छोरी भेट्ने बहानामा अष्ट्रेलियातिर हानिए

लघुकथा: समस्या र समाधान

हरिप्रसाद गौतम

यसअघिको चुनावमा झिनो मतले हारेका सन्ते दाइले पूरै पाँच वर्ष लगाएर चुनाव जित्ने रणनीति बनाए । जसरी पनि जित्नु थियो यसपालि किनकि हारको बदला लिनु थियो अनि कसैकसैलाई राम्रै जवाफ पनि दिनु थियो । त्यसैले पनि मरेर लागेका थिए उनी ।

सन्ते दाइमा खासै धेरै कूटनीति गर्ने क्षमता त थिएन तर इष्टमित्र, साथीभाइ सबैलाई केही न केही दिएर सन्तुष्ट पारेका थिए । विपक्षीका विरुद्धमा अाक्रामक ढङ्गबाट उत्रने योजनाअनुरुप अहिलेको अध्यक्षले यसो गर्न सकेन र उसो गर्न सकेन भन्ने अारोप तयार गरिसकेका थिए । उनले आउँदो चुनावमा गर्ने विकास र सुधारका कार्यक्रमको खाका पनि कोरिसकेका र पर्चा पनि छपाइसेका थिए ।

यसै त नेपाल, उसैमा स्थानीय निकाय, काम गर्न र चित्त बुझाउन गाह्रै थियो । पुराना अध्यक्षको पदावधि सकिनै लाग्यो । फेरि टिकट पाउँला नपाउँला भन्ने ठानी उनले राम्रै रुपले समयावधि पूरा पनि गरे । फेरि अर्को चुनावको मिति तोकियो र उनी फेरि उठ्न पाउने भए । प्रतिस्पर्धा पहिलाकै उमेदवारबिच हुने भयो । पुरानै अनुहार स्पर्धामा उत्रे ।

जति चुनाव नजिकियो, उति उनीहरूबिच दूरी बढ्दै गयो । कार्यकर्तामा काटाकाट मारामार पनि भयो । सकेको बल लाएर र झुटै बोलेर भए पनि यसपालि सन्त दाइले चुनाव जिते । पुराना अध्यक्षचाहिँ आनन्दपूर्वक पर्यवेक्षजस्तै बनेर गाउँ डुल्दै नयाँ अध्यक्षको कामको मूल्याङ्कन गर्दै रहे । गाउँ न हो, समस्या पनि आफन्तकै हुन्थे । अन्याय गर्ने अाफ्नै कार्यकर्ता हुन्थे उनीहरूलाई कारबाही गर्नु आफ्नै पेटमा लात हान्नुसरह थियो ।

बाटो मिचेर घर बनाएका, गुठीको सम्पति आफ्नो नाममा पास गरेका, बाटै छेकेर खानी चलाएका आदि अनगिन्ती उजुरीको चाङ लाग्न थाल्यो । यी मुद्दा किनारा लाउने आश्वासन उनले चुनावका बेला दिइसकेका थिए । यी मुद्दा टुङ्गो लाउन नसकेका पुराना अध्यक्षलाई असक्षम भनेका सन्तलाई अब निकै गाह्रो पर्‍यो । बदमासी गर्ने सबै आफ्नै मान्छे थिए ।

जब छलफलको दिन नजिकिन्थे उनी आत्तिन थाल्थे । यो जित सन्तदाइलाई घाँडो हुन थाल्यो । गाउँका समस्यामा छलफल हुने दिनमा अध्यक्षकै अनुपस्थिति बाक्लिन थाल्यो । कहिले बाको श्राद्ध, कहिले बिरामी छु भनेर पन्छिँदा पनि केही नलागेपछि उनी साँच्चै बिरामी पर्न थाले । काँचो पिँडालु भयो यो जित उनलाई ।

कार्यकर्ताले मौकाको फाइदा लिने, आफन्तका बिरुद्धमा कठोर कदम चाल्न नसकिने भएपछि सन्तलाल दाइ ठूलो सङ्कटमा परे ।चुनावका लागि गरेको मेहनत र कमाएको इज्जत पनि नबच्ने देखेपछि उनी कामको भार अन्य पदाधिकारीलाई सुम्पेर छोरी भेट्ने बहानामा अष्ट्रेलियातिर हानिए । अहिले गुमनाम छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button