मुक्तकमैया र मन्त्रीमण्डल: मालिक ! हजुरकै दास बस्न पाऊँ

लघुकथा

हरिप्रसाद गौतम

पहिलेका वर्षभन्दा यस वर्ष कमैया मुक्तिका नारा निकै जोडले घन्के । यसै विषयमा जोडिएर ठुला ठुला मुद्दा उठे । सङ्घसंस्थाहरू खुले । कार्यकर्ताहरू कर्मचारीजस्तै परिचालित भए । इतिहासमा निकै ठुलो परिवर्तन हुन लागेको हो कि भन्ने आभाष भइरहेको थियो । कुनै समयमा शोषकले कुम्ल्याउने रकम गाउँगाउँमा पुगेको र असहाय वृद्धलाई दिइने भत्ताको सुरूवात भएकोभन्दा पनि ठुलो लाग्ने यो परिवर्तनको खाका पनि निकै रोचक ढङ्गले कोरियो ।

कमैयाबाट मुक्त भएर आफ्नो स्वतन्त्र जीवन जिउन कसलाई पो मन लाग्दैन र ? यस्तै चाहना बोकेका र पुर्खाकै पालादेखि कसैको दाससरह भई बाँचेका थुप्रै नागरिकमध्ये एक जना कमैया जीवन व्यतित गरिरहेको नागरिक थियो नन्दु । आफ्नो एउटा सामान्य जीवन बिताउने आधार भए त जे गरेर भए पनि ज्यान पाल्न सकिन्थ्यो भन्ने कुरा उसका मनमा खेलिरहे । सधैं पीडाले नलाग्ने निँद उसलाई यसपालि हर्षका कारणले लागेन । रेडियोबाट फुकिएको यो मुक्तिको समाचारले कति सामन्तले निन्याउरो मुख पारे भने कतिले चाहिँ “हेरौँला हामी पनि” भन्दै निश्चिन्त रहे ।

नन्दुको परिवार मुक्त भयो । बल्ल बल्ल स्वतन्त्र भएका परिवार कहिले कसलाई कहिले कसलाई भेटेर रमाए । भेटघाट र खुसी बाँड्ने काम सकिएसँगै नन्दुलगायतका मुक्त कमैया बाँच्ने भविष्यको गोरेटो र खाका पनि पूरै मेटिए । न खाने अन्न न सन्तानको शिक्षादीक्षाको कुनै बाटो भयो उनीहरूको । हिजो एउटै मालिकको घरमा ढुक्कले बसेको परिवारले आज गाउँभरि मागेर पनि छाक टार्न सकेन ।

यता नन्दु पुरानै मालिककहाँ आएर हजुरकै दास बनी बस्न पाऊँ भनी विन्ती बिसाउँदै थियो भने उता यस्तो नारा बनाएर तिनै गरिबको भोटले बहुमतका साथ चुनाव जितेको पार्टीले मन्त्रीमण्डल गठन गरिसकेको थियो ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button