
बाँडेर थाकेनौ सपनाका ठेलीहरु
कविता: लाज नगराइ दिनु लोकको
भिमसिंह धामी (आपत)
सत्ताको आहालमा डुबेर ओगार्दैछौ
कहिले जुङ्गा कहिले पेट मुसार्दैछौ ।
अटेसमटेस भा’छौ मोटाएर
दिन काट्छौ दॉत कोट्टाएर ।
जे जे गर्नुछ गर
जे जे गराउनुछ गराउ
बेला यै हो कमाइको पार सबै भरिभराउ ।
जनता र देश त भाषणलाई मात्र हुन्
त्यसपछि त खिसिट्युरिका पात्र हुन्
म्याद हद सकिदैछ र सलबल गर्दैछौ
यसो लोकाचार गर्र्दै हाम्रा पछि पर्दैछौ ।
बाँडेर थाकेनौ सपनाका ठेलीहरु
खै किन बालात्कार हुन्छन् चेलीहरु ।
लाजमर्दो कुरा सुनिन्छ नीति निर्माताको
कहिले विघटन कहिले सङ्गठन
कहिले आगमन कहिले बहिर्गमन ।
देखिदैनन् राजनितिक दल जस्तो
बरु देखिन्छ युद्धस्थल जस्तो ।
म जे सोच्छु अनि जे बुझ्छु
त्यो तपाईं नसोच्नु, नबुझ्नु
बरु जे तपाईं चुनावमा बुझाउनु हुन्छ
त्यही बुझौला अनि त्यही अनुसार सोचौंला ।
बस्, लाज नगराइ दिनु लोकको
दवाइ पुर्याइ दिनु रोगको
भोजन पुर्याइ दिनु भोकको
मल्हम खोजी दिनु शोकको ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



