
‘मोर ते बनाक् जेहरा कैसन कैसन भइल’
कथाः हेपिएकी आमा
गुरुदत्त ज्ञवाली
‘तँ बुढीलाई यहाँबाट गजेहडा, त्यहाँबाट सिउटी, कर्महाना, देउवापार, ओदारी हुँदै जहदीसम्म दोरोरोरोरोरो … पार्दै ज्युँदै लतारिन भने तैँले जन्माएको छोरो होइन बुझिस् ?’, छोराले आमालाई गरेको गाली हो यो ।
कुरा सुन्दै झन्का छुट्छ । देख्दा त झन् कस्तो भए होला ? काकुले ती सबै चर्तिकला देखे र सुने । परिवारको नाममा एक्लो छोरो, बुहारी र आफू । आमाको सम्पति त्यही हो । उनीहरुको पुरानो घर त पाल्पा अर्गली हो । अझ ख्याहा भन्ने गाउँमा हो । ख्याहाको ढुङ्गो पनि खरो हुन्छ भन्छन् । हँसिया तथा अन्य धारिलो औजार उध्याउन त्यस सेरोफेरोका मान्छेले ख्याहाको ढुङ्गो लिएर जान्छन् । नामै चलेको छ ख्याहाली ढुङ्गो भनेर ।
ढुङ्गगो त्यस्तो भयो भन्दैमा त्यहाँका मान्छे त खरो नहुनुपर्ने हो तर भन्छन् । अहिले त्यो परिवार कपिलवस्तु, गजेहडाको पर्ने कुबेरपुर भन्ने गाउँमा छ । बाउ छैनन्, छोरो सानै छँदा बितेका हुन् । दश कठ्ठा खेत छ । खेत छोराकै नाममा छ । खेती, तालमेल मिलाउने हो राम्रै हुन्छ । ‘बुहारी जाती हो छोरै सत्तुर प¥यो’ भन्छिन् आमाले । आमा–छोरा अचेल पटक्कै मिल्दैनन् । खास गरेर छोराले आमालाई देख्नै सहन्न । उसैको शब्दमा, “आमालाई देख्यो कि बर्मन्नी तात्छ ।”
सन्तोष हो छोराको नाम, आमाले छोरो सानो छँदा सन्तु भनेर बोलाउने गरे पनि दिक्क लाग्दाभने सन्ते भन्छिन् । सन्तोषको बिहे कुबेरपुर झरेपछि भएको हो । उसको लेखा–पढी सामान्य हो । बिहे कुबेपुरको नजिकैको भक्तौलिया गाउँमा भयो । श्रीमतीले झनै पढेकी छैनन् । सावाँ अक्षर मात्र फोरेकी हुन् केटाकेटी छँदा । श्रीमतीको नाम पुतली हो तर माइतमा पुतली भनेर बोलाएको कहिल्यै सुनिएन । सबैले काली भन्थे । हुन पनि अँगारजस्तै काली हुन् । अनुहार कालो भएपनि मन गोरो छ पुतलीको । मन सफा छ । धेरै बोल्ने बानी छैन र प्याच्च मुख फर्काएको पनि सुनिएको छैन । इमान सोझो छ । माइतीमा छँदा त्यो परिवार उनैले धानेकी हुन् । १८–२० बर्षकी केटीले आफूबाहेक पाँचोटी दिदीबहिनी र आमालाई हातबाट सर्वाङ्ग ब्यवहार जिम्मा लिएर पाल्नु खेलाँचीको कुरो होइन ।
पुतलीका आमा दुइटी हुन्, जेठी मरेपछि कान्छी बिहे गरेका हुन् उनका बाउले । उनीहरुले बाबा भनेर बोलाएको सुनिएन कहिले पनि । ‘ए बाउ’ भनेरै बोलाउँथे । उनीहरुको चलनै त्यस्तै हो । जेठीतिर एउटा छोरा र एउटी छोरी । कान्छीतिर पुतली समेत छ बहिनी छोरीहरु । उनका बाउ मरेपछि जेठीतिरका छोरा–छोरी सँगै बस्न सकेनन् र अलग भए । जग्गा पनि आधा–आधा गरेर बाँडे । पुतलीकी आमातिरको जग्गा तीन बिगाहा होे । जग्गा धेरै भएपनि उब्जनीले खान, लाउन र अन्य सबै खर्च चलाउन धौ–धौ हुन्थ्यो । अरु सुको पैसो कतैबाट आउने ठाउँ थिएन । त्यसैले कुनै बर्ष त अनिकाल लाग्दथ्यो । लगानी गर्ने पैसा हुन्नथ्यो ।
