
रातको १२ बजेको थियो
छोटो कथाः मभित्रको एक आकृति
भरतकुमार नेउपाने
झापा
रातको १२ बजेको थियो । म मस्त निदमा थिएँ । अचानक ढोका ढक्ढकाएको आवाज सुनियो । म बाहिर आएर यताउता हेरेँ, कोही पनि थिएन । चारैतिर सुनसान अनि चकमन्न भएर कानमा झ्याउँकिरी र कुकुरका भौ भौ ।
म फेरि भित्र पसें । मेरा कान ठाडा भएर आवाज सुन्न तत्पर थिए, आँखा र सारा हेराइ नै दैलाको पछाडि थियो । एकक्षण डराएँ, कतै मेरा कोही शत्रुहरु त आएर आक्रमण गर्न खोजेका होइनन् ? फेरि मेरो अमित्र भन्नु नै को पो थियो र ? मन अलि शान्त भएर आयो । पर पर कुकुरका आवाज अझै पनि गुन्जिरहेका थिए । मलाई निन्द्रा लागेन, त्यसै ओछ्यानमा पल्टिमात्र रहेको थिएँ । सारा शरीर तातेर आयो । शरीरमा भएको रक्तचाप समेत बढेर आयो । बिस्तारै उठेर एक गिलास चिसो पानी घट्घट पिएँ, मन अलि शान्त भयो ।
एक घन्टापछि मेरा आँखाहरु बन्द भइसकेका थिए । मेरा मस्तिष्कमा कैयौं चक्करहरु आउन थाले, कलंकीत स्वप्न बनेर । हिजो एक साथीले, जीवनका बारेमा के के सोच्नुपर्छ भनेको थियो । जीवन भनेको कर्कलाको पानी हो, कर्कलो भनेको पिंडालु हो अनि पिंडालु भनेको जमिनमुनि रहने एक कोक्याउने चीज हो । जीवन यसरी पानी झैं बगेर गइरहेछ, जमिनजस्तै लमतन्न भएर सुतिरहेको छ । अतः जीवन एक अचम्मको पोको समेत हो । यसमा जे पनि हुन सक्छ, यो पोको अचानक खुल्यो भने ह्वास्स गन्हाउन पनि सक्छ तथा कैयौं फूलका वासना समेत भएर निस्किन सक्छ । त्यस्तै जिउँदो मानिसको जीवात्मा नै शायद जीवन हो । जीवन सुखदुख र मिलनबिछोड पनि हो । सुखमा पर्दा हाँसो, दुखमा पर्दा आँसु । जीवन संघर्ष पनि हो । यसमा संघर्ष गर्न सक्नुपर्छ । जीवन कला पनि हो । यसको सुन्दरता टाढा टाढासम्म पनि फैलन सक्छ । जीवन एक माध्यम हो । यो एक विचारबाट अर्को विचारमा परावर्तन पनि हुनसक्छ । जीवन कर्कलाको पानी समेत हो । यो पोखिन पनि सक्छ । यो एक अचम्मको बमबारुद हो । एकदिन अवश्य बिस्फोट हुनसक्छ, ड्याम्म ।
म झसङ्ग भएर बिउँझिएछु । मेरा सारा शरीर पसिनाले निथ्रुक्क भएर भिजिसकेछ । समयमा मलाई उठाउने बेलघडी पनि टेबलबाट तल झरेको रहेछ । उसका काँटाहरुले साढे बाह्रर बजेदेखि हिँड्न छोडिदिएछन् । यताउता हेरेँ, सबै सामानहरु छरपस्ट भएका थिए अनि ती छरपस्ट भएका सारा सामानलाई विपनामा म एकएक गरेर बटुल्न थालेँ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



