
हजार वर्षको प्रेमकथा
कथा
रोहेज खतिवडा
त्यहीँ हो मैले पहिलो पटक राजकुमारीलाई देखेको । पहिलो पटक देखेको मेरी राजकुमारीको हरियो सल।
बाटोका दुवैतिर रुख थिए, सुनौला पात भएका । पात कुनै सेता त कुनै राता पनि । ती रुखका हाँगा फैलिएर बाटोलाई छहारी दिइरहेका थिए । आकासमा पूर्णिमाको जून थियो, चहकिलो, बाटुलो । बाटोको दुवैतिर मखमली दुबो फैलिएको थियो, सुनौलो रङको । दुबोका पातमा शीतका थोपा झुण्डिरहेका थिए । हरेक थोपामा जुन मुस्कुराएर होला, तीं मोतीजस्तै देखिएका थिए । बीचबाटो थियो सिंगमरमरले बनाइएको । आकासको पूर्ण जून आएर थपक्कै सिंगमरमरमा बसेको थियो । म समात्न खोजिरहेको थिएँ जूनलाई । तर, मेरो अघिअघि भागिरहेको थियो त्यो, जुनको डल्लो ।
अचानक उड्यो एउटा हरियो सल मेरो छेवैबाट । त्यसमा सेता र काला धर्साले कोरिएका बुट्टा थिए । म त्यही उडिरहेको सल पछ्याउन थालेँ । समात्न खोजेँ, समात्नै सकिनँ । त्यो त उड्दै उड्दै झन पर गयो । अनि अलि पर पुगेर एउटा रुखको बुटामा अल्झियो ।
कोही हाँसेको आवाज आयो सल अल्झिएको ठाउँबाट । कुनै युवती हाँसिरहेझैं । मीठो आवाज कानका पर्दामा ठोक्कियो ।
‘यता आऊ राजकुमार!’ आवाज उसैको थियो ।
म त्यतै दौडिएँ । जब म दौडिन थालेँ जून पनि दौडिन थाल्यो मेरो अघिअघि । हेर्दाहेर्दै त्यो जुन आकासबाट खस्यो । खसेर त्यही सलमा बस्यो ! अनि मतिर हेरेर मुस्कुरायो । यसरी मुस्कुराउने जुन त उसको अनुहार पो बन्यो ।
चञ्चल आँखाले हेरी मलाई । बोलाई फेरि, ‘राजकुमार ।’
म जाँदै थिएँ, ऊ हराई त्यहाँबाट । मैले आवाज सुनेँ, ’अहिले म जानुपर्छ, तिमीलाई फेरि भेट्छु ।’
मलाई राजकुमारीसँग कहिले भेटौं भइरहेको थियो । धेरै दिन त्यो ठाउँमा गएँ तर भेट्न सकिनँ ।
एकदिन यसै नदी छेउमा बसेर टोलाइरहेको थिएँ । टाढा आकाशमा मधुरो उज्यालो देखियो । म प्रकाशको त्यही बिन्दुमा एककोहोरो हेरिरहन थालेँ । बिस्तारै उज्यालोको रङ बदलिन थाल्यो । उज्यालो हरियो हुनथाल्यो । त्यो हरियोमा मसिना काला र सेता रेखाहरु कोरिन थाले । म ती रेखाहरु नियाल्न खोज्दै थिएँ, उज्यालो त उड्न पो थाल्यो । आकाशमा यताउता उडिरहेको हरियो उज्यालो अब म भएतिर आउन थाल्यो । म एकोहोरिएको थिएँ । जब उज्यालो मेरो छेउमा आइपुग्यो, अनि पो मैले थाहा पाएँ, उज्यालो त त्यही हरियो सल पो रहेछ ।
हरियो सल नदीमाथि बस्यो । मलाई बोलायो । बिस्तारै म हरियो सल भएतिर गएँ ।
हरियो सल डुंगा थियो, म यात्री थिएँ ।
सलले भन्यो, ‘तिमी राजकुमार हौ ।’
मैले भने, ‘तिमी हौ मेरी राजकुमारी ।’
सलले भन्यो, ‘तिम्रो र मेरो बीचमा एउटा रेखा कोरिएको छ राजकुमार । त्यो हजार वर्ष पुरानो रेखा अत्यन्तै क्रुर छ । हिंस्रक छ । त्यहाँ हिंस्रक बाघ, भालु, सर्प, गिद्ध बसेका छन् । तर तिमी उनीहरुलाई चिन्न सक्दैनौ । उनीहरु कोही बिरालो, कोही गाई, कोही परेवा, कोही कछुवाको रुपमा बसेका हुन्छन् ।’
मैले भनेँ, ‘म आउँछु राजकुमारी । मायाको खातिर । प्रेमको खातिर । म जस्तोसुकै रेखा नाघेर आउन सक्छु ।’
सलले भन्यो, ‘तिमी आउन त आउँछौ, तर उनीहरुले तिम्रो खुट्टा फलामे साङ्लाले बाँधेका छन् ।’
नभन्दै मेरा खुट्टामा बडेमानका साङ्ला बाँधिएका थिए । ती साङ्ला अनन्त आकाशतिर तानिएका थिए । मेरो घाँटीमा एकदमै बोझिलो फलाम झुण्ड्याइएको थियो । त्यसमा बाँधिएको साङ्लो पनि त्यसैगरी अनन्त आकाशतिर तानिएको थियो ।
मैले सोधेँ, ‘यी साङ्ला कहाँ अन्त्य हुन्छन् ?’