त्यो तीन बिगाहा खेत पुतलीले आफैले जोतेर पार लगाउँथीन् । उस्तै चलाक महिला वा युवती भएकोभए ठूलै हल्ला हुने थियो । त्यही नाम भजाएर राजनीति गरेर खान्थे । त्यसो नभएपनि लौ आईमाईले हलो जोती भनेर गिल्ला गर्दथ्यो समाजले । पुतलीको परिवारलाई बाध्यता पनि थियो र उनमा त्यो हिम्मत पनि थियो । प्रकृतिले बिभाजन गरेको भिन्नताबाहेक पुतलीले सबै काम गर्थिन् । लडिया हाँक्ने, हलो जोत्ने, हेँगा लगाउने, बनकस (बाबियो ) काट्न पहाडतिर जाने, दाउरा काट्न बञ्चरो लिएर जङ्गलतिर जाने, दार बोक्ने, कुलाहीमा जाने, घर छाउने सबै गर्थिन् ।
कसैको मलामी भने जानु परेन पुतलीलाई । कुनै पनि काममा नाटकीय प्रदर्शन थिएन । त्यसो गर्दा पनि कसैले उनको कामको चर्चा गरेन । स्याबासी दिएन, सल्लाह दिएन र सहानुभुति पनि राखेन । त्यस्ती कन्या सन्तोषले पाएको छ र त उसको घर चलेको छ अहिले । खेती लगाइएको छ, भनौं एक माना खाएका छन् ।
यता केही बर्ष भयो, सन्तोषकी आमा उनको घरमा अधिकार बिहीन भइन् । छोराको बिहेपछि ठूलो काम बुहारीले आफै गर्छिन् । बिहेपछि भने पुतलीले हलो जोतिनन्, जोत्नु परेन । सन्तोषले त नजानेर हो वा लाजले हो अथवा अल्छी भएर पनि हुन सक्छ, जोत्दैनथ्यो । हली खोजेरै खेती पार लगाउँथे । स–साना काम भने आमाले आफ्नै सूरले गरेकी हुन्थिन् । काम पनि खाने धन्दा हो, गृहिणीहरुको काम उही पोख्ने र उही उठाउने पनि भन्छन् । पुतलीले सासु आमालाई काम अह्राउन वा सहयोग लिन पनि डराउँथिन् । डर मर्यादाको हो । आमालाई भोक लागेमा वा उनी भान्सा पस्ने कुरामा छोराको कारणले अधिकार थिएन । जिम्मेवारी दिइएको थिएन । आमाले सबै खाएर सक्छिन् अथवा धेरै खान्छिन् र अन्न सक्छिन् भन्ने छोराको डर हो । छोराको वचनले गर्दा आमा भान्सामा पस्न छोडिन् । पछि त छोराको टोकसो एकातिर छ, उमेर र स्वास्थ्यको कारणले पनि काम गर्ने अवस्थामा भइनन् । त्यस्तै अवस्थामा पनि एकदिन आमाले भोक लाग्यो भनेर बुहारीसँग कुरा राखिन् । बुहारीले कामको मेलो छोडेर सासु आमालाई खाने कुरा बनाउन घरभित्र पसिन् । सन्तोषले आमाको मुखमा, पाकेर कुहिएको गोलभेंडाजस्ता आँखा बनाएर क्वारक्वार्ती हे¥यो । आमाले, “छिः कस्तरी हेर्च, क्वाप्प खाला जस्तै” भनेर के भनेकी थिइन्, त्यसै झोंकमा, त्यसै रीसमा सन्तोषले आमालाई त्यसरी गाली गरेको हो । जतिबेला पनि घिच्नु पर्ने, तीन माने बुढी, राक्षस्नी, अलछिनाई जस्ता धेरै अपशब्द बोल्यो । आमा रुनु सिबाय के गर्न सक्थिन् र ? उनलाई बुहारीको सामुन्नेमा छोराले त्यसरी गाली गरेकोले मर्नु बराबर भयो । तै सन्तोष घरमा नभएको बेलामा बुहारी पुतलीले अलि ख्याल गर्थिन्, फिक्का चा र भुजा दिने गर्थिन् । त्यो घरको स्तर त्यही हो ।
