
मैले मन्डपसम्म सोचेँ, तिमीले हस्पिटलसम्म
कविता
सुप्रिया खनाल
प्रेम त प्रेम नै थियो
तिमीले पनि गर्थ्यौ
म पनि गर्थें
फरक यत्ति थियो
तिमी एक रातको लागि मलाई चाहन्थ्यौ
अनि म जीवनभरको लागि तिमीलाई
प्रिय ! म हाम्रो सम्बन्धको लागि नाङ्गिएको थिएँ
बिन्ती ! तिमी मलाई चरित्रहिन नसम्झनु ।
वाचा तिमीले पनि गरेका थियौ
मैले पनि गरेकी थिएँ
तिम्रो वाचा त रातभरको लागि सिमित रहेछ
त्यसलाइ जिन्दगी ठान्दै बसेँ म
तिम्रा झुटा आशामा बहकिनु
तिमीसँग सँगै जिउने मर्ने सपना सजाउनु
अनि होटलको त्यो बन्द कोठासम्म पुग्नु गल्ती मेरो थियो
तर, प्रिय ! म हाम्रो सम्बन्धको लागि नाङ्गिएको थिएँ
बिन्ती ! तिमी मलाई चरित्रहिन नसम्झनु ।
हरेक झुट ‘सच’ जसरी बोल्ने तिमी
तिम्रो हरेक झुटमा आँखा चिम्ली विश्वास गर्ने म
गल्ती तिम्रो मात्र भन्दिनँ
त्यो बन्द कोठाभित्र हामी दुवै थियौ
यौवनको प्यास त हामी दुवैले मेटाएका थियौं
मैले मन्डपसम्म सोचेँ
तिमीले हस्पिटलसम्म सोचेछौ
तर, यति बुझिराख प्रिय
म हाम्रो सम्बन्धको लागि नाङ्गिएको थिएँ
बिन्ती ! तिमी मलाई चरित्रहिन नसम्झनु ।
म नाङ्गिएको कोठामा तिमी पनि नाङ्गिएका थियौ
तर, अफसोच समाजले तिमीलाई मर्दको संज्ञा दियो
अनि मलाई वेश्याको
सायद महापुरुष ठान्छौ होला आफुलाई
घमण्ड नगर प्रिय !
म हाम्रो सम्बन्धको लागि नाङ्गिएको थिएँ
बिन्ती ! तिमी मलाई चरित्रहिन नसम्झनु ।
नारी माल होइन मान हो
सायदै किताबी ज्ञानलाई व्यवहारमा उतार्न भुल्यौ
राखेर हेर प्रेमिकाको ठाउँमा आफ्नी बहिनीलाई
कल्पना गर कोहि परपुरुषले तिम्रो बहिनीलाई गरेको दुव्र्यवहार
सक्छौ अरुको जीवनमा दियो बाल
बलिराखेको दियो ननिभाऊ
खुसी छौ होला मेरो शरिरसँग खेलेर
म पनि खुसी नै छु तिम्रो खुसी देख्दा
तर प्रिय यति ख्याल गर
म हाम्रो सम्बन्धको लागि नाङ्गिएको थिएँ
बिन्ती ! तिमी मलाई चरित्रहिन नसम्झ्नु ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)