कविता: विद्रोही कवि श्यामलालको अवसान

एकसाथ रुन्चे स्वरले कोरस गाए, 'यस युगका विद्रोही कवि श्यामलालको अवसान भयो !'

गोविन्द गिरी प्रेरणा

नयाँ सडकमा यौटा चिल्लो सरकारी कार रोकियो
पार्किंग निषेध गरिएको स्थानमा
ड्राईभरले सुनेन
ट्राफिक प्रहरीको सिट्ठी
बरु खुल्यो महिमाशाली कारको
पछिल्लो ढोका
र निस्किए
यो युगकै विराट विद्रोही कवि श्यामलाल ।

अहो मेरा मित्र पो हुन् त कवि श्यामलाल
म गाडी नजिक पुगेर वोलाएँ
कविजी सञ्चै हुनुहुन्छ ?
धेरै दिन पछि पो देखिनुभयो नयाँ सडकमा ?
मेरो वोली उनको कानमा पुग्नु अघि नै
छेकिसकेका थिए
उत्तरआधुनिक चाकरहरुले
तीनको भीडले पुरिइसकेका थिए कवि श्यामलाल !
कसरी सुन्न सक्थे तिनले
म कुनै वेलाको मित्रको आर्तनाद लाग्ने अभिवादन !

म पुगें नजिकको चिया अड्डामा
जहाँ भेटिन्थे कवि श्यामलाल नियमित
त्यो चिया अड्डा त्यही थियो र त्यस्तै थियो
र त्यहाँ थिए श्यामलालका मजस्तै दौंतरीहरु
कागजको स्यानो कपमा
चियाको युगान्तकारी चुस्की लिइरहेका ।
फगत् त्यहाँ कोही थिएन भने
श्यामलाल थिएन
मात्र श्यामलाल थिएन !

चाकरहरुको झुण्डमा मिसिएर
श्यामलाल पुग्यो चिया अड्डाबाट टडकारै देखिने
भर्खरै खुलेको बेकरीको पारदर्शी ढोकाभित्र
र अर्डर गर्यो छोरीको जन्मदिनका लागि
सबैभन्दा महँगो केक !
बेकरी सपको ढोकाबाहिर उभिएर हेर्दा
श्यामलालको आँखामा पर्यो त्यही चिया अड्डा
जुन उ वेरोजगार विद्रोही कवि छउन्जेल
समय कटनी अड्डा थियो
हाजिर गर्नु नपर्ने अनिवार्य अड्डा थियो
कसैले यसो एक कप चिया ख्वाईहाल्छन् कि भनेर
आशाका नजर तेर्स्याएर कुर्ने ठाउँ थियो ।

दरवार मार्गको ब्राण्डेड कम्पनीको शोरुमको ब्राण्डेड पहिरनमा
श्यामलालको ब्यक्तित्व मजाले खुलेको थियो
गए हप्तामात्रै सपत्नी गएर किनेको पहिरनको
ताजापन अझै वाँकी थियो
त्यसमाथि फ्रान्सेली परफ्यूमले मगमगाइरहेको थियो
त्यो चिया अड्डामा आँखा पर्ने वित्तिकै
श्यामलाललाई वाकवाकी लाग्ला जस्तो भयो
मानौं त्यहाँ चिया सुर्क्याईरहेका अदना कविहरुको
पसीना र मयलको ठस् ठसी गन्ध उसको नाकमै ठोक्किएको छ
श्यामलालले हुलुक्क गर्यो र सडक छेउमा पिच्च थुक्यो
जसरी कुनै वेला विद्रोही कविको छविमा
नि:शुल्क सस्तो ठर्रा मज्जाले धोकेर सुतेको भोलिपल्ट
विहान विहान आउँथ्यो हुलुक्क ।

चिया पसलमा कविहरु
गम्भिर मुद्रामा चिया सुर्क्याउँदै थिए
अनन्त शोकमा डुवेका उनीहरुलाई मैले सोधें
हैन किन शोकमुद्रामा हुनुहुन्छ तपाईंहरु?
सवले एकसाथ रुन्चे स्वरले कोरस गाए
यस युगका विद्रोही कवि श्यामलालको अवसान भयो !

हतप्रभ भएँ म र प्रतिवादमा चिच्याउन खोजें
कवि श्यामलाल मरेको छैन,
मैले भर्खरै देखेको नयाँ सडकमा !
तर मेरो वोली निस्किरहेको थिएन
उनीहरुले मेरो कुरै सुनेनन्
मलाई हठात् ब्रम्ह ज्ञान भो-
हो मेरा मित्र, हामी सवैका मित्र
विद्रोही कवि श्यामलालको अवसान भएकै हो
मैले देखेको श्यामलाल त
त्यो आदिम श्यामलालको खोल ओढेको
फगत् एक पुतला हो
फगत् यौटा डमी मात्रै हो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button