
भन्थी, हजुरबाट टाढा भए सन्तानको नाम हजुरको जस्तै राखिदिन्छु, साँच्चै राखिछ पागल्नीले
प्रेमकथाः अधुरो प्रेम
दीपलभ बुढा मगर
एउटा सानो बालक बगैचामा खेलिरहेको थियो । राम्रो लागेर म नजिकै गएर सोधेँ, ‘बाबु ! तिम्रो नाम के हो ?’
‘दीपलभ’, मलिलो स्वरमा उसले जवाफ दियो ।
म छक्क परेँ । मनमा हाँसो उठिरहेको थियो । किनकी, मेरो नाम पनि त्यही थियो जो भर्खर बच्चाले भन्दै थियो । सानो बालकलाई काखमा राखेँ अनि मनभित्रको जिज्ञासालाई रोक्न नसकी हतारिदै भनेँ, ‘बाबु ! तिम्रो नाम कसले राखेको ? ड्याडले कि ममले ?’
‘ममले ।’
नभन्दै पछाडिबाट ‘छोरो दीपलभ यता आउ’ भनेर बोलाएजस्तो लाग्यो । काखमा राखेको बालक फुत्किएर उसको आमाले ल्याइदिएको आइसक्रिम माग्न थाल्यो । जब त्यो बालकको आमालाई देखेँ, म एकदमै अचम्ममा परें । लाग्यो कि म कुनै बेग्लै संसारमा छु । खुसीको कुनै सिमा नै थिएन । मुटुको धड्कन मानौ सिमा नाघेर धड्किरहेको थियो ।
मेरो अगाडि त्यही मान्छे उभिरहेकी थिइन्, जसले मलाई पहिलो पटक प्रेमको परिभाषा सिकाएकी थिइन् । न म बोल्न सकें न उनी । एकाएक गहभरी आँशु दुवैको भरिन थाल्यो । हामी एकले अर्कालाई हेर्नुबाहेक केही भएन । भेट नै जो कैयौँ वर्षपछि भएको थियो । मेरो दिमागमा बस् एउटै कुरा घुमिरहेको थियो कि म विगतमा फर्किएको छु । उनीसँग चोभार, गोदावरी, चन्द्रागिरी, भक्तपुर घुम्न गएको, कहिलेकाहीँ फोन नगर्दा रिसाएर फकाउनै गारो हुने । वाह ! क्या दिनहरु थिए ।
मनमा अनेकथरी सोचहरु आउन थाले । केही क्षणपछि उनको श्रीमान् उनको र बच्चाकोे हात समाएर छेउमा उभेको देखें । एक्कासी मलाई कालो बादलले ढाकेको जस्तो भयो । मैले त्यो दृश्य हेर्न सकिनँ र म अर्कातिर फर्किन बाध्य भएँ । उनले आफ्नो जीवनसाथीले थाहा नपाउने गरी दाहिने हातले आँशु पुछ्दै थिइन । मैले केही भन्न सकिनँ । सायद उनको आशुँ पुछ्ने मेरो कुनै अधिकार नभएर होला । मेरो ठिक अगाडि मेरो पहिलो प्रेम उसको आफ्नै संसारसम्ग हात समाएर हिँड्दै थिइन् ।
हेर्दौहेर्दै गार्डेन काटेर गइन । हिजो दुईमध्ये कसैलाई दुख पर्दा दुवै भक्कानिएर रुने त्यो दिन । आज एक्कासी यसरी बद्लिएछ कि म रुँदा मसँगै रुने त्यो मान्छे नै छैन, न मेरो आँशु पुछिदिने उनको हात नै । म रुदै घर फर्किएँ ।
जब एकान्तमा हुन्छु, मलाई उनकै यादत्तहरुले सताउने गर्छ । उनले उनको छोराको नाम मेरोजस्तै राख्नु, मलाई देख्ने बित्तिकै आशुँ झार्नु, लाग्छ उनी मलाई आज पनि अझै प्रेम गर्छिन् । सायद मलाई भुल्न नसकेर होला उनले आफ्नो छोराको नाम मेरो नामझैं राखिन् । म त्यही कुरा लिएर खुसी हुने गर्छु ।
‘केही गरी म हजुरबाट टाढा हुनु पर्याे भने मेरो सन्तानको नाम हजूरको जस्तै राखिदिन्छु’, भन्थी । साँच्चै राखिछ पागल्नीले ।
तिमी जहाँ छौ खुसी हुनु । लभ यु ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)