
… अनि रोइरहेछ सिन्धुपाल्चोक
कविता
सुप्रिया खनाल
प्राकृतिक प्रकोप
अनि त्यसको मुख्य केन्द्र सिन्धुपाल्चोक
जुरेको पहिरोसँगै अपूरणीय क्षति
टुक्रा टुक्रा भएका पहाडहरू
छिनभरमै टुटेका पहाडका सुन्दरता
अनि सँगै टुटेका सिन्धुबासीको दिल
देख्न नसकेर रोइरहेछ प्रकृति
अनि रोइरहेछ सिन्धुपाल्चोक ।
२०७२ को भूकम्प
अकल्पनीय मानवीय क्षति
विकासको गतिको रूपमा रहेका संरचनाको सत्यानास
थर्थराहटले धुजाधुजा भएको जमीन
बस्नै नमिल्ने गरी चर्किएको घर
कहिल्यै नजोडिने गरी टुटेका मुटु
त्यो सँगै सुन्नै नसकिने चित्कार
यो देख्न नसकेर रोइरहेछ प्रकृति
अनि रोइरहेछ सिन्धुपाल्चोक ।
सुनकोशीको वितन्डा
सयौ विघाह खेतीयोग्य जमीन माटोमा परिणत
हजारौंको आशा अनि सयौंको मेहेनत
छिनभरमै विलीन भएको देख्दा
कयौं आमाको काख रित्तो
अनि कयौं श्रीमतीको सिउँदो पुछिएको देख्दा
रोइरहेछ प्रकृति
अनि रोइरहेछ सिन्धुपाल्चोक ।
बल्ल बल्ल खाटो बस्न लागेको घाउ
अनि त्यो घाउलाई बल्झाउन आएको
उर्लँदो मेलम्ची याङ्री र इन्द्रावती
एक रातमै हजारौंको बास उडेको
अनि विघौहविघाह जमीन
बगरमा परिणत भएको हेरिरहँदा
मेलम्चीले सजाएका सपनाहरु
एक रातमा पानीमा मिसिएको देख्दा
रोइरहेछ प्रकृति
अनि रोइरहेछ सिन्धुपाल्चोक ।
मनै लोभ्याउने मनोरम दृश्य
हेरिरहुँ लाग्ने मनमोहक वातावरण
छिनभरमै कहालीलाग्दो दृश्य बनेको देख्दा
अब पहिलाको सिन्धु पाउन बर्षों कुर्नुपर्ने सम्झँदा
करोडौंको प्यास मेट्ने मेलम्ची
आज हजारौंको काल बनेर आएको देख्दा
रोइरहेछ प्रकृति
अनि रोइरहेछ सिन्धुपाल्चोक ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)