
वाह रे वाह ! मेरो देश
कविता
सुप्रिया खनाल
हिजो नेपाली हुनुमा गर्व गर्ने हामी
आज नेपाली हुनुमा धिक्कार्दै छौं
जनता हस्पिटलमा औषधि नपाएर छटपटिँदै गर्दा
अक्सिजन नपाएर मृत्युसँग लड्दै गर्दा
जसले दुखीको पीडामा मलम लगाउदै छ
ऊ माथि गुण्डागर्दी हुन्छ
निर्घात कुटपिट हुन्छ
वाह रे वाह ! मेरो देश
धिक्कार छ नालायक सरकार ।
एउटी सानी नानी
जसले तोते बोलीसम्म बोल्न सिकेकी छैन
जसलाई
मान्छे के हो ?
को आफ्नो को पराई ?
थाहा नै छैन
ऊ माथि बलात्कार हुन्छ
न्यायको त के आशा
विचरा तिनले जिन्दगी पाए पनि त्यो भन्दा ठूलो हुन्थ्यो
आखिर हरेक पटक यस्तो घटना हेरेर चुप बसेको छ
वाह रे वाह ! मेरो देश
धिक्कार छ नालायक सरकार ।
जुन देशमा महिला राष्ट्रपति छिन्
त्यही देशका महिलाहरु
हरेक पटक शोषित हुनु परेको छ
घर, समाज अनि देशबाट
म एक महिला हुँ भनेर
शीर उठाएर हिँड्न सक्ने वातावरण छैन
आखिर पीडकको आँशु किन बुझ्दैनौ ?
वाह रे वाह ! मेरो देश
धिक्कार छ नालायक सरकार ।
हरेक पटक हरेक नया कानुन बनाउँछौं
महिला बालबालिका हिंसा का विरुद्ध
बनाइसकेऊ भने कार्यान्वयन गर्न सक्ने क्षमता राख
तिम्रो त्यो कागजको पानामा सीमित कानुनले कसैले न्याय पाउँदैनन्
तर, थाहा छ तिनीहरूमा त्यो क्षमता छैन
वाह रे वाह ! मेरो देश
धिक्कार छ नालायक सरकार ।
एउटी छोरी आफ्नै बाबुबाट
आफ्नै ससुरा अनि आफ्नै दाजुभाइबाट शोषित छिन्
दाइजोको नाममा मर्न बाध्य पारिन्छन्
यौन हिंसाबाट पीडित छन्
तर पनि उनीहरूको बोली बन्द गरिन्छ
निर्दोषलाई फसाउँने अनि दोषीलाई प्रोत्साहन गर्ने
वाह रे वाह ! मेरो देश
धिक्कार छ नालायक सरकार ।
सर्टिफिकेट धितो राखेर २५ लाख ऋण दिनु भन्छौ
भाषण दिनुभन्दा एक जनालाई २५ सयको राजगारी देऊ
कसैको गरिबीमा मलम ँलाग्न सक्छ
हरेक दिन विदेशी भूमिबाट आउने लाशमा कमी आउन सक्छ
यति त गरिदेऊ सरकार कि हामीले यस्तो देश पायौं भनेर गर्व गर्न सकौं
तर तिमीहरूलाई विकासबारे सोच्ने कहा फुर्सद छ र ?
वाह रे वाह ! मेरो देश
धिक्कार छ नालायक सरकार ।
सक्छौ भने कडाइ गर
फाँसीको कानुन बनाऊ
देऊ दोषीलाई सजाय अनि निर्दोषलाई न्याय
यस्तो कानुन बनाऊ कि अपराध गर्नेले हजार बार सोचोस्
एउटी महिलालाई गिद्दे नजर लगाउनेहरु
आँखा उठाएर हेर्नसम्म डराउन
नारीले आफूलाई सुरक्षित महसूस गर्न सकुन्
तर, तिमीहरूलाई यस्तो फुर्सद कहाँ छ र ?
जनतालाई धारमा राखी सत्ताको होडबाजीमा चल्ने
वाह रे वाह ! मेरो देश
धिक्कार छ नालायक सरकार ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



