बिहे गरेको सात वर्षमा बल्लबल्ल नानी हुनेवाला थियाे

कथा: फ्याट्टै ज्यान गएछ

देवराज शर्मा कोइराला
दार्जीलिङ, भारत ।

श्रीमतीको सीजर गर्नुपर्ने भयाे । अस्पतालमा भर्ना थिईन् । बिहे गरेको सात वर्षमा बल्ल बल्ल नानी हुनेवाला थियाे । अफिसमा बजेटले गर्दा एकक्षण फुर्सद हुन्थेन । बल्ल तल्ल काम फर्स्याएर अस्पताल दौडें । बाटाे जाम उस्तै । धन्न माेटरसाइकल सानातिना चेपचापमा पनि छिर्छ । आत्तिँदै अस्पताल पुग्दा श्रीमतीलाई अपरेसनका निम्ति लान तयार रहेछन् । साली र सासुआमा आत्तिसक्नु भएको रहेछ । म पुगें । मलाई देखेर रिसाउँदै भए पनि शान्तिको सास फेरेकाे थाहा पाएँ ।

“कस्ताे फिल भइराको छ सुमी अहिले तिमीलाई ?” सुमीत्राको नजिकै मुख लगेर साेधें ।

“ठीक छ हजुर, डर लागि रा छ ।”

“डराउनु पर्दैन, केही हुँदैन । दिनमा हजारौं महिलाहरु सिजरिङ गर्छन् । तिमी त झन यति ठूलो अस्पतालमा छौ । केही सुर्ता नगर। भरे तिमी फर्केर आउँदा तिम्राे काखमा एउटा भुकुमुले छाेरा हुनेछ । ढुक्कसँग जाउ सुमी।” मैले सान्त्वना दिनलाई भनें ।

” आ…..! हजुर पनि । यहाँ आफुलाई कत्ति डर र चिन्ता लागिराछ, हजुर भने जिस्किनु मात्र हुन्छ । भरे म फर्केर नै आइन भनें नि, के गर्नुहुन्छ ?”

“धत् पागल, नचाँहिँदाे नबाेल है । के भनेको त्यस्ताे ? कस्ताे कस्ताे कम्पलिकेटेड केस त जाती हुन्छ । तिम्राे त के भा छ र ? सब नर्मल त छ नि ।” सुमीको कुराले मनमा ढ्याँङ्ग्राे बजे पनि मन बुझाउन यति चैं भनें ।

सुमीलाई लिन नर्स र वार्डबाेईहरु आए । हामी सबैले उनलाई स्ट्रेचरमा चढाएर अपरेसन थिएटरको दैलाेसम्म लग्यौं । सुमी धेरै डराएकी थिइन्, मैले पनि डराउँदै बिदा गरें ।

साँच्चै सुमीत्रालाई केही भयाे भने मेराे के हालत हुन्छ हाेला ! मेरो दिनचर्या सुमी बिना कसरी चल्छ हाेला ? सानू छँदा घरमा केही काम गर्नु परेन । गर्न लगाएनन् । गर्न दिएनन् पनि । पछि हस्टेलमा बसेर पढियाे, केही गर्नु परेन । त्यसपछि बिहे गरियाे, बिहे गर्नासाथ जागिर पनि पाइयाे । राजधानीमा बस्ने ठाउँ पनि थिएन, दुईचार दिन ससुरालीमा नै बसौं अनि डेरा खाेजेर सरौंला भन्दा भन्दै सात वर्ष बितेछ । दुई छाेरीमात्र भएको मेराे ससुरालीमा ससुरा बाकाे निधन पछि घरमा बस्ने लाेग्ने मान्छे नै कोही भएन, सबैले उतै बस्ने सल्लाह र सुझाउ दिए । बसिराछु घर ज्वाइँ भएर । केही काम गर्नुपर्दैन । सब थाेक सुमीले गरिदिन्छिन् । सुमीले नभ्याए साली छन् शीला । उनले पनि नभ्याए सासू स्वयं लाग्नु हुन्छ मेराे खातिरदारीमा । आनन्द छ मलाई ।

