सम्पत्ति कमाएर फर्केला । विदेशमा आर्जेको ज्ञान र धनले स्वदेशको सेवा गर्ला भनी पारी खेत बेचेर अमेरिका पठाएको । पाँच वर्ष भयो प्रत्यक्ष मुहार देख्न नपाएको ।’
उनको एउटै ईच्छा छ छोरालाई भेट्ने ।
नजिकै चेयरमा टाउकोभरी हिउँ फुलेको उनका बुढा कपको तातो चियाले चिसो हृदय न्यानो बनाउने प्रयत्न गर्दैछन् ।
चियाको कप रित्याई सकेर आफ्नो ज्वारिकोटको गोजीबाट मोबाइल निकाल्छन्, राख्नछन्, के के सोच्छन् फेरि निकाल्छन् फेरि राख्छन् । अस्ति फोन उठाउँदै उठाएन, हिजो व्यस्त छु भनेर काटिदियो आज फेरि गर्नु र !
श्रीमतीको आँखामा हेर्छन्, स्थीर उनका आँखाहरू छोराको मुहार हेर्न अनुनय गरिरहे झैं देखिन्छन् । भारी मनले धार्नीको वजन उचाले झैं मोबाइल उचालेर फोन लगाउँछन् ।
‘छोरा … ‘
‘म व्यस्त छु भनेको हैन ? बाबा काममा छु । घरि घरि फोन नगर्नुस् न ।’
‘तेरी आमा बिरामी छ ।’
‘त्यो घरबारी बेचेर उपचार गर्नुस् न । म धेरै पैसा कमाएर ल्याउनेछु अनि फेरि किनौंला ।’
छोरोले फोन काटिदिन्छ।
बुढाको मुखबाट आवाज निस्कन्न ।
उताबाट छोरोले फर्कन्न भन्छ यता आमाको प्राणले !
बुढाको कानमा गुन्जिरहन्छ विदेशी झैं लाग्ने नारी आवाज, ‘बेबी, कम फास्ट । सो इज गोइङ टु स्टार्ट् !’
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)