
प्रिय बर्षा ! मलाई रुझ्न मन छ
कविता: प्रिय बर्षा !
ओजश्वी किरण दवाडी
कालो बादललाई चिर्दै
तिमी झर्छौँ
धरतीलाई चुम्न
मेरो मनभित्र दबिएका भावनालाई सुन्न
प्रिय बर्षा !
तिमी त सबैको प्यारो
किसानमात्र कस्ले भन्ला ?
ती गगनबाट खुत्रुक्क ओर्लेको बुँद
अंकुराउछ- बीज
र मुस्कुराउँछ- फूल ।
घाम, हावा र बादलबीच
लुकामारी खेल्दै
जब जित्छ्यौ नि
अनि बर्षन्छयौ
प्रिय बर्षा- प्रतिक्षामा बस्छु ।
उर्लिएका खोलामा- पौडिन होइन
उर्लिएको वयमा
निर्थुक्क भिज्न मन छ
प्रिय बर्षा !
मलाई रुझ्न मन छ ।
जब
कठोर बन्छ्यौ- असिना बनेर
वर्षन्छ्यौ ममाथि
तब
ठान्छु- मेरो गल्तीको सजायं पाएँ ।
तिमीसँगै आएको
त्यो शीतल हावाले
जब
मेरो केशलाई उडाँउछ
म उड्छु- सलल उतै
आनन्दित हुन्छु
आराम लिन्छ- मस्तिष्क !
हो, तिम्रो आगमन
खेतमा बाली उमार्न
खोलामा जीवन उराल्न
म मा … ?
आउ न बर्षा
आउ- तिमी आउदा मन हर्षित हुन्छ !
यति धेरै खुसी ल्याउने- तिमीलाई
कुरिबस्न कठिन लाग्छ- मलाई
तर पनि
भोलि पनि पक्कै आउनेछ्यौ
प्रिय वर्षा !
अब आउँदा
धेरै समय लिएर आउनु
मलाई फकाउनु
म रिसाएको भान गर्नेछु
तिमी पानीका थोपाले मलाई फेरि जिस्काउनु ल
पर्खाइमा बस्ने छु
प्रिय बर्षा !