म घरमा भएका हुनाले तलका पसले र किराईवालाहरुले समयमा बहाल दिन्छन्, कसैले हेप्न सकेको छैन भन्ने ठान्छन् मेरा ससुरालीहरु। म त्यस्तै बाहिर फेरका काम कुरा हेरिदिन्छु बस्। आनन्द छ। सम्मान छ। आदर छ इज्जत छ ।

दुई सालअघि मेरी बहिनी कजेल पढ्न आउँदा हामी सँगै बसेकी थिई, तर यसपाला भाइ पनि आयाे । अब सँगै राख्नु उचित होइन भनेर काेठा खाेजेर राखिदिएको छु । एउटा स्कुटी किनि दिएको छु, दुवै त्यस्मै कलेज आइजाई गर्छन् । म सके सँधै नत्र दुई दिनमा त्यहाँ पुगेर आउँछु । सामान्य छ सबै ।

अहिले भाइ बहिनी यतै भएको भए मलाई धेरै सजिलाे पर्ने थियाे हाेला, तर उनीहरु गर्मीको बिदामा घर गएका छन् । बुबा बिरामी भएर हप्तामा दुई पटक अस्पताल लानुपर्छ भन्दै थिए भाइ बहिनी । आमा झन दीर्घ राेगी । कतिबेला सास फुलेर गाह्राे हुने हाे थाहा हुँदैन । काम गर्ने दिदीको भरलेमात्र नहुने । मैले चाहेर पनि भाइ बहिनीलाई अहिले बाेलाउन सकिन ।

“भिनाज्यु लिनु चिया पिउनु ।”

शीलाले क्यान्टीनबाट ताताे चिया ल्याइछन् ।

“दिउँसाे के खानुभाे त हजुरले ?” सालीले साेधिन् ।

अहिले मलाई थाहा भयाे अाज मैले काम छिटाे सक्ने हतारमा खाजा त के र चिया समेत पिएको रहेन छ । म‌ले टाउको उठाएर हेरें, मेरी आफ्नै बहिनी जत्रै शीला कति शान्त र सुशील छन् । यिनले बि० ए० सक्ने बित्तिकै बिहे गरिदिने चाँजाे मिलिसकेको छ । अब उनको रिजल्ट आएपछि उनको बिहेको तयारीमा लाग्नु परेको छ मैले । साली हैनन् बहिनी हुन् शीला मेरी । साह्रै साेझी र सुबानी छन् बरा ।

“यसले कसरी घर चलाउली ज्वाइँ साहाब, पीर लाग्छ मलाई त।” सासू आमा सँधै सुर्ताउनु हुन्छ ।

“लिनाेस् समाेसा पनि ल्याई दिएकी छु भिनाजु, खानाेस् ।”

शीलाले कागजमा पोको पारेको समोसा मतिर बढाईन् । मैले चियाको कप सँगैको चौकीमा राखेर दुईहात थापें । चारवटा समोसा र एउटा पाउचमा चटनी थियो ।

चारवटा त धेर हुन्छ नि नानू , मुमालाई पनि यतै बोलाउन ।” सासुआमा हामीले देख्ने गरि अर्कापट्टि बस्नु भएको थियो । सायद शीलाले ईशारा गरिन् क्यार, सासू आमा उठेर आउनु भयो । सँगै खायौं सब‌ले ।

खल्तीमा मोबाईल बज्याे, भाइले गरेको रहेछ- “आमा साह्राे भएर अस्पताल लाँदैछु दाइ । त्यता सबै ठीक भए चाँडाे आउनु होला ।” सारांश यति थियो त्याे कुराकानिको ।

पोहोर तिहारदेखि म घर जान भ्याएको थिएन । आमा कति सुर्ताउनु भयो होला ! बुवालाई यता ल्याएर अलि ठूला डाक्टर देखाउनु पर्ने, खै कहिले कसरी भ्याउने र ? आए पनि म कहाँ बस्न मान्नु हुने हैन। भाइ बहिनीको सानू कोठामा कसरी स्याहार पुग्ला र ? खै के गर्ने गर्ने, कता छाड्ने कता सँगाल्ने ?

