
‘दिदी ! देश भन्ने कुरा कहाँ छ ?’
लघुकथा : शहिदकाे सपना
डा. विदुर चालिसे
सामन्त युग फेरिएपछि गणतन्त्रकाे युग आयाे । एकदिन गाउँले जिम्बु केटाले सहरमा गणतन्त्र कस्ताे हुन्छ हाेला भन्ने अनुमान गर्याे । एकरात सुखकाे सपनामा रमाउँदै घरबाट भाग्ने विचार गर्याे । विहान झिसमिसेमै घरबाट हिंडेपछि हिंड्दाहिंड्दै एउटा सुत्केरी आइमाईलाई भेटेर साेध्याे ।
“दिदी ! देश भन्ने कुरा कहाँ छ ?”
विचरा सुत्केरी आफ्नै प्रसव पीडाबाट ग्रसित थिइन । उनलाई देशकाे चिन्ताभन्दा आफ्नै ज्यानकाे चिन्ता थियाे । बुझ न सुझ उनले भनिदिइन ।
“खै बाबू ! अध्यादेशमा पर्छ हाेला !”
जिम्बु केटाले जीवनमा न कहिल्यै सुनेकाे न कहिल्यै पढेकाे शब्द सुनेपछि ठान्याे ।
“दिदीलाई देशप्रति खुब माया रहेछ !”
एक विहान हिंडेपछि उसलाई हिंडाइकाे थकान सुरूभयाे अनि उ थकाइले लर्बरिन थाल्याे । छेवैमा बसेकाे अपाङ्गलाई उसले फेरि साेध्याे ।
“दाइ ! देश भन्ने कुरा कसरी भेट्ने थाहा छ !”
उसलाई गणतन्त्रकाे मार्मिकता थाहा थियाे । उपलव्धी तथा अवसर थाहा थिएन । उसले पनि भनिदियाे ।
“भाइ ! याे त विदेशीले सिद्ध्यादेशमा पर्छ । नपत्याए मेराे छाति हेर्नू त !”
अपाङ्ग, छातिमा लागेकाे गाेलीका छर्राहरूले आक्रान्त भएर राेइरहेकाे थियाे । जिम्बुले साेध्याे ।
“तपाईलाई गाेली हान्ने काे हाे, थाहा छ ?”
“उम ! धर्मयुध्दका सिपाइहरू !”
गणतन्त्र खाेज्न हिंडेकाे जिम्बुले साँझतिर एउटा गणतन्त्रकाे धर्म युध्दमा लागेकाे सिपाइलाई भेटेर साेध्याे ।
“दाइ ! देशमा धर्मयुध्दकाे पुच्छर कहाँ छ ? थाहा छ ?”
उसले आफ्नाे जीवनकाे कथा भन्न थाल्याे । इतिहास, याेग्यता, आदर्श, मान्यता, विधि, पद्दति र महानताकाे बारेमा व्याख्या गर्याे र अन्त्यमा भन्याे ।
“मैले बन्दुक नचलाएकाे भए देश कहाँ हुन्थ्याे ?”
“कहाँ हुन्थ्याे त हजुर !”
“भयाे भन्दिन, मेराे मसिहाले मार्छ !”
भाेलिपल्ट विहान सहरकाे एकछेउ मसिहाकाे अगाडि उभेकाे सालिक निकै छटपटिएर बाेलिरहेकाे थियाे ।
“मेराे अधियाँकाे देश हाे, याे !”
जिम्बु केटाले बाबुकाे रगताम्य लासलाई एकाएक एक पटक मनमा स्मरण गर्याे र चिच्यायाे ।
“शहिदकाे सपना रे !”
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)