ओ ! डर्नेल्ला, तिमी पनि त काला नै हौ

तीर्थ सिग्देल

यतिबेला म नेलसन मण्डेलाको आत्मकथा पढ्दैछु । उनको बाल्यकाल, जेलमा बिताएका कठोर क्षण र संघर्षका गाथाहरु नियाल्दैछु । यो किताब पढ्दै गर्दा अमेरिकामा सु्रक्षाकर्मीद्धारा अमानवीय यातना दिएर मारिएका जर्ज फ्लोइडको भिडियो खिच्नेलाई पुलित्जर पुरस्कार दिने निर्णय भएको समाचार आएको छ । अफ्रिकन अमेरिकी नागरिक जर्ज फ्लोइडको गत वर्ष भएको हत्यामाथि एउटी गैर पत्रकार किशोरी डर्नेल्ला फ्राजीरले तयार पारेको डकुमेन्ट्रीका लागि पुलित्जर पुरस्कारको घोषणा गरिएको छ ।

आफू एउटा पत्रकार पनि भएको नाताले पुलित्जर पुरस्कारको बारेमा सुनेकै हो । पत्रकारिता क्षेत्रको संसारकै सबैभन्दा ठुलो र मर्यादित पुरस्कारको घोषणा हुनु र संसारकै बढी स्वतन्त्रता प्राप्त मुलुक मानिएको अमेरिकामा भएको त्यो अमानवीय हत्याले मन खिन्न पारेकाहरुलाई त्यो समाचार खुशीको थियो नै । अझ काला र गोराहरु बिचको बिभेदको अन्त्य भएको यति वर्ष बितिसक्दा पनि अमेरिकामै त्यसरी मानवीयतामाथि धावा बोलिएको घटनाबाट न्याय पाएका जर्ज र उनका समर्थकहरुलाई मेरो मनले सान्त्वना दियो ।

यद्यपि, आफ्नै गाउँ सहरमा काला मान्छेहरुहरुलाई देख्ने बित्तिकै म एउटा दृश्य सम्झन्छु । तीन वर्ष अघि भ्रमणको सन्दर्भमा दुवई पुग्दाको एउटा दृश्यले सधैँ मनमा घर गरिरहन्छ । घुमघामकै क्रममा त्यहाँ हामी आधुनिकताका अनुपम दृश्यहरुलाई आँखामा कैद गरिरहेका थियौं । विश्वकै अग्लो बुर्ज खलिफा टावर, समुन्द्रलाई पुरेर बनाइएको पाम जुमेरा होटल, विश्वकै ठुलो सपिङ मल दुबई मल, विश्वमै धेरै प्रजातिका फूलहरु पाउने मिराकल गार्डेन, अबुधाबीमा रहेको शेख जाइद ग्रेन्ड मस्जिद र मनोरञ्जनको लागि अबुधाबीमै रहेको फरारी वल्र्डले विश्वका मानिसहरूलाई जसरी निरन्तर तानिरहेको छ । हामी पनि त्यही गतिमा दौडिरहेका थियौं ।

हिन्दी सिनेमामा चर्चा गरिने दुबई र डनहरुको साम्राज्य अनि गगनचुम्बी टावरहरु, चौध लेनसम्मका फराकिला र चिल्ला सडकहरु, अत्याधुनिक अन्डरग्राउन्ड मेट्रो ट्रेन र नयाँ प्रविधिहरुको रंगीचंगी दुनियाँले संसारभरका असंख्य मानिसलाईलाई चुम्बकले झै तानिरहेको बेला हामी पनि त्यहाँ पुगेका थियौं । आलिसान टावरहरु र टोपी खस्ने भवनहरुमा सिसा पुछ्दै गरेका नेपाली कामदारहरुका तस्बिर मोबाइलमा कैद गर्दे अगाडि बढ्दा पुगियो, विश्वकै सबैभन्दा ठूलो फूलबारी मिराकल गार्डेन, फरारी वल्र्ड, पाम जुमेरा र डेजर्ट सफारी । डेजर्ट सफारीबाट फर्केपछिको योजना रहेछ, बेली डान्स हेर्ने ।