निक्कै लामु भयो सुमीको अपरेसन । हामी बाहिर व्यग्र भएर अपरेसन गर्ने कोठाको ढोकातिर हेरेर कुरेको पनि तीन घण्टा बित्यो । म घरिघरि उठदै ढोकाको सानू आँखीझ्यालबाट भित्र चिहाउन पुग्थें । भित्र बिरामी सुताउने हरिया च्यादर लगाइएका रित्ता रित्ता पलङमात्र देखिन्छन् । न कोही आउँछ, न कोही बोल्छ । सुनसान छ सबतिर । अरु बिरामीका आफन्तहरु पनि अलमल्ल पर्र बसिरहेका छन् । मन त्यसै त्यसै आत्तिन्छ।

साँच्चै सुमीलाई केही त भएन ? किन यति अबेर भइरहेछ भित्र ! दैलाे घचेटेर भित्र पसुँ जस्तो झोंक चल्छ घरिघरि ।

बल्ल तल्ल एउटी नर्स बाहिर आइन् । हतार हतार उनलाई केही साेध्न खोज्यौं, उनी चुपचाप एकतिर गइन् । उसरी नै हतारिँदै आइन् पनि ।

“सिस्टर कस्तो छ सुमीत्रालाई ?” नसोधी सकिन ।

“को सुमीत्रा ? सत्र नम्बर, ठीकै छ राम्रै छ ।”

यति भनेर भित्र पसिन् र हराइन् ।

हामी अर्को आधा घण्टा यसरी नै छट्पटाइरह्यौं । बल्ल तल्ल ढोका खुल्याे, स्ट्रेचरमा सुमी थिइनन् । दोस्रो ल्याए उ पनि सुमी थिइनन् । निक्कै बेरको अन्तरालका तेस्राे स्ट्रेचर बाहिर आयो । पूर्ण अचेत अवस्थामा थिईन् मेरी सुमी । अनुहार पनि पहेंलो न पहेंलो, देखेर मेरो हंशले ठाउँ छाड्याे ।

“बधाई छ बहिनी दिदीको छोरा भयाे। अब एकघण्टा जतिमा होश आउँछ। आज आई० सी० यु० मा राख्नुपर्छ । बच्चो ठिक छ, सुर्ता नगर्नु । एकछनमा ल्याएर दिन्छन् अनि हेर्नू होला ।”
सिस्टर यति भनेर सरासर आई० सी० यु०कोठातिर स्ट्रेचरको पछि पछि लागिन् । म पनि पच्छ्याउँदै भेटेर सोधें – “अहिले सुमीलाई कस्तो छ सिस्टर ?”

उनले- “\राम्रै छ, केही नहुनुपर्ने हो, तर धेरै डराएकी थिईन् । यति भनेर भित्र पसिन् । पस्दा पस्दै “अहिले बाहिर नै बस्दै गर्नु होला, होश आएपछि भेट्न मिल्छ ।” यति भनेर भित्र पसिन् ।
छाेराे भयो रे । आहा..! म पनि खब छोराको बाबू भएँ त ! एक खुडकिलो चढ्यो त मेरो पनि स्ट्याटस् ! कस्तो होला मेरो छोरो ? नाम के राखुँ होला ? कस्तो निक्लेला त त्यो केटो ? आदि आदि अनेक कूतुहलले दिमाग खल्बलियो । सुमीको चिन्ता अर्कातिर छँदैछ ।