सन्तोष उमेरले जवान हो, पुतली भन्दा पाँच बर्षले जेठो । तर फक्कड हो, गफाडी । उसले चुरोट त खान्छ नै, गाँजा पनि फोक्सो सुकुञ्जेल तान्छ । सस्तो खालको रक्सी सिधै पानी खाएजस्तै खान्छ भन्छन् अरुले । त्यसो भएपनि नशा लागेर हल्लेको वा अन्यत्र मनपरी बोलेको थाहा छैन । आमालाई गाली गरेको कुनै अम्मल–सम्मल खाएर होइन । कुन कुरामा आमसँग ¥याङ्ग–ठ्याङ्ग मिलेन र त्यसरी बतुराउन थाल्यो । आमाले त्यसको कारणबारे मेसो पाएकी छैनन् । यही नै रहस्यको कुरो छ ।
आमाले कहिल्यै छोरालाई मन बिझ्नेगरी गाली गरेको सम्झना छैन भन्छिन् । नौ महिना कोखमा राखेर जन्माएको र दश धारा दूध खुवाएको कुरा त लौ नगरौँ । घरको हैसियत अनुसार नाना–चाचा पनि किनीदिएकै हुन् त्यो बेला । छोरो बिरामी हुँदा सक्दो उपचार पनि गरिन् । आमाले गर्ने, आमाको हृदय पगालेर गर्ने सबै काम गरिन् । कुबेरपुरमा जग्गा किन्दा आफ्नो नाममा पास गराउन सक्दिहुन् । त्यसो गरेकोभए आज छोराले यसरी हेला गर्ने थिएन । गाली गर्ने थिएन भन्ने कुरा पनि सोंचेकी हुन् । तर पनि, छोरै हो भनेर ती कुरा निकालिनन् । के अपराध गरिन् त आमाले त्यो छोराप्रति ? यस्ता कुरा आमाले उनकै स्तरले मनमा कुरो खेलाइन् । कुरो मनमा खेल्छ र त्यसै सेलाउँछ । कसलाई सुनाउँने ? सुनाउने ठाउँ पनि छैन र सुनाउन हुने अवस्था पनि छैन ।
पुतलीलाई बिहे गरेपछि उसै वर्ष सन्तोष नराम्ररी बिरामी भयो । उपचारमा धेरै रकम खर्च भयो । पैसाको लागि हल गोरु बेच्यो, भएको अन्नपात बेच्यो । दुहुनो भैँसी बेच्ने तयारीमा थियो । आमाले, “भैँसी नबेच बाबु, अरु मिठो चोखो खानेकुरा केही छैन । बुहारी पनि काम धन्दा र तेरो चिन्ताले हुईया भएकी छ । म यस्तै छु । बरु मैले लगाएका मडवारी, यो औंठी र बुहारीको तिलहरी बेचम्” भनेकी हुन् ।
भैंसी बेचेर पर्ने पैसा ती सबै गहना बेचेर पनि पर्ने थियो । पुतलीले पनि आमाका कुरामा मञ्जुरी दिएकी थिइन् । पतिको रोग निको भएमा गहना त सामान्य कुरा थिए भन्थिन् । सन्तोषले सुल्टो सोँचेन । आमाले भैँसी बेच्न नदिएको कारणले उपचार हुन नसकेर मर्छु भन्ने सोँच्यो कि के सोँच्यो कुन्नि ? त्यसै दिनदेखि उ आमासँग अलि बाउँठिन थालेको हो । छोरो बाउँठिएको छ भन्ने कुरा आमाले बुझिनन्, उसले आमालाई भनेन । छोराको त्यस्तो मन कुँडिन्छ भन्ने लागेको भए आमाले भैँसी बेच्नबाट रोक्ने थिइनन् ।
बिहे नहुँदै सन्तोष एकपटक लाहुर गयो । त्यो बेला उनीहरु ख्याहामै थिए । साथीहरुको संगतले उ लाहुर जान भनेर कस्सिएको थियो । आमाको मन त हो, “म एक्लै छ,ु लाहुर नजा, निर्वाह चलेकै छ ।” भनेकी थिइन् । त्यो बेला पनि पैसा दिनुपर्छ भनेर आमाले लाहुर जान दिइनन् भन्ने निहुँमा बाउँठियो । त्यसको इख पनि राखेको रहेछ । पछि भागेर गयो र पञ्जाबमा दुई वर्ष हल्खारिएर आयो । सुको पैसो ल्याएन, कमाएन । त्यसैको रनाहामा ख्याहाको घर–जग्गा बेचेर कुबेरपुर झरेका हुन् ।
