ऊ गएकी थिई उसकै रंगमञ्चमा

कथाः मनभित्र दविएको कथा

गीता खनाल

म उभिएको धरातल । अभावको ऐंडी (डोरी,जञ्जीर)ले बेरिएको म । बाँच्नका लागि दौडिरहेका मेरा जब्बर गोडाहरु टक्क अडिए दोबाटोमा ।

प्रकृतिको अनुपम सुन्दरता पहाडका शीरभरी फुलेका कपासजस्ता बादलका टुक्राहरू मेरा आँखालाई सम्मोहित गरिरहेका छन् यसैयसै । लाग्छ, संकटका जम्मै पुन्तुराहरु यतै कतै थन्काएर सुटुक्क भागौं मन्दमन्द हावाको मधुर स्पर्शसँगै हिमाललाई चुमेर ।

गन्तव्य बिर्सिएर थचक्क बस्छु म हरियो चौरको काखमा । प्राकृतिक सुन्दरतामा रमाइरहने मेरो बानी । हराउन मन लाग्छ सुन्दर छटाभित्र र तिनै हराईहरुमा वास्तविकता खोज्न मन लाग्छ ।

कुनै दिन यही पाखामा बसेर उसले मलाई आफ्ना जिन्दगीका उतारचढावको बारेमा लामो तथ्यकथा सुनाएकी थिई । प्रत्येक शब्दहरु आँसुले धोइएका थिए । पटकपटक रोकिएको थियो गला । मैले पनि मिसाएको थिए आँशुहरु । अड्किएको थियो बोली कयौंपटक मेरो पनि । त्यो दिन उसले र मैले साटेका थियौं धेरै दुखसुख । मनभित्र गुजुल्टिएका भावनाहरुलाई आशुको भेलसँगै बगाएर हलुका भएका थियौं ।

त्यसपछि लामो समय हाम्रो भेटघाट नै भएन । एक दिन उसकी साथीले सुनाएकी थिई, उसको बाटो बदलिएछ। तर, आज मेरो बाटो फेरि दोहोरिएको छ, ताजा भएर उर्लिएका छन् उसका यादका छालहरु ।

मनभित्र जस्तोसुकै वेदनाको सागर भए पनि जिन्दगीका यात्राहरुमा काँडैकाँडा तेर्सिए पनि आखिर जिउनका लागि पन्छाउनु पर्दोरहेछ काँडा र बनाउनु पर्दो रहेछ बाटो । ऊ गएकी थिई उसकै रंगमञ्चमा, उसको भागमा परेका अभिनयहरु मञ्चन गर्न । म व्यस्त थिए मेरो अभिनयका प्रत्येक भूमिकाहरुलाई निरन्तरता दिन । थाहा छैन कति दर्शक खुशी भए उसको जिन्दगीको नाटकमा, कत्तिले आनन्द लिन सके देखिएका पर्दामा । म पनि व्यस्त छु आफूलाई होइन, अरुलाई सन्तुष्टि पार्ने दृश्यहरु सम्पादन गर्न ।

पटकपटक घोचिरहन्छ यो क्षणले मलाई, ताजा भएर नयनका पर्दाभरि रिलीज हुन्छन् तिनै दृश्यहरु । आज पनि यस्तै भइरहेको छ । हेरेर कसैले लख काट्न नसक्ने मनभित्रको अथाह पीडा र नाप्न नसक्ने वदनाको गहिरो सागर अनि कसैले अध्ययन नै गर्न नसक्ने नसुल्झिएका अक्षरहरू । एक्लै डुबुल्की मारिरहेछु यो सागरभित्र र पार गर्ने दृढ इच्छाको झिल्को उत्तिकै चम्किलो छ मनभित्र । यिनै उतारचढाव गल्ली, खोच, पहाड र हिमालका घुमाउरा गोरेटाहरुमा निरन्तर जारी छ मेरो जिन्दगीको यात्रा । हरेक मोडमा एक्लै उभिन्छु म, भिडमा नै छ यात्रा तर एक्लिन्छु म, मनभित्र भएका कुण्ठाहरुलाई छताछुल्ल हुन दिएको छैन मैले ।

यस्तैयस्तै कल्पनामा हराउदै थिएँ अनायसै झस्किएँ, थर्किएर आकाश बर्षिएको चिसो पानीको स्पर्शले । अघिका सेता बादलका गुच्छाहरु अनायसै काहाल्लिएर रोएजस्तै टनटनी दुखिरहेछ पीडाको घाउ छातीभित्र, डर लाग्छ कतिबेला फुटेर छताछुल्ल हुने हो कि या भित्रै सुकेर खाटा बस्ने हो । उफ दुनियाँ यति स्वार्थी कसरी भएको होला ? आफूबाहेक अरुलाई तुच्छ देख्ने नजर मात्र किन बढेका होलान् ? किन पलपल संवेदना हराएर जाँदैछ मान्छेको मनबाट ? सुखमा अगाडि देखिने साथहरु दुःखमा पछिपछि सर्छन् किन पाइला गन्दै ?

बलेको आगो नै ताप्छन् सबैले आखिर किन ? मान्छे जन्मँदा पनि त निवस्त्र निशस्त्र नै त जन्मिन्छ नि, मर्दा पनि उसको त्यही रुप, मात्र फरक जन्मँदा ऊ रुन्छ र मर्दा अरु रुन्छन् । चितामा खरानी बनेर बग्छ नदीको पानीसँगै, कताकता विलिन हुन्छ धुवाँ बनेर, थाहा छैन पुग्छन् कि पुग्दैनन् समुन्द्रसम्म खरानीका कणहरु । पाउने हो कि हैन चिहानको लागि उसकै आकारको जमिन । सोच्दा सोच्दै यति गहिराइमा पुगेछु कि म फेरि झसङ्ग भएँ, फोनको टिर्र घन्टीले ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button