आमा र शीला बच्चोलाई न्याना कपडा किन्न गइसकेका थिए । म एकलै करिडोरमा घरि आई० सी० यु० तिर घरि अपरेसन थिएटरको दैलोतिर अोहोर दोहोर गरिरहेको थिएँ ।

धन्न कुमार आएछ । कुमार मेरै गाउँको साथी र अहिले जागिर पनि एउटै अफिसमा छ । स्कुल पढ्दादेखिकै अटुट सम्बन्ध छ हाम्राे ।

“अफिसबाट किन नभनि हिँडिस् । बुडाले खोज्दै थिए । भोलि बिहान आएर भेटोस् भनेर थर्काएका छन् है। भनेर निस्कनु पर्थ्याे नि गधा ।” उसले हाकीमको सन्देश सुनायो ।

“हिजाे पनि श्रीमतीलाई अस्पताल भर्नागर्नुछ भन्दा, चार बजेपछि जानु, यस्तो कामको चटारोमा कहाँ घरायसी कामको भाँजाे तेर्साएको, पर्दैन अहिले जानु,

“भनेर हप्काएका थिए । त्यसैले आज आफ्नु काम सकें हिँडें नि । यस्तो पर्दा पनि के मरिहत्ते गर्नु त्याे जागिरको ।” गलत ठाउँमै भए पनि कुमारलाई आफ्नु स्पष्टिकरण दिएँ ।

एकक्षणमा सासुआमा र शीला पनि आइपुगे । फेरि अर्को एकक्षणमा नर्सले एउटा थाङ्गनामा गुट्मुटाएको सानू पिउसो मेराे हातमा दिएर भनिन् – “ल बधाई छ दाइ,यही हो तपाईँको छोरो ।”

मेरो हातमा सानू मासुको डल्ला थियो। अरु बच्चाहरु जस्तै सामान्य रातो । अलिअलि चलमलाएको जस्ताे, चिम्म गरेका आँखा घरिघरि उघारेर हेर्ला जस्तो ।

मेरो मोबाइल बज्यो । शीलाले छाेरो तानिन् मैले फोन उठाएँ ।

“दाइ भाइको एक्सिडेन्ट भयो रे। ट्रकले ठक्कर दिएर चक्काले पेल्याे रे । सिरियस अवस्थामा अस्पतालमा भर्ना छ । घरमा बुवा बिरामी, आमा पनि अस्पतालमा । लु तुरुन्तै आउनुप-याे दाइ, म एकलै छु ।” बहिनीको फाेन थियो ।

“लु वरपर हार गुहार गरेर चाँजाे मिलाउँदै गर, म अहिले नै निस्कन्छु । न आत्तिनु, केही हुँदैन, म आइपुग्छु ।”

मेराे होश हवास हरायो । बज्र पनि कसरी एकैचाेटि बज्रेको !

कुमारलाई सम्पूर्ण स्थिति बताउँदा म पसिनाले लथपथ भिजेको थिएँ ।

“लु ज्वाइँ साहाब, ढिला नगरी घर जानोस् । यता हामी सम्हाल्छौं । तपाईं चाँडाेभन्दा चाँडाे पुग्नाेस् । ल यो पैसा पनि लिएर जानोस् ।”
सासुले एकमुठा पैसा दिनुभयो । खल्तीमा राखेर हेल्मेट समाएँ ।

“एकलै कसरी जान्छस्, ल हिँड् म पनि जान्छु । तँ बाईक चलाउने अवस्थामा छैनस् । खै चाबी र हेल्मेट मलाई दे ।” कुमारले यति भनेर हेल्मेट खोस्यो ।

हामी हावाको गतिमा गाउँतिर साेझियौं ।

“उता पुगेर के हुन्छ हुन्छ, खाना बाटैमा खाएर जाउँ है ।” कुमारले प्रस्ताव राख्यो । मलाई खान मन कसरी हुनसक्थ्याे र -“म खान्न तँ खा” भने ।