‘साइँद्वालाई खपटे (क्षयरोग )ले छोएको रहेछ । लाजले कसैलाई भनेन । क्याकन त्यो बेला लाहुरे हुँदा पञ्जाब देखेको, पञ्जाबमा बाहेक कतै अस्पताल हुन्नन् भन्ने बुझेछ’ भनेर छिमेकीले भन्ने गरेको काकुले सुन्थे । त्यसो भनेको पनि रोग चिनेर होइन । बरु सन्तोषको स्वभावले मिच्छिएर हो । पैसा कुम्ल्याएर पञ्जाब गयो । कता फूटपाथे मेडिकलमा देखाएको थियो । पैसा सकियो, रोग छिप्पियो । सञ्चो भएन । हुन त क्षयरोग नै रहेछ । त्यो रोग त नेपालमै, त्यो पनि स्थानीय हेल्थपोष्टमै सित्तैंमा उपचार हुन्थ्यो । उसले आमासँग त भन्दै भनेन रे लौ, पुतलीसँग भन्नु पर्ने थियो । साँच्चै भन्ने होभने आमासँग नै गुनासो गर्नुपर्ने हुन्थ्यो । क्षयरोग लागेको रीस, त्यसले पारेको खर्चको भार र असफल उपचारको दोष पनि आमामाथि पोख्यो । पछि आमाले अरु छिमेकीबाट थाहापाएर छोरालाई बचाउनु प¥यो भनेर गुहारिन् । स्थानीय हेल्थपोष्टबाट निःशुल्क उपचारमा सन्तोषको क्षयरोग सञ्चो भयो । तर पनि आमासँगको रीस मरेको छैन । त्यो बेलासम्म पुतलीले पतिको बोली तथा कुनै ब्यवहारमा हस्तक्षेप गरेकी छैनन् । लोग्ने हो, भनेर सहिन् । सासु आमालाई पनि आमा–छोराको कुरो हो भनेर बीचमा अवरोध गरेकी थिइनन् । आमाको कुनै पनि दोष नहुनु तर छोराले तथानाम बोलेर गाली गर्नु, निःशुल्कमा सञ्चो हुने रोग पनि घरमा सल्लाह नगरीकनै अनावश्यक खर्च गर्नु र जथाभावी गाँजा, भाङ्ग, धतुरो, रक्सी आदि सेवन गरेर घर बिग्रँदै जानु जस्ता कुराले पुतलीको मन अलि पोल्यो । चह¥यायो । अनि काकुसँग सल्लाह गरिन् र पतिको ब्यवहारमा क्रमशः हस्तक्षेप गर्न शुरु गरिन् ।
काकु उनीहरुको छिमेकी हुन् । नाम त काकुको के हो थाहा भएन तर सबैले काकु भन्छन् । काका भनेको हो, थारुहरुमा काकु पनि भन्ने चलन छ । काकु जातले थारु हुन् । मजदुरी गरेर खाने थारु । खेत जोत्ने बेलामा काकु सबैको हली हुन् । पहिले हरवाई गर्थे अर्थात कमैया । अहिले हरवाई पनि हरायो र जमिन्दारहरु पनि झोले भए त्यो क्षेत्रमा भन्ने कुरा काकुको मनमा लागेको छ । हो पनि । खेत बेचेरै नसकिनेहरुको जमिन्दारी बाँकी छ । धेरै जग्गा भएकोले जमिन्दार भन्नै प¥यो तर सामाजिक स्तर खासै छैन । अब त खेतमा रुख पो लगाउन थाले पुराना जमिन्दारहरुले ।
काकुको भने भाउ बढेको छ । नेपाली आचरण त हो, नयाँ पिढीले पुरानो शैलीको काम गर्न छोडे । पुरानो पिँढी साँच्चै पिँढी कुर्ने हुन थाले । तै अचेल टेक्टरले हलीको काम गर्न थालेको छ । उही काकुले पुतलीको कुरो समर्थन गरे । सहयोग गर्ने वचन समेत दिए । काकुलाई सन्तोषले आमाप्रति गरेको ब्यवहार पटक्कै मन पर्दैनथ्यो ।
