कपडा फुकाल्दै गएँ, हठात् मृत्यु चिच्यायो

मृत्यु कविता-८

ठाकुर बेलवासे

राजनीतिक युद्धका नाममा
लुट्न, बलात्कार गर्न
अनि मानवहत्याको मनोरञ्जन लिन
वस्ती पसेको हतियारधारी सन्की युवाजस्तो
मृत्यु सशस्त्र बनेर
गल्ली, चोक, सडक र वस्तीमा आतंक मच्चाइरहेको थियो ।

बुद्धलाई गिज्याउँदै
ईश्वरलाई निरीह बनाउँदै
मृत्यु
कुनै विवेक हराएको क्रूर शासकजस्तो
विद्यालय, अस्पताल र उद्यान जहाँतहीँ
उग्र बनिरहेको थियो ।

म बुद्ध मन बोकेर हिँड्दै थिएँ, बाटोमा
तिर्खाएको बाघले बाख्राको रगत पिए झै
धर्ती पोत्दै गरेकी किशोरीलाई
ढाल्यो र पियो रगत
म बुद्धका आँखा बोकेर आँशुको भेलमा बग्दैबग्दै
टाढाटाढा पुगेँ ।

चारा टिप्दै गरेको परेवालाई
बाजले च्याप्प समाएर आकाशतिर लगेजस्तो
हाँस्दैहाँस्दै विद्यालय जाँदै गरेकी सानी नानीलाई बाटोबाटै
मृत्युले आफ्नो पञ्जामा निचोर्यो ।

यात्रीलाई बाटो सम्याउँदै गरेका जवान युवामाथि
मृत्यु घोप्टियो ।

म बुद्ध बोकेर
शान्त मनले आफ्नै गतिमा हिँड्दै थिए
मृत्यु
मेरो घाँटी अठ्याउन आयो
म विनम्र बनेर
आग्रह गर्दै
आफ्ना शरीरका कपडा फुकाल्दै गएँ
म सर्वाङ्ग नाङ्गो बन्दै थिएँ
हठात् मृत्यु चिच्यायो
लाज लाग्दैन नाङ्गो बन्न ?

मैले शरीरबाट वस्त्र उतार्न छोडिनँ
मृत्यु कोहोलो गर्न थाल्यो
शरम लाग्दैन नाङ्गिन ?

सरल शान्त बन्दै
मैले भनेँ
प्रभु अथाह शक्ति बोकेको तपाईँ
आफै नाङ्गिएर
फूलजस्ता ससाना केटाकेटी निमोठ्दै हुनुहुन्छ
कोमलकोमल जूनजस्ता
किशोरीको जीवन चुँड्दै हुनुहुन्छ
तेजिलो सूर्यजस्ता युवाहरु ढाल्दै हुनुहुन्छ
तपाईँको नग्नताले ब्रम्हाण्ड थरथरती काम्दैछ
म बबुरोलाई
नाङ्गिनका लागि केको लाज ?

मेरा कुरा सुनेर
स्तब्ध बनेको मृत्यु
शीर निहुर्याएर आफ्नो बाटो लाग्यो
अदृश्य बन्यो ।

म सोचमग्न भएँ
मान्छेले भन्दा बढी सरम मान्दो रहेछ मृत्युले
त्यसपछि
म बुद्ध खोज्दै हिँडिरहेको छु
अंगुलीमालाजस्तो मृत्युलाई
बुद्धसंँग भेट गराउन पाए !

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button