सलले भन्यो, ‘यी साङ्ला स्वर्गबाट आउँछन् र तिमीमा अन्त्य हुन्छन् ।’
मैले भनेँ, ‘म जान्छु स्वर्ग, तोड्छु यी साङ्ला । भन कहाँ छ यो स्वर्ग ।’
सलले भन्यो, ‘स्वर्ग कहाँ छ कसैलाई थाहा छैन । आजसम्म कसैले देखेको पनि छैन । स्वर्ग कथामा छ । जाऊ, कथामा खोज स्वर्ग र पत्ता लगाऊ साङ्लाको सुरुवात ।’
म अलमल्ल हुन्छु । कसरी जाने कथा ? कुन बाटो गयो भने पुगिन्छ त्यो कथा, जहाँ स्वर्ग छ, जहाँ मलाई बाँधिएका साङ्ला खोल्न सकिन्छ ।
कसैले मलाई बाँधिएका साङ्ला पछाडी तान्न खोज्छ । भएभरको बल लगाएर सल डुङ्गामा अडिरहन खोज्छु । सलले मलाई अंगालो मार्छ तर साङ्लाले यति जोडले तानिरहेको छ मेरा खुट्टा चुडिएला जस्तो हुन्छ । म साङ्लातिर तानिन्छु ।
म चढ्न थाल्छु साङ्लाहरुको बाटो । कतबाट आएका छन्, यी साङ्लाहरु ? चढ्दै जान्छु, चढ्दै जान्छु, अनन्त आकाशको अँध्यारो कालो कुनातिर तानिएका छन् तिनीहरु । मलाई डर लाग्छ ।
सल भन्छ, ‘रगतको नदीमा प्रेमको यात्रा सहज हुन्न । नडराऊ । हार नमान । जाऊ, जितेर आऊ ।’
म हिम्मत कस्छु, प्रेमका लागि । म अनन्त आकाशको कालो अँध्यारोमा आफ्ना खुट्टामा बाँधिएका साङ्ला समाउँदै चढिरहेको छु । पल-पल यहाँ उज्यालो मर्दै गइरहेको छ । उज्यालोको सानो कण पनि हराउँदै गइरहेको छ । कुनै जुनकिरी नभएको अँध्यारोमा म पस्छु ।
हाय ! किन यति कठीन छ प्रेमको बाटो ?
अँध्यारोमै म महशुस गर्न सक्छु, त्यहाँ केही आकृति छन् । ती आकृति मलाई परिचित लाग्छन् । उनीहरु प्रेमले मेरो गाला सुम्सुम्याउँछन्, मेरो चिउँडो सुम्सुम्याउँछन् । काँधमा धाप मार्छन् ।
म आवाज सुन्छु, ‘यो अँध्यारोलाई छोडेर तिमी कहाँ गएका थियौ ? किन तिमी कथाको डुङ्गा चढेर यो अँध्यारोबाट हराइरहन्छौ ? कहाँ जान्छौ तिमी ?’
मैले भनेँ, ‘म प्रेमको खोजीमा छु । म प्रेमको उज्यालो चाहन्छु । म अँध्यारोमा बस्न चाहन्नँ । मेरा खुट्टाका साङलाहरु खोल्देऊ ।’
कुनै अँध्यारो आकृति बोल्छ, ‘महशुस गर्ने प्रयास गर, यी साङ्लाले हामी सबै बाँधिएका छौं । यी साङ्लाहरु हाम्रो दिमागबाट सुरु हुन्छ, त्यसपछि कथैकथा स्वर्गसम्म पुग्छ । अनि फेरि हाम्रो घाँटी र खुट्टामा बाँधिन आइपुग्छ ।’
म आफ्नो टाउकोमा छाम्छु। साँच्चै, साङ्ला त मेरै दिमागबाट सुरु भएका रहेछन् । म जोडले तानेर ती साङ्ला दिमागबाट निकाल्न खोज्छु ।
अर्को आकृति भन्छ, ‘यी साङ्ला हाम्रा नियती हुन् । हाम्रा आस्था हुन् । हाम्रा देवता हुन् । हाम्रा अभिमान हुन् । यी साङ्ला बिनाको हाम्रो जीवन व्यर्थ छ ।’
म चिच्याउँछु, ‘मलाई अभिमान हैन, प्रेम प्रीय छ । मलाई आस्था हैन, स्वतन्त्रता प्रीय छ ।’
अचानक मेरो दिमागबाट साङ्ला निस्किन्छन् । खुट्टा र घाँटीका साङ्ला आफैं बिलाएर जान्छन् । ती परिचित आकृतिहरु डराएर चिच्याउँछन्, ‘तिमी हाम्रा लागि प्रीय छौ । यो अँध्यारो छोडेर नजाऊ । उज्यालोको सहरमा तिमीलाई के हुने हो !’