बुर्काको देशमा बेली डान्स ? आश्चर्य नमाने हुन्छ ।

धेरै रोमाञ्चक र रमाईलो क्रियाकलापहरूमा सम्लग्न हुनुभन्दा पनि बेडौइन शैली तम्बुमा दुई घण्टा खर्चेर बालुवाको सागरमा बेली डान्स हेर्नुको मजा बेग्दै थियो । डेजर्ट सफारीबाट फर्केपछि बालुवाको तम्बुभित्र पसेर बियर र स्न्याक्सको स्वादमा अफगानी युवतीहरुको बेली डान्स त झन् अलग्गै ।

बेली डान्स संसारमै प्रसिद्ध छ । त्यहाँ त्यो दृश्य देख्दा भने अचम्म हुन्छ । हामीले सोचेको खाडी मुलुक त्यसमा पनि मुस्लिम देश । हामी जे सोचेर दुबई पुगेका हुन्छौं, त्यसको ठिक उल्टो पाउँछौं । पर्यटकहरुका लागि सबै प्रकारका सुविधा दिने प्रचलन रहेछ, त्यहाँ । त्यो देखेर छक्क पर्छौं ।

त्यो भन्दा बढी छक्क म बेली डान्स हेर्न तम्बुमा पस्नु अघि भएको थिएँ । जतिबेला हामीहरुले ऊँट सफारी गर्ने निर्णय लिएका थियौं । नेपालीहरुले ऊँट चढ्ने त के देख्न पनि पाएका हुँदैनन् । हामी पनि त्यही बर्गका मानिसहरु थियौं । बालुवाको सागरमा लम्किरहेका ऊँटका लस्कर देखेर मनै प्रफुल्लित हुन्छ । अझ डुब्न लागेको घामका किरणसँगै ती ऊँटका ढाड समातेर पनि लडिएका कि भनेर डराइरहेका मानिसहरु र उनीहरुको चिच्याहटले मनलाई अझै उद्धेलित बनाउँछ । म पनि उही डर र रहर एकसाथ बोकेर ऊँट चढ्ने लाइनमा उभिएको थिएँ ।

सँगै पुगेका एकजना साथीको नजर कतै परेपछि म पनि त्यतै हानिएँ । हामीसँगै ऊँट चढ्ने रहर बोकेर उभिएकी एउटी किशोरीमा हाम्रो नजर पर्छ । मैले अलिक लुकेर मोबाइलबाट उसको तस्बिर खिचें । अरु साथीहरु हाँसिरहेका छन् । हाँसो थामिएन कसैको पनि । म पनि त्यस्तै भएँ ।

सायद ऊ अफ्रिकन हुनुपर्छ । ऊ आफ्ना बाबुआमासँग दुबई घुम्न आएकी जस्तो लाग्छ । ऊ यति काली छे कि भनिसाध्ये छैन । झन् उसका आमाबाबुको त कुरै नगरौं । डर पनि लागिरहेको थियो कि फोटो खिचेको कतै उसले थाहा त पाइन भनेर ।

मैले ठानें, उसले फोटो खिचेको थाहा पाइन ।

तर, ठिक उल्टो भयो । उसले आफ्नो फोटो खिचेको थाहा पाएर मेरो छेउमा आएर खै के भनी । मैले उसको कुरा बुझिन । डर अझ बढ्यो । कतै केही नराम्रो त हुने त होइन ? तर, उसले तेरो घर कहाँ हो भनेर सोधी र भनी, तैले मेरो फोटो खिचेको मलाई थाहा छ । मेरो फोटो लगेर के गर्छस् ? भनेर सोधी । त्यसपछि म अवाक् बने ।

मसँग आज पनि उसको फोटो सुरक्षित छ । हुनतः उसको फोटो ल्याएर मैले गर्न त के गर्नु र ? तैपनि उसले सोधेको त्यो प्रश्नले मलाई घोचिरहन्छ । जतिबेला म तराईका दक्षिणी बस्तीहरुमा पुग्छु । त्यहाँका भूमीपुत्रहरुलाई देख्छु । काला बर्णका ती मनिसहरुलाई सामान्य शैलीमा जीवन बिताइरहेको देख्छु ।

उनीहरुका कालाकाला अनुहार देख्छु र भन्छु, ‘के म तपाईहरुको तस्बिर खिच्न सक्छु ?’