“त्यसो भनेर हुन्छ र, सोझै घर गइने होइन, गए पनि मध्य रातमा तँलाई कस्ले खाना पकाएर ख्वाउँछ? खुरुक्क खान हिँड्, जति रुच्छ त्यति खालास्।” यति भन्दै कुमारले बाटो छेउको हाेटेलमा बाईक बिसायो ।

मन नभइ नभइ पनि दोकानमा पसें, खाना खाने टेबलको कुर्सीमा बसें । खाना आयो बाफ उड्दै गरेको भात र अन्य कचौराहरुमा विभिन्न परिकारहरु देखेर खाउँ खाउँ लाग्यो । हात धुन उठ्दै थिएँ कुमारले सोध्यो-“बियर पनि खान्छस् ?”

“धत् पागल भइस् कि क्या हो, तँ खाने भए खा, म खान्न।”

हात धोएर आएँ । भातबाट बाफ अझै उडिरहेकै थियो।

“खै त बियर खाइनस्?” कुमारलाई खपाखप भात खाँदै गरेको देखेर सोधें ।

“खान्न म पनि, एकलै के खानु, फेरि भएन बाईक चलाउनु पर्छ। राम्राे हैन राती ड्रिङ्क गरेर राईड गर्नु ।”

ज्ञानी बालक जस्तै कुरा ग-यो कुमरले, मैले केही भनिन । खाना खान थालेपछि बाबा,आमा, भाइ, बहिनी, सुमी र भर्खर जन्मेको बच्चाको सम्झना आयो ।

“म यहाँ टन्न मासु भात खाइरहेको छु, अरुको अवस्था चैं कस्तो होला नि प्रभु ! रक्षे गर है।” मनमनमा सम्झिँदै खान लागें। खान मन थिएन, तर पस्के जति सबै खपाखप खाएँ ।

अब दुई घण्टामा त घर पुगिने थियो । उता कस्तो आपद् परेको होला बुनु र बाबालाई । सोझै अस्पताल जान्छु, भाइको र आमाको अवस्था बुझ्छु अनि मात्र घर जान्छु । सबैभन्दा धेर बुवा सुर्ताउनु हुन्छ । उहाँ मलाई देखेर पक्कै खुशी हुनुहुनेछ ।

हामीले यात्रा शुरु ग-यौं । रातीको चिसो हावाले टाउको सेक्न थाल्यो । मैले टाउको कुमारको ढाँडमा लुकाउन अघि भनें -“बिस्तारै चला है, हावा धेरै लाग्ने रहेछ।” कुमारले मान्यो ।
एकचोटि शीलालाई फाेन गरेर सुमीत्रा र छाेरोको हालखबर बुझें, सञ्चै रहेछन्। सुमीलाई अलिअलि होश आयो रे, छाेरालाई इन्क्युवेटर मै राखिराखेका छन् रे ।” ढुक्क लाग्यो ।

अब भाइको अवस्थाले मन आत्तिएको थियो । बहिनीलाई कल गरें, रिङ लाग्दै थियो। अचानक बिपरीत दिशाबाट एउटा ठूलो ट्रक भित्तातिरको गाडीलाई उछिन्दै हाम्राे अघि आयो । गड्याम्म ठाेक्किएर ठूलो आवाज आएको थाहा छ । त्यसपछि केही याद छैन, सब सुनसान, अन्धकार, निस्तब्ध ।

फ्य्याट्टै ज्यान गएछ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

2 Comments

  1. नेपालनाम्चाले मेर‍ो सानू प्रयास- ” फ्याट्ट ज्यान गयो “- कथालाई सराहना गरेर आफ्नु Wave page मा स्थान दिनु भएकोमा सम्पादक महोदय र अन्य सहयोगीलाई लाख धन्यवाद चढाउँछु साथै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको छु ?

  2. जमको गरेर पनि कथा सक्ने इच्छा थियो सर। सारै मन पर्यो।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button