साङ्लाहरु खुलेपछि म बेपत्तासँग यता र उता उड्न थालेँ । म कता गइरहेको छु, के भइरहेको छ, केही पनि थाहा थिएन । आफ्नै शरीर आफ्नो नियन्त्रणमा थिएन । उड्दा–उड्दै अचानक ठूलो आँधी आउन थाल्यो, आँधीले मलाई उडायो।
थाहा छैन कतिबेर म त्यो आँधिसँग उडिरहेँ ।
उड्दा–उड्दै मैले हरियो सल देखेँ । उसलाई पनि आँधीले उडाइरहेको थियो । हामी आँधीमा उडिरहेका थियौं, असहाय तर अलग अलग । हामी एकअर्काको साथ खोजिरेहका थियौं । आँधीले बटार्दै, झटार्दै, हुत्याउँदै गरिरह्यो । हामी घरी नजिक भएर एकअर्कालाई भेटौंला झैं हुन्थ्यो, घरी कहिल्यै भेट नहोलाझैं पर–पर हुत्तिन्थ्यौं ।
अन्ततः मैले उसको एकफेर समात्न पाएँ । अनि हामी नजिकियौं । म ऊसको अंगालोमा बाँधिएँ, त्यसपछि आँखा चिम्लिएर आँधीसँगै उडिरहयौं ।
आँधी रोकिएपछि हामीले आँखा खाल्यौं । अनन्त आकाश थियो हाम्रोअघि । हाम्रै लागि आकाशमा बादलको गलैंचा बिछ्याइएको थियो । त्यसमै हिँडिरहेका थियौं । हामी साँच्चिकै राजकुमार र राजकुमारी थियौं । त्यो हरियो सल उसैले ओढेकी थिई ।
बाटोमा भएका बादल पनि मायावी थिए । ती रङरङका थिए, कोही सेता, कोही नीला, कोही गुलाबी, कोही निकै राता । अनेक रङका थिए । ती रङ बदल्थे । जादु गर्थे हाम्रा लागि ।
हाम्रो शीरमाथि बादलकै गुच्छाहरू उडिरहेका थिए । ती विभिन्न आकार बनाउँथे, फैलिन्थे र परपरसम्म पुग्थे, खुम्चिन्थे । अनि हाम्रो शीरमै आएर थपक्क बस्थे । घरी गुराँस हुन्थे, घरी गुलाफ हुन्थे । बादल संगीत पनि बोकेर उडिरहेका थिए । मीठो धुन वातारणवमा प्रवाहित भइरहेको थियो ।
मैले बादलतिर हात लगेँ । एउटा फूलको गुच्छा थपक्क मेरो हातमा बस्यो । त्यो गुच्छा मैले उसको केशमा सिउरिदिएँ । ऊ मुसुक्क हाँसी । उसको गालामा डिम्पल पर्यो । अनि लाललाल भयो ।
मेरो बायाँ हातले उसको दायाँहात समाएँ । दायाँ हातले बाँया हात समाएँ । संगीतसँगै ऊ मेरो नजिक आई । बादलहरू हाम्रो वरीपरी घेरा हालेर जम्मा भए । हामी बादलको कुञ्ज भित्र पस्यौं । उसले सुस्तरी आँखा थोरै माथि उठाई र मेरो आँखामा हेरी । हाम्रा आँखा जुधे । मेरो शीर झुक्यो । मैले उसको लाल गालामा सुस्तरी चुम्बन गरेँ। ऊ अझै झुकी ।
उसले अनुहार अर्कोतिर फर्काई । मैले उसको अर्को गालामा पनि चुम्बन गरिदिएँ ।
x
अचानक चट्याङ पर्यो ।
त्यसपछि त आरीले घोप्ट्याए झैं ह्वाराङराङ पानी प¥यो । हामी भिज्यौं । हामी टाँस्सियौं । एक अर्काको सहारा बन्यौं ।
मैले माथि आकाशतिर हेरेँ, त्यहाँ तिनै परिचित आकृतिहरु थिए । काला–अँध्यारा बादलमा बसेर उनीहरु माटाका असंख्य घडाबाट पानी घोप्टाइरहेका थिए । उनीहरुमध्ये कोही चट्याङ फ्याँकिरहेका थिए ।
चट्याङले हामी हिड्ने बादलको बाटो चिरा परेछ । बादलको धर्ती फाटेछ ।
पहिले बेस्सरी हल्लियो । हामी एकअर्कