बुझ्नै नसकिने सपना अनि तिम्रो उद्धेश्य

कविताः सपना र परिस्थिति

हिरामणी राई

सपना ए सपना …
कति रङ्गायौ आज तिम्रो जिन्दगीलाई
भोक, प्यास अनि निन्द्रालाई त्यागेर
शिखरमा पुग्छु भन्दै, हमेशा अगाडि बढ्ने
बाटोहरु खोजिरह्यौ, रुमल्लिरह्यौ
यता र उता गन्तव्य पुग्ने बाटोहरु खोजिरह्यौ ।

हातहरु हालिरह्यौ, खुट्टाहरु चालिरह्यौ
मुटु जसरी उफ्रन्थ्यो, तिम्रो मन त्यसैगरी
झनै चन्चल बनिदिन्थ्यो
कहिले कता अनि कहिले कता,
होसै नहुने, भरोसै नहुने
बुझ्नै नसकिने सपना अनि तिम्रो उद्धेश्य ।

खै केमा फरक पर्यो ? कुन्नि
कतै हातखुट्टाहरु नै छोटा भएर हुन् कि
भेट्न नसकेको
कतै, चालेको कदम नै फरक थियो कि
मुटुका स्पन्दन वा गति पो कतै तलमाथि थियो कि
खै केही बुझिएन,
कतै चेक गर्ने फुर्सद नै कहाँ थियो र ।

सपनाहरु कैयौंका हुन्छन्
सबैले बुनेका हुन्छन् तर …
भए पनि सबैले एकै पल्ट
कहाँ भेटाएका छन र
अनि बुनेका सपनाहरु पनि
सबैले कहाँ पूरा गरेका छन र ।

तर पनि हिम्मत नहार
तिमी लडेर उठ्नै नसकेको त होइनौं नि
लडे पनि शरीरभित्र चोट त छैन नि
भए पनि सहन सक्ने जति त होला
बस अब फिक्री नगर, समय र परिस्थितिले
तिम्रा अधुरा सपनाहरू पूरा गर्ने छन्
तिमीलाइ उचाइमा पुर्याउने छन्
हरदम समय र परिस्थितिले तिमीलाई
अँगालेर राख्नेछ, बाँधेर राख्ने छ
नियमकानुन झैँ उम्कन सक्ने छैनौ
सदाको लागि त्यही नै तिम्रो
सपनाको उचाई हुनेछ
सदाको लागि … ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button