
रातो माम
लघुकथा
अम्बिका खरेल उप्रेती
विराटनगर-१२
असार १ गतेदेखि पन्ध्र दिनलाई विद्यालयले बर्खे बिदा दियो । गाउँमा असार साउनमा कामको चटारो धेरै हुने भएकोले लखन गाउँ जान तयार भयो । उदय घरबेटी बाका छोराले पनि गाउँ जाने रहर गरे । उदय र लखन एउटै विद्यालय पढ्थे । लखन असल, पढाइमा पनि उदयभन्दा अब्बल भएकोले उदयलाई गाउँ जानबाट रोकेनन् बाले ।
बिहान सात बजेको गाडीमा चढे ।केर्खाबाट जङ्गलै जङ्गल १ घण्टा उत्तरतिर हानिएपछि चुलाचुलीस्थित घरमा पुगे । खोरमा केही बाख्रा ओक्राईरहेका, गाई पराल चपाईरहेको, आँगनमा माउसँगै चल्लाहरू चरिरहेका थिए ।कुकुर कुईँकुईँ गर्दै लखनको नजिकै आएर लडीबडी गर्न थाल्यो । बुबा खेतमा खनिरहेका थिए भने आमा बारीमा बीउ उखाल्दै थिइन् । दिदी भनेर लखनले आवाज दियो ।
ए लखन, भोलिदेखि रोपाइँ छ । राम्रै भयो बा आमा बारी तिरै हुनुहुन्छ । खाना खान आउने बेला भो, भित्रै बस न । अनि उहाँ चाहिँ ..?
घरबेटी बाका छोरा, हामीसँगै पढ्छौँ । गाउँ हेर्न आएका ।
ए साथीलाई कोठामा लगेर राख । भरे यसो गाउँ सबैतिर घुमाइ दिनु ।
आँखाका चालले लखनलाई भान्सामा बोलाई दिदीले ।
किन दिदी ?
मंसिरसम्म यसपाली चामलले नकाट्ने भएर अस्तिदेखि मकैका चामल खाँदै छौँ । के गर्नु अर्कै पकाई दिनु कि त्यहीँ खान्छौ । बीउ उखेल्न नि जानू छ ।
हुन्छ दिदी जेछ त्यहीँ गर्नु न ।
पन्ध्र दिनको बिदा सकेर लखन र उदय सहरतिर फर्के। उदय पोटिलो भएको थियोे ।
साँच्चै मामु, गाउँ गाउँ भन्थे कति रमाइलो हुँदो रहेछ । त्यहाँका खानेकुरा कुरै छाडिसो । हजुर फास्टिङमा खाईसिन्छ नि रातो माम त्यो सधैँ खाँदा रहेछन् । दहीको लस्सी, घिउ, फर्सीको साग, आँप, अम्बा …. आहा ! त्यसै लखन ट्यालेन्ट भएको रहेनछ नि ।
लखनले उदयको अनुहार नियाल्यो । पन्ध्र दिन साथीले भरपुर आनन्द गाउँमा लिएको महशुस गर्यो । रातो मामभित्रको बाध्यता चालै पाएन ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)