
गर्नु गरे
कविता
राजेन्द्र गुरागाईं
विराटनगर ।
गर्न त गरे
गर्नुसम्म गरे
संविधानको हुर्मत झारे
संसदको उठिबास लाए
सबैभन्दा ठुलो त
देशको सर्वोच्च निकायको खिल्ली उठाए
कतिलाई गोटी बनाए
गर्नुसम्म गरे
न्यायालयमा नग्न नाच देखाए
गति छाडे, मति छाडे
जनतालाई कङाल बनाए
गर्नुसम्म गरे ।
दर्जनौं पटक गठन गरे
विगठन गरे
ढल खाए, मल खाए
बालुवाटार बेचे, नदी बेचे
साउदी र खाडीमा मान्छे बेचे
गर्नु गरिसके
ईमान बेचे, नैतिकता बेचे
लम्पसार भएर स्वाभिमान बेचे
गर्नु गरे
भनेर साँधि नै छैन
अब
देश बेच्न तयार छन् मुलुकमाराहरू ।
गर्नुसम्म गरिसके
लौ न, जागौं जनता जागौं
चुप नबसौ
गर्नुसम्म गरे । गर्नुसम्म गरे ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)