नपलाएका भए हुन्थ्यो सपनाका पालुवाहरु

कविताः डढेलो

भुपेन्द्र जोशी

अतीतका ती मिठा सम्झनामा
डढेलो लागिरहँदा
भविष्यका सुन्दर सपनाहरुमा घिउ थपिरहेछु
ताकि
ती सम्झनाहरु डढुन्
र, खरानी हुन् सपनाहरु
अनि
ती खरानीसँगै विलय हुन
सम्झना र सपनाका चक्रहरु
बाँकी नरहोस् कुनै शेष
एउटा ठूलो हुरी आवस्
र, उडाइलगोस् त्यो फुस्रो खरानी टाढा समुद्रसम्म ।

आखिर डढेलो लाग्नु नै थियो भने
नहुर्केका भए हुन्थ्यो
ती मिठा सम्झनाका बिरुवाहरु
अनि
नपलाएका भए हुन्थ्यो
ती सपनाका पालुवाहरु ।

हिजोलाई त आज हुन
त्यो कालझै लामो अँधेरी रातको
प्रतिक्षा गर्नुपर्दो रहेछ
फेरि ती अतीतका मिठा सम्झना
अनि भविष्यका सुन्दर सपनाहरु अङ्गाल्न
सामना गर्नुपर्ने छ
ती वायुका चक्र, पानीका भुमरी
अनि आगोका ज्वालाहरु
र, विलय हुनेछन् डढेलोका रापहरु
अनि प्रतीक्षा हुनेछ
ती पुरानै स्नेह र ममताका पालुवाको ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button