
सौतेनी आमा भित्रिएपछि बुबा पनि सौतेनीजस्तै हुँदारहेछन्
कथाः अलग आरती
रजनी खड्का
शिक्षक, अक्षरा स्कुल, काँडाघारी, काठमाडौं ।
‘जसले जीवन जिउने पे्ररणा हरबखत दियो, हो उसैले आज जीवनका हरेक पल जीउँदै जलाएर छाड्यो’, आरती भन्ने गर्थिन् ।
‘जीवनको सबैभन्दा भयानक पल कुन हुन्छ ? त्यो पल जहाँ आफ्नै भनिएकाहरुबाट घात हुन्छ । तिनैबाट विश्वास रुपी झिनो धागो अनायासै चुडाइदिन्छ’, यसो भन्दै अाँखाभरी आँसु पारिरहेकी आरतीसँग झट्ट मेरो आँखा ठोक्कियो ।
उनले आफ्नो आँसु लुकाउन यताउति हेरेको बहाना गरिन् ।
आरती पढाइमा निकै अब्बल छिन् । उतिकै हँसिली र मिहिनेती पनि । निकै सालिन, भद्र र हंसमुख भएकाले झट्ट हेर्ने बितिकै उसको पीडाबारे कसैले अनुभुति त परै जाओस अनुमान समेत गर्दैनथे ।
आरती आमाबुबाको एक्ली छोरी । निकै माया पाएर हुर्केकी । रहरलाग्दो थियो उनको परिवार । सबैले उत्तिकै एकअर्काप्रति निकै सपे्रम व्यवहार गर्थे । आमा सरकारी जागिरे । बुबाको राम्रो व्यापार व्यवसाय । छोरीलाई गर्नुपर्ने कुरामा केही कमी गराएका थिएनन् ।
दैवको लीला पनि जान्नै नसक्ने । कसैको प्रगाढ माया र पे्रम देख्नै नसक्ने । सबैले इष्र्या गर्ने परिवार क्षणभरमै तहसनहस बनाएको छ । कार्यालय प्रयोजनको लागि उपत्यकाबाहिर जाँदा सडक दु्र्घटनामा आमाको मृत्युले आरतीलाई टुहोरो बनाएको छ ।
उनले एउटी आमामात्र नभएर बन्द आँखाले विश्वास गर्ने एउटी साथी पनि गुमाएकी छिन् । आरतीको खुशी कहिल्यै नफर्किने गरी आमालाई लिएर गयो । सबै खुशी चुँडिएको छ, सदाको लागि अन्धकार छाएको छ उनको घरमा ।
भर्खरै १२ पास गरी बीबीएस भर्ना भएकी आरतीले सफलताको शिखर चुमेको हेर्ने आमाको सपना अधुरै रह्यो । आमाको मृत्यकोु केही दिनसम्म त उनीहरुको समय आमाको यादमा पिरोलिँदै बित्यो ।
बिस्तारै आरती र उसको बुबा पनि आफ्नो काममा फर्किने तयारीमै थिए । आरतीले आमा गुमाएको लगभग चार महिनामात्र भएको हुँदो हो, ‘आरतीको बुुबाले दोस्रो विहे गरे रे’ भनेर गाइँगुइँ सुनेँ । सारै नरमाइलो लाग्यो । मैले आमासँग रुँदै भने, ‘आरतीको बुबाले त अर्को बिहे गर्नुभयो रे !’
सोचेकी थिएँ आमा छक्कै पर्नुहुन्छ तर आमाले सहज रुपमै भन्नुभयो, ‘घर सम्हाल्न पनि अर्को विवाह त गर्नु परिहाल्यो नि ।’
आमाको कुरा काट्न मैले सकिनँ तर यता भित्रभित्रै विद्रोहको ज्वारभाटा !
हैन ! यी पुरुषहरु अलिकति पनि पीडा एक्लै सहन नसक्ने ? व्यवहार एक्लै सम्हाल्नै नसक्ने ?
हरेक पाइलामा एउटी नारीको नै जरुरत पर्ने ? कठै ! कस्तो समाज हाम्रो । यदि आरतीको आमाको ठाउँमा बुबाको मृत्यु भएको भए घर सम्हाल्ने सहयात्री खोजिन्थ्यो होला उनको आमाको लागि ?
