
भोको पेट्मा पटुकी कसी हिँड्ने मेरी आमा
गजलः आमा
एक्लो प्रितम खड्का
रुपन्देही
मेरी आमा तिम्लाई सधैं मात्र मेरो भर थियो
बुढ्यौलीमा साथ बनोस् भन्ने मात्र रहर थियो ।
भोको पेट्मा पटुकी कसी हिँड्ने मेरी आमा
बुढेसकालमा तातो पानी नदेलाकी डर थियो ।
मेलापातको एक मुठी गास बाँड्थ्यौ साँझ आइ
मलाई थियो बाक्लो लुगा तिम्रो नाङ्गो हर थियो ।
पीडा थिए, चोट थिए, मुस्कुराउँथ्यौ मेरा अघि
शीतको थोपा घाम छेक्ने छानो भने खर थियो ।
दिइ शिक्षा ठुलो मानिस बनाउने सपना देख्यौ
गाउँमा भ्रष्ट मुखियालाई तिर्ने लाखौं कर थियो ।
याद आउँदा रुन्थ्यौ होला सम्झिएर छोरो भन्दै
दुःख साट्न तिम्लाई साथी पिपलु र वर थियो ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)