धान काटेर खलामा आएको थियो । गहुँ र तोरी छर्ने बेला भयो । सन्तोषले काकुलाई जोत्न भनेर बोलायो तर काकु आएनन् । ज्याला बढाउँछु भन्दा पनि आएनन् । पुतलीले माइतमा छँदा हलो जोत्ने गरेको कुरा सन्तोषलाई थाहा थियो । त्यसैले त्यो कुरो पुलीलाई काउलो पारेर राख्यो । सधै तँ भन्थ्यो पुतलीलाई । त्यो दिन, “हेर पुतला, काकुले जोत्न आउन मानेनन्, तिमी पनि त सिपालु छ्यौ नि, के गर्ने हो ?” पुतली त्यसै त काली एकाएक रीसले झन् काली भइन् र झन्केर भनिन्, “अउँ, खुब जोत्छु अब ! पहिले तिमी मर अनि जे जे गर्नु पर्ला गर्छु ।” उनको पहिले देखिको गुम्सिएको रीस वा पीडाको ज्वाला एकाएक बिष्फोटन भयो । सधै पतिलाई तपाइँ भनेर संबोधन गर्ने पुतलीले तिमी भनेको र ठाडो जवाफ दिएकोमा सन्तोष भित्रको पुरुष एकैछिन त आगो भयो । रोग सञ्चो भएपनि तागत थिएन, हिम्मत पनि थिएन । उ चुमुर्कियो । उता आमाको मनमा छोरो हरामी भएको, अटेरी भएको र आफूलाई असाध्यै हेला गरेको कुराले कसैले सम्झाइदिए त हुन्थ्यो नि भन्ने लागेको हो । बुहारीले नै झेँको झारेको देखेपछि छोरो सपार्ने दवाइ त घरमै रहेछ भनेर खुसी भइन् । सन्तोष भुत्भुताउँदै निस्क्यो, दिनभर घरमा आएन । हुन त उ खेत जोत्ने हली खोज्ने सोँचमा गएको हो तर कसैले पत्याएनन् । कसैले टेरेनन् । समाजमा पनि उ अलि पाको देखिन्न । उमेर त त्यस्तै हो, खासै पाको हुने बेला होइन तर घरको ब्यवहारले पाको बन्नु पर्ने अवस्था हो, भएन ।
साँझमात्र घरमा आएको सन्तोष पुतलीसँग बोलेन । मुखमा पुर्लुक्क समेत हेरेन । आमाको त मुखै देखे पनि सन्कन्थ्यो । र, खटियामा गएर सुत्यो । पुतलीले भात खान बोलाउँदा पनि खान्न भनेर जक्र्यो । पुतलीले पनि घर गर्न थालेको कति पो भएको छ र ? जाय–जन्म नहुँदासम्म केटीहरुको घर हुन्न भन्ने समाजको एक खालको मान्यता पनि छ । हुन पनि पुतलीको घरको चाला हेर्दा के हेरेर त्यो घर कुर्ने हो र ? तै कसैले त्यसरी भड्काएको छैन । त्यसो त पुतली जब्बर केटी हो भनेर सबैले भन्छन् । त्यो घरमा भने अझै धक फुटेको छैन ।
पुतलीले आफ्नो र सन्तोषका जीवनका कथा–ब्यथा सुनाएर सम्झाइन् । टाउको मुसारिन् र निधार छामिन् । घुर्की लगाएको सन्तोष, लुरुक्क उठ्यो र भात खायो । थोरै मात्र बुहारीको सहारा पाएकी आमा, त्यो घरमा बाटोमा भेटाएर ल्याएकी बहुलाईको जस्तो अवस्थामा दिन गुजारेकी छन् त्यो दिनसम्म । त्यो साँझ पुतली धेरै बोलिनन् तर आमालाई राम्ररी खान दिइन् । कहिल्यै पेटभरी खान नपाएकी जस्ती भएकी आमाले त्यो छाकमा घिउ र दूध पनि पाइन् । आमालाई घिउ असाध्यै मन पथ्र्यो तर उनका पतिको देहान्तपछि जब छोराको हातमा ब्यवहार स-यो, सबै सुख र आनन्दको पनि देहान्त भएजस्तै भएको थियो । यहाँसम्म कि छोराकै बिहेमा पनि पेटभरी खान पाएकी होइनन् । बिहे पनि बिहेजस्तो भएको भए पो ? उनको गुनासो हुन्थ्यो ।
बिहान डुल्न निस्केको छोरो साँझ त दुलही लिएर आएको थियो । मानौ कुनै केटी त्यो रात बास बस्न आएकी हो । बाउको तिथि अथवा श्राद्ध त उसले गर्दै गरेन । धेरै पढे–जानेर वा ठूलो विद्वान भएर श्राद्ध नगरेको भए कुरो बेग्लै हुन्थ्यो । उसले त आमाको रीसले, आमाप्रतिको झोँकले बाउको श्राद्ध गरेको थिएन । आमालाई श्राद्धमा मन फुकाएर खाउँला भन्ने आशा पनि मरेको थियो । उनी कसैको घरमा जान्नथिन् । छोरा बुहारीको कुरा काटेको कसैले सुनेन । छोराबाट हेपिएकी आमाले समाजको सामुन्ने मुख देखाउन सकेकी थिइनन् । त्यो कुरो त्यहाँको समाजलाई थाहा थियो ।