के यस समाजका कथित पात्ररुपी मेरी आमालगायतले यस समाजले आरतीको आमाको अर्को विवाहलाई सहजै स्वीकार गर्नुहुन्थ्यो होला त ? अहँ कदापी हुँदैनथ्यो । उनले आफ्नो, जागिर, घरपरिवार, बालबच्चा सबैको जिम्मेदारी आफैले लिनुपथ्र्यो ।
मनमा यस्तै कुराहरु सोच्दासोच्दै कति बेला निदाएछु थाहै भएन ।
केही हप्तापछि हाम्रो कलेज सुरु भयो । आरती र म स्कूलदेखिेकै साथी भएकाले हामी दुवैै धेरै खुशी थियौँ । निकै मिहिनेत गरी पढ्थ्यौँ पनि । नजानेको कुराहरु छलफल गर्न राती अबेरसम्म म्यासेन्जरमा कुरा गरी भोलिपल्टको कक्षाको लागि तयारी गथ्र्यौँ ।
हामी दुवै राम्रो, पढ्ने विद्यार्थीमा गनिन्थ्यौँ । यसरी हाम्रो पहिलो सेमेस्टर सकिइसकेको थियो । नतिजा पनि राम्रो आएकाले हामी यसैलाई निरन्तरता दिन केन्द्रित थियौँ ।
‘सधैँ समयमा आउने आरती आज कलेज आइनन् । उनले आज कलेज नआउने विषयमा केही पनि भनेकी थिइनन् । के भएछ आरतीलाई ? किन नआएकी होलिन्, बाटोमा कतै अप्ठ्यारोमा पो परिन् कि बिरामी पो भइन् ?’। म यस्तै कुरा सोच्दासोच्दै हराएछु ।
यतिकैमा कलेजमा अरु विद्यार्थीहरुको आवाजले म झसङ्ग भएँ । म पनि कति धेरै सोच्दोरहेछु । खल्लो मान्दामान्दै त्यस दिनको कक्षा सकियो र म पनि घरतर्फ लार्गेँ । घर पुगेपछि उनलाई सैयौँ पटक कल गरेँ तर उठेन ।
भोलिपल्ट कलेज पुग्दा आरती आइसकेकी रहिछन् । तेजवान्, हँसिली आरतीको अनुहार सदा जस्तो थिएन । निकै मलिन थियो । हामीबीच केही कुरा हुन नपाउँदै कक्षा सुरु भइसकेको थियो । त्यसैले हामी कक्षातर्फ नै लाग्यौँ । निकै ध्यान दिएर पढ्ने आरती कक्षामा कुनै कुराको वास्ता नगरी टोलाइरहेकी थिइन् । उनले न कुनै किताबकपी ब्यागबाट निकालिन् न त कुनै कुरा टिपोट गरिन् । एकोहोरोमात्र भइरहिन् । उनको यो अनौठो व्यवहार देखेर म सोचमग्न भएँ ।
आरती कक्षाबाट पनि छिट्टै बाहिर निस्केर कलेज अगाडिको चौरमा बसिरहेकी रहिछिन् । म आरती नजिक पुर्गेँ । आरतीलाई उनको पीडाबारे प्रश्न गरेर म उनको मन दुखाउन चाहन्नथेँ तर उनले आफूमा भएको पीडा सेयर गरे पनि उनलाई केही हलुका त हुन्थ्यो नि भन्ने पनि लाग्यो । म मौन थिएँ ।
यतिकैमा आरतीले भनिन्, ‘आज कतै एकैछिन बसौँ न । मलाई छिटो घर जानै मन छैन ।’
आरतीको यस्तो कुरा सुनेर झन् म त छक्क परेँ । सधैँ घर समयमा जाने आरतीलाई के भएछ ? पक्कै केही छ भन्ने लाग्यो । अब के गर्ने भन्ने मलाई दुविधा भयो । ‘हुन्छ’ भनौँ भने ढिलो घर पुग्दा आमाको गाली खाइने, ‘हुँदैन’ भनौँ भने आरतीको मन दुख्ने । तैपनि ‘भैहाल्छ नि’ भन्दै आरतीको पछि लागेँ ।
चैत वैशाखको बेला भएकाले गर्मी निकै छाएको थियो । बेलाबेला सुसेल्दै आएको अत्यासलाग्दो हुरीबतासले पनि छेउमै रहेको रुखले नै किचिदिन्छ झैँ लाग्थ्यो । प्रकृतिले चुनौती दिए पनि आफ्नो मन मिल्ने साथीसँग भेटेर बस्न पाउँदा रमाइलो नै लागिरहेको थियो ।
छेउमै एउटी दिदीले ठेलामा चटपटे र मकै बेच्दै हुनुहुन्थ्यो । सँगै अधबैँसे उमेरको केटा आफ्नो छोरीसँग हास्दैँ खेल्दै थिए । ती दिदी पनि बेलाबेलामा बाबुछोरी सँगै पुग्थिन् र मान्छे आउँदा दुबै जना सँगै जान्थे र एकअर्कामा कुरा गर्दै रमाउँथे ।
आरतीले गम्भिर हुँदै भनिन्, ‘हेर न कति सुन्दर र सुखी परिवार है दिपा ? दिनभरी सँगै मिलेर काम गर्छन्, साँझ सँगै घर फर्कन्छन् । ती छोरी पनि कति भाग्यमानी ! आमाबुबा दुवैको अमूल्य माया साथ, सहयोग त पाएकी छ, गरिब भएर के भो त ?’
