
म तिम्रो लोग्ने हुन सक्दिनँ
कविता
रविराज खनाल (खलविर नाराज)
म्याग्दे, गुणादी, तनहुँ ।
रहर हटाउने
ठहर गर्दिनौ भने
याने
तिमी मसँग
बस्न सक्दिनौ भने
म तिम्रो लोग्ने हुन सक्दिनँ ।
तिमीलाई
शिरमा किलिप काँटा चन्द्रमा
गलामा हार तिलहरी सिक्री
कानमा ढुङ्री माडवारी सिलमुन्द्री रिङ
हातमा चुरी औंठी
पाउमा पाउजु र औंलामा के जाति
नाम पनि आउन्न कुन्नि केहो लाउनु पर्ने
यी सबैथोक कहाँबाट आउँछ
सुतिसुती ?
काम गर्नै परो, इमान राख्नै परो
अनि पो मालिकले पत्याउलान्
बर्सेनि तनखा बढाइ देलान्
कम्पनीको नाफाबाट बोनस देलान्
कहिलेकाही त आश लाग्छ
इमान्दार केटो ठानेर
केही हिस्सा शेयर नै दिन्छन् कि
आशाको दीप बालेर
कदम कदममा होश राखेर
मालिकको इशारा बुझ्दै
उनका सामु
नुघ्दै, झुक्दै
तिम्रा चाहनामा
ठेस लाइन
तथापि तिम्रो व्यवहारमा
सुधारको अपेक्षा नराखेको हैन
यद्यपि तिमीले
मेरो मर्म बुझिनौ
र, फलाक्यौ
मैले तिम्रा साथीको दाँजोमा
तिमीलाई पुर्याउनु पर्ने रे
अँ हँ म सक्दिन
र, त्यत्ति कारणले तिमी मसँग
बस्न सक्दिनौ भने
म तिम्रो लोग्ने हुन सक्दिनँ ।
महिनैपिच्छे पाटी
पाटीपिच्छेका पहिरन
गरगहना
लत्ताकपडा
श्रृङ्गार सजावट, आदि आदि
अनि खानुपर्ने भुटेको उसिनेको तारेको
अनमोलको झोल
निस्फिक्रिको ढोलमा
चुर्लुम्म डुब्दै
आहा जिन्दगी
नाँच्दै गाउँदै बजाउँदै
लरीबरी लरीबरी झ्याँइ
सद्धे पठायो
कुसद्धे आयो
सहौं कसरी यस्तो
भैगो
यदि यस्तै हो भने
सुध्रन्नौ कत्ति पनि भने
र, यसै गुनासोको कारणले
तिमी मसँग
बस्न सक्दिनौ भने
म तिम्रो लोग्ने हुन सक्दिन ।
तिमी
जागीरको सिमिततामा बस्न चाहिनौ
योग्यतामा कसी लाइनौ
हुन त हो
म पनि उस्तै उल्लु
जे भन्यौ तेही पुर्याएँ
सिमित घेरामा थियौ
खासै गारो थिएन
घ्यु चामल गाउँबाट आइहाल्छ
कम्पनी राम्रै छ पुगिहाल्छ
जागीर खुवाएर क्यार्नु
कहिले कहाँ कहिले कहाँ हुनुपर्ला
अलग बस्दा के रमाइलो होला
किन्तु परन्तुमा ध्यानै गएन ।
जीवनका आरोह अवरोह
कति गए कति आउँदै छन्
तिम्रा योग्यतामा खिया लाग्यो
दक्षतामा झींगा लाग्यो
कहर खप्न नसक्ने
रहर फ्याँक्न नसक्ने
यो कस्तो अचम्म ।
अरुका कौशीमा
घिरौला, सिमी, काँक्रा, करेला आदि आदि फल्छन्
तिम्रा कौशीमा
टुटेफुटेका बोतल ढल्छन्
चपाउन बाँकी हाँडको पसारो
र, सेकुवा उनेका काला तार यत्रतत्र बग्रेल्ती छन्
जुठा भाँडा असरल्ल छन्
केलाई भन्दा केलाई लाज भने जस्तो
बस्त्रले ठेगान छोडेका छन्
वचन ठ्वाँस्स
गन्ध ह्वास्स
अनि बेसुरमै तान्छ्यौ
चेपारो पार्छ्यौ
खै कता कता छाम्छ्यौ
टेको छैन दह्रो
बोली लठेब्रो
हिँडाइ गोजेङ्रो
अनि धान्नुपर्ने मैले ?
अँ हँ म सक्दिनँ
सक्दै सक्दिनँ
मैले नसकेको मन पर्दैन भने
र, मसँग बस्न सक्दिनौ भने जाउ
म तिम्रो लोग्ने हुन सक्दिनँ ।
मेरो जीवन छैन ?
मेरो मन छैन ?
मेरो रहर छैन ?
मेरो इज्जत छैन ?
कम्पनीको काम
भरिपुर्ण थकान हुँदाहुँदै पनि
ओभरटाइममा कज्जिएँ
इनाम र बक्सिसको आशमा
कति नुहें कति झुकें
कसका लागि ?
केका लागि ?
जुठो लत्पतेको गाला जोड्दै
उल्टो वास्नामा लत्पतिदै
भोको पेट सुत्नका लागि ?
अँ हँ यो हुनै सक्दैन
किमार्थ हुन सक्दैन
यो बाध्यता र करकापमा
म रहन नसकेको कारणले
तिमी मसँग बस्न सक्दिनौ भने जाउ
म तिम्रो लोग्ने हुन सक्दिनँ ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)