त्यो तस्बिर खिच्ने समयमा मनमा दुबईकै त्यही दृश्य आउँछ । म त्यहाँ त्यही हब्सी केटीलाई देख्छु । र, भन्छु, ‘मैले तिम्रो तस्बिर बिना अनुमति खिचेँ है । सरी…काली’ । फेरि मनमनै भन्छु, ‘धन्न ऊ रिसाइन नी । नत्र मेरो हालत हुनै रहेछ’ ।

अनी अहिले पढ्दै गरेको नेलसन मण्डेलाको जीवनगाथा नियाल्दा उनले भोगेको पीडा र संघर्षको मैदानमा काला जातिहरुले पाएको दुःखको कहानी छिचोल्दै गर्दा म त्यही जर्ज फ्लोइडले मर्नुअघि चिच्याएको सुन्छु । संसारलाई पाठ सिकाउने अमेरिकामा पनि मानिसहरु आजको समयमा पनि रंगभेदको शिकार भए रे भनेको सुनेर छक्क परेको म फेरि उही हब्सी केटीलाई सम्झन्छु ।

भन्छु, ‘धन्न काली तिमीले सह्यौ । जसरी हामीहरुले तिमीलाई काली देखेर हेप्यौं । तिमीलाई देखेर हँसिमजाक गर्यौं । बिना अनुमति तस्बिर खिचेर अर्काको अधिकारमाथि धावा बोल्यौं । तिमीहरुको स्वतन्त्रतालाई मजाकको बिषय बनायौं । अपमान गर्यौं’ ।

उसको त्यो शालिनता सम्झेर आज पनि म उसलाई सम्झन्छु । र, भन्छु, ‘ओ… ब्लाक् ब्यूटी । यू आर ग्रेट… ’

विगतमा अधिकारका लागि हुने संघर्ष र लडाई । जातीयता, उन्मुक्ति र त्यसका निम्ति चर्केका द्धन्द्ध । अभाव र गरीबीमा पिल्सिएका मानिसहरु र उनीहरुले चाहेको समतामुलक समाजको परिकल्पना । अनि इतिहासमै भद्दा मजाकको बिषय बनाइएका रंगभेदका घटना, खसीबोका झैं बिकेका मानिसहरु र दासप्रथा । यी एउटा कालखण्डमा मानिसहरुले भोगेका दर्दनाक कथाहरु हुन् ।

यसबारेमा एउटा चलचित्र बनाउँदैछु म ।

जहाँ म आज नायकको रुपमा जर्ज फ्लोइडलाई देख्छु । नायिका त्यही दुबईमा भेटिएकी हब्सी केटीलाई राख्छु । जर्ज फ्लोइडलाई बिच सडकमा घाँटी थिचेर मार्ने त्यो प्रहरी अधिकारी देरेक माइकल चाउभिनलाई भिलेनको रुपमा लिदैछु खासमा म आजको एक्काइसौं शताब्दीमा पनि यस्ता घटना हुन्छन् भनेर म संसारलाई देखाउन चाहन्छु । मेरो चलचित्रको निर्देशक उनै पुलित्जर बिजेता किशोरी डर्नेल्ला फ्राजीर हुनेछिन् किनभने उनी एउटी नश्लीय बिभेद बिरुद्धकी एउटी नारी हस्ताक्षर हुन् । जसका कारण आज जर्ज फ्लोइडले न्याय मात्र पाएनन्, रंगभेद बिरुद्धको एउटा नयाँ इतिहास पनि रचिएको छ । जसरी उनका पुस्ताले गोराबिरुद्ध लडेका थिए । नश्लीय चेतको बिजारोपण गरेका थिए । एउटा चेतना भरेका थिए ।

ओ…डर्नेल्ला, तिमी पनि त काला नै हौ । तिमीमा छ, कालाहरुको रगत । तिमीमा पनि त छ, कालाहरुको बिज । जसरी तिमीले जर्जमाथि भएको अत्याचार र अमानवीय क्रियाकलापको पटाक्षेप गर्यौ । आफ्ना पूर्खाहरुको इज्जत र मान बढायौं । युगौँयुग संसारले तिमीलाई चिन्नेछ । सम्झनेछ तिमीलाई मानव जातिले एउटी साहसी र हिम्मतिली नारीको रुपमा ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button