गहभरी आँसु लिँदै आरतीले भनिन्, ‘आज मेरी आमा पनि म सँगै भएको भए मलाई पनि कति धेरै माया दिनुहुन्थ्यो होला नि ! हरेक जुनेली रातको उज्यालोमा आमाको यादमा आकाशतिर हेर्दै कतै आमासँग दोहोरो कुरा गर्न पाइन्छ कि भनेर तारा नझरुञ्जेल कुर्नु त पर्दैनथ्यो । बिहान कलेजबाट फर्कदा छोरी भोकाएर आइ भनेर मीठामीठा खानेकुरा बनाएर राखिदिनुहुन्थ्यो होला । घर पुग्नेबितिकै सबैले खाइथालमै चुठेर छाडेका जुठो सम्हालेर मात्र खानुपर्ने त थिएन होला नि ।’
‘उफ ! घाममा थाकेर घर पुग्यो, असरल्ल भएको किचेन, बिहानभरीका फोहोरमैला तह लगाउने, कोठा सफा गर्ने काम गर्दा गर्दै खाजा तयार गर्ने बेला हुन्छ । खाजा खाएको भाँडा सफा गर्दागर्दै बेलुकाको खाना बनाउने हतारो । यस्तै यस्तै मेरो दिनचर्या । अनि म कसरी पढुँ दिपा ? यत्रो काम गर्दा मेरी आमा भएको भए कति खुशी भएर गाह्रो भयो कि भन्दै टाउको मुसारिदिनु हुन्थ्यो होला । खै त ! अब यि सब कुरा कल्पनामै सिमित रहे ।’
यति भन्दै आरती भक्कानिएर रोइन् । म पनि बोल्नै नसक्ने भएँ तर पनि साहस बटुलेर भनेँ, ‘तिमीजस्तो मान्छेले यसरी भावनामा हराउनु हुँदैन । तिमीले अझै मिहिनेत गर्नुपर्छ । आमाको सपना पुरा गरेर देखाउनुपर्छ । कमसेकम तिम्रो साथमा बुबा त हुनुहुन्छ ।’
मेरो यति कुरा सकिन नपाउँदै आरतीले आँसु पुछ्दै भनिन्, ‘दिपा, बुबा त हुनुहुन्छ तर नामको मात्रै । आमा मर्दा बुबाले आमाको लास छुँदै चिताको खरानी लिएर भन्नुभएको थियो कि मलाई जीवनभरी आमाको अभाव महसुस गराउन दिनेछैन । आमाको सबै सपनालाई पूरा गराउनेछु भन्दै छाती पिटीपिटी रुनुभएको थियो तर ती सबै कुराहरु झुटो सावित भैसकेका छन् । केही वर्षको अन्तरालमा नै बुबाको मप्रतिको हेराइले नै कायापलट मारिसकेको छ । हिजो मेरो सपना पुरा गर्न राम्ररी पढ्नुपर्छ भन्ने बुबा रातभरी बत्ती बालेर बस्छेस् भनेर सुनाउनुहुन्छ ।’
‘आमाले छोडेर गए पनि बुबा त हुनुहुन्छ नि भनेर ठुलो भरोसा लाग्थ्यो तर सौतेनी आमा भित्रिएसँगै उहाँले मप्रति गर्ने दुव्र्यवहार र तुच्छ वचनले मेरो टुसा पलाएका रहरहरु छियाछिया भएका छन् । आफ्नी कान्छी श्रीमतीकोे क्षणिक खुशीको लागि छोरीको भविष्यमाथि खेलवाड गर्ने बुबाप्रति म कसरी विश्वास गर्न सक्छु ?’
‘आमा मरेर सौतेनी आमा भित्रिएपछि बुबा पनि सौतिनीजस्तै हुँदारहेछन् । सुनेकी मात्र थिएँ यस्ता कुरा तर मरो जीवनमा सत्य साबित भैदियो ।’
आरतीले यी सब कुरा सुनाइरहँदा मेरो मन पनि छियाछिया भयो । साँच्चै ! आरती कति धेरै पीडा लुकाएर पनि हाँस्न सक्दिरहिछन् । मानिस हाँस्दैमा कहाँ खुशी हुँदारहेछन् र ? सयौँ चोट सहेर पनि रंगमञ्चको पात्रजस्तै मञ्चित हुन सक्नुपर्दो रहेछ । केही समय बाहिरी आवरण हेरेर मान्छेको मूल्याङ्कन कहाँ गर्न सकिने रहेछ र ?
आरती मभन्दा धेरै सहनशील नारी रहिछिन् । आफ्नो सफलताको शिखरमा पुग्नलाई कैयौँ अवरोधलाई स्वीकार्दै आफ्नो कर्तव्यपथमा अघि बढिरहने, मनमा अनेकौँ पीडा भए पनि खुशी आफै भित्रबाट खोज्न सक्ने ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)