त्यो परिवारको घर सानै छ । टायलले छाएको र खरको टाटीले बारेको एक किसिमको छाप्रो हो । त्यसो त पुराना घर सबैका त्यस्तै हुन् तर अचेल मान्छेले सक्नेले धन कमाएर, नसक्नेले भएको जग्गा बेचेर भएपनि पक्की घर बनाउने चलन आएको छ । त्यसै घरको एउटा कोठीमा सन्तोष सुत्यो । त्यो रात पुतली सन्तोष सुतेको कोठीमा पसिनन् । सासुआमा सुत्ने कोठी र त्यस घरको भण्डार भनेपनि जे भनेपनि एउटा सोन्द्रो छ । त्यहाँ एउटा झ्याल्टुङ्ग परेको खटिया छ, त्यसैमा घुप्लुक्क हुन्छिन् । पुतली पनि आमासँगै गएर सुतिन् । आमाको मन झनै फुरुङ्ग भयो । त्यसैदिन बुहारीले त्यस्तरी सोह्रश्राद्धमा जस्तै मीठो खाना खुवाउनु र सँगै सुत्नु, आँबैलाई त के चाहियो र ? भावुक भएर बुहारीलाई च्याप्प काखमा राखेर रोइन् । एकैछिन् गन्थन् पनि भए । पुतलीले आमाको कुरो बुझिन् र एक आखर “म छु नि आमा” भनिन् । त्यो रात जसोतसो बित्यो ।
बिहानै उठेर पुतलीले घरको सबै धन्दा सकिन् र काकुलाई बोलाउन गइन् । पुतलीले भनेपछि काकु पनि खुरुक्क आए । ती सबै कुरा काकुले नै सिकाएको थिए । काकु जोत्न आउनु, आमा भान्सामा पस्नु र पुतलीले बाहिरको धन्दा सक्नु । त्यो घरको लच्छिन् सोझियो । सन्तोष उठेर हेर्दा त घरको तालमेल अर्कै पो देख्यो । बुहारीले आफ्नो नयाँ धोती आमालाई लगाउन दिएर भान्साको जिम्मा दिएकी थिइन् । तर पनि आमाप्रतिको सन्तोषको धारणा कत्ति पनि फेरिएको छैन । सधैजस्तो त्यो दिन प्वाक्क आमालाई वचनको गोली हानेन । सन्तोष कसैसँग चुँ आखर नबोलिकनै गोजामा हात राखेर निस्क्यो । घरको नजिकै तौलिहवा जाने सडक पर्छ । सडकै सडक गजेहडातिर गयो । उ गएपछि काकुले पुतलीलाई भने, “देख्यौ नानी, सन्तोषले आमालाई केही भनेन नि आज ।” पुतली मुसुक्क हाँसिन् मात्र, बोलिनन् । पुतली भित्रको नारी अथवा एक प्रकारको मातृत्व जाग्यो । कालो ढडुलो पुतलीको अनुहार रातो–रातो बान्कीको देखिन थाल्यो । सूर्योदय जस्तै ।
पुतलीको मन खुल्दै जान थाल्यो । लट्टाइको धागो फुके जस्तै । जीवनको लाली क्रमशः चढ्न थाल्यो । ज्यान फराकिलो हुँदै गयो । अनुहारमा कान्ति देखिन थाल्यो । अब त हल्का मेकअप पनि गर्न थालिन् । दिन सोझिएको भान हुन थाल्यो । सन्तोषले अलि पहिले त भूतलेजस्तै काम गथ्र्यो भन्ने पनि सुनिएको हो । आमाको रीसले उसमा सनक चढ्यो । अहिले पनि त्यस्तै हो तर उसका नकारात्मक कमजोरी शून्यतिर झर्न थाले । घरको कामको मेलो त समातेको छैन अथवा कामको डण्डी बसेको छैन । उसले सिन्को नभाँचेपनि त्यो घर बिग्रने अवस्था छैन । पुतलीलाई नै काम पुगेको छैन त्यो घरमा । त्यसमाथि आमाले धेरै काम सघाउन थालेकी छन् । आमाको पनि अब चाल–ढाल नै फेरिएको छ । ती बुढी त्यती राम्री, त्यती सिपालु र मायालु होलिन् भन्ने कुरा कसैले सोँचेकै रहेनछ । आमाको सही सलामत मानसिकताको अवस्था नै त्यो समाजले देख्न पाएको रहेनछ । आमा त्यो घरकी आमा जस्तै देखिन थालिन् । ती सबै कुराले पुतली तन र मनले पुतली जस्तै भइन् । छिमेकी महिलाहरुले अब पुतला भन्न थाले । सन्तोष भने किन मसान्निएको होला ? यस्ता कुरा चल्न थाले छिमेकमा ।
सन्तोष बाहिरफेर लम्फू देखिएपनि पुतलीसंँग भित्र–भित्र सोझिएछ । आमासँग अझै बोलेको छैन र मुखमा हेरेको पनि छैन । आमाले बिचरा ‘बाबु’ भनेर बोलाउँछिन् । ‘बाबु खान आइज’ भन्छिन् । अहँ, उसले सुन्छ, पस्केको भात कपाकप खान्छ । न थप्छ न बढी भयो भन्छ । खाएको थालमा तरक्क चुठ्छ र निस्कन्छ । आमा छोराको सम्बन्ध सुध्रला भनेर नै पुतलीले भान्साको जिम्मा आमालाई दिएकी हुन् । त्यो घरमा सबै कुरा सोझिँदै आएको अवस्थामा छिमेकमा समेत त्यस कुराको चर्चा बढ्दै गएको छ । सन्तोषको भने कुलायन सप्रेको देखिएन अझै । खास गरेर आमाको सन्दर्भमा । उसमा हीनताबोधले गाँजेको हुनुपर्छ ।
समय लम्कँदै गयो । त्यो घर दिनानुदिन त्यसरी नै सप्रँदै गयो । पुतली गर्भवती भइछन् । महिना पुगेछ र छोरै पाइन् । ‘छोरै…?’ हो, चौपारीमा बसेर जे गफ गरेपनि संस्कारले अथवा रहरले पनि पहिला छोरै होस् भन्ने चाहन्छ यो समाजले । छोरो भएनछ भने मात्र छोरी भएको पनि राम्रै हो, देवीको जन्म भयो भन्ने चलन छ । चित्त बुझाउँछन् । चित्त बुझाउने बाटो । छोरो पाउन भनेर गर्भ कुर्ने परम्परा छ । देवी भाकल गर्ने चलन छ । अचेल त अस्पतालमा गएर जँचाउने र छोरो रहेनछ भने त्यो गर्भ रद्द गर्ने चलन पनि बढेको छ । ती सबै कुरा जानेर पुतलीले छोरो पाइदिएकी होइनन् । छोरै जन्म्यो त के गर्ने ?
उता पुतली, सुत्केरी बस्न माइत जाने परम्पराको बाटो हराएको कुरा त भन्नै बाँकी छ । पुतलीको बिहे भएकै बर्ष उता उनकी आमा बिरामी भइन् र अर्की छोरीकहाँ रामापुर गएर बसिन् । अरु छोरीहरुको पुतलीकै शैलीमा बिहे गरेर सकिएका थिए । अलि सानी कान्छी हो । उमेरले सोह्र मात्र काटेको थियो, देख्दा भने जमडल्ल । भित्रीगाउँको कुरो हो, अरु ज्वाइँहरुले टाकटुक पारिदिए । जग्गा पनि बेचेर उतै ब्यवस्था गरिदिए क्यार ? भक्तौलियाको माइतघर हरायो पुतलीको । त्यो कुरो सन्तोषलाई थाहा थियो । त्यसैबेला आफै बिरामी भएकाले ससुरालीतिर हेर्न भ्याएन । आफूले आफ्नै आमाको स्याहार त परै जावस्, बोलीले समेत गोली हान्दै गरेको अवस्थामा छ । हाल सबै कुरा सोझिएर सुन्दर घर भएको अवस्थामा, उसकै साडुभाइले उनकी आफ्नै आमा र सासु आमालाई संगै राखेर पालेका छन् । यो कुरा पुतलीले गरेपछि सन्तोषले एकपल्ट आँखा मिच्यो र लामो सास तान्यो । कता–कता च्वास्स घोँच्यो मनमा । तर पनि कुनै जवाफ फर्काएन । परिवर्तन देखाएन ।
सन्तोष पहिले पनि निकै बोलक्कड हो । अहिले पनि घरमा आमासँग मात्र पाप पसेको हो बाहिर उस्तै हो । टाठो पनि हो तर उल्लु खालको टाठो हो । झगडा–रगडा गर्ने टाठो । त्यो दिन पनि उ लुरुक्क उठेर गयो, कर्महाना पुगेछ । कता–कता अल्मलिएपछि फक्र्यो र गजेहडा बजारतिर आयो । बाबुरामको मेडिकलमा मान्छेको भीड रहेछ । केको भीड होला भन्ने सोँचेर सन्तोष त्यहाँ पुग्यो । त्यसै गाउँको एकजना लम्फुले आमाले बेलामा भात खान दिइनन् भनेर हो वा त्यस्तै कुरामा रिसिएर आमाआई चिरुवा दाउराले हानेछ । ती महिलाको बायाँ निधारमा ठुलै घाउ लागेको थियो । उनी सामान्य बेहोशमा थिइन् । सबैले उनको छोरालाई पनि समातेर ल्याए । त्यस लम्फुलाई सबैले झपारे । थुके । भन्नु नभनु भने र चौकीमा लगेर थुन्ने कुरा गरे । त्यस भीडमा धुसेर त्यो दृष्य हेरेको सन्तोषको मनमा अथवा मुटुमा, तताएर रातो पारेको फलामको सुइरो रोपेको जस्तै घोँच्यो । रोपियो । तत्कालै उसको मनको चक्का सुल्टो घुम्न थाल्यो । उसले ती घाइते महिलालाई आफ्नै आमा मान्यो । र त्यो चिरुवा दाउराले आमालाई हिर्काउने लम्फु छोरालाई आफु नै हो भन्ने ठान्यो । उसकी आमालाई उसले गरेको अत्याचार एकाएक महसुस ग¥यो । सन्तोष त्यहाँबाट सरासर घरमा गयो ।
घरको आँगनमा सासु बुहारी बसेका थिए । नवजात शिशुलाई डफलामा सुताइएको थियो । काकु त्यसैको नजिकै गोठको छेउमा रहेको खटियामा बसेर ती सबै कुरा हेरेका थिए । उताबाट रन्केर सन्तोष पनि घरमा पुग्यो । उ घरमा पुगेको कुरामा कसैले पनि चासो राखेनन् । कता गएको थियो ? त्यो कुरा पनि थाहा थिएन । पत्नी र आमाको नजिकै पुग्यो र ठिङ्ग उभियो । यस्सो घोरियो पनि र भन्यो, ‘आमा !’ आमाले एकाएक सपना देखिन् । सन्तोषले फेरि ‘आमा’ भन्यो । आमा बोलिन् । उसले आमाको खुट्टा समात्यो र ढोग्यो । अनि बिगतमा आमाप्रति गरेका कमजोरीको माफी माग्दै त्यहीँ थचक्क बसेर रोयो । आमाको पनि मुटु फुलेर ढक्क भएछ । आँखामा आँसु र ओँठमा मुस्कान एकै चोटी फुस्क्यो । छोराको मुखमा हेरेर रोइन् –मुस्कुराइन् । तर बोल्ने वाक्य निस्केन । त्यसरी धेरैबेरसम्म हेरिन् । पुलली….., उनको ला…मो प्रयास एकातिर थियो नै । तर, सन्तोषको चेतनाको अर्कै गोली जो बाबुरामको मेडिकलमा ठोक्कियो । उसको खोपडीमा लागेछ क्यार ? पुतलीले सबै कुरा सोँच्न नपाउँदै बररर आँसु खसालिन् । आखिर उनकै पति हो सन्तोष, जीवनको आधार हो सन्तोष । काकु पनि त्यो लीला देखेर चखमन्न परे । उनको पनि मन रमायो । काकुले पनि अंगोछाले आँसु पुछे । “मोर ते बनाक् जेहरा कैसन कैसन भइल…।” (मलाई त कस्तो कस्तो लाग्यो) भने ।
दिन छक्काल भइसकेको थियो तर, बिहानको भात खाएका थिएनन् । उनीहरु ज¥याक–जुरुक उठ्दा चारो खाँदै गरेका परेवा भुरुर्र उडे र आ–आफ्नो गुँडमा गए । चल्लाहरु माउले चारो ल्याएर खाउँला भनेका हुँदाहुन् । माउ गुँडमा पस्ने बित्तिकै मुख बाएर आँ–आँ गरे । पहिले पोथी माउले चारो खुवाई, त्यसपछि …।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)