कविता: घरहरु बुढा हुन्छन्, रुखहरु पनि

शहरबाट गाउँ पुग्दा मैले हाम्रो घर पनि बुढो पाएँ ।

सुमन घिमिरे

सानोमा किन हो किन
म आफूबाहेक
अरु सबै चिज ठुला लाग्थे
अनि सोच्थें
ठूलो कसरी हुने हो ?
ठूलो कहिले हुने हो ?

सानैमा
मेरो घर नजिकै
खेतको मध्य भागमा
एउटा जवान रुख देखेको थिएँ।

जवान भएरै होला,
रुखका
प्रशस्तै हाँगाहरु थिए,
हाँगामा पातहरु थिए,
लटरम्म फलेका फलहरु थिए
अनि यही रुखको वरिपरि चराहरु झुम्मिन्थे
फेदमा आराम गर्ने गोठालेहरु काफी हुन्थे।

आज निकै समयपछि
शहरबाट गाउँ पुग्दा
मैले हाम्रो घर पनि बुढो पाएँ,
खेतको मध्य भागमा रहेको
त्यो पुरानो रुख पनि बुढो पाएँ ।

मलाई कहिल्यै लागेन
वा मैले कहिले सोचिन
घरहरु बुढा हुन्छन्
रुखहरु पनि बुढा हुन्छन् ।

रुख ,
भर्खरै डढेलोले सखाप पारेर
रहेको ठुटा जस्तै देखिन्थ्यो
न हाँगा थिए,
न त कुनै पातहरु,
रुखको जवानी पुर्ण रुपमा हराईसकेको थियो ।

यो बुढेसकालमा
बुढो रुखको वरिपरी
न सन्तानहरु थिए,
न त कोही छिमेकी
न त गोठालेहरु नै ।

जवानीमा
जे पनि आफै गर्न सकिँदो रहेछ,
यो रुखलाई अहिले लाग्दो हो,
सन्तान चाहिने भनेकै बूढो भए पछि रहेछ ।

एक छिन म आफैं तिर फर्कें,
आफ्नै अनुहार हेरें,
आफ्नै शरिरलाई छाँमे,
मेरा कपाल फुल्न थालिसकेछन
आँखाले टाढाको देख्ने छाडिसकेछ
अलिक टाढा हिंड्दा खुट्टा धरमराउने भएछन् ।

साँच्चै म जवान नभएको भए
म जस्ताको त्यस्तै भाको भए
रुखहरु कहिल्यै बूढा नहुने रहेछन् ।

बूढो रुख देखे पछि सोच्दै छु
यो भन्दा ठुलो नहुने कसरी हो?
यो भन्दा ठूलो नहुने कहिले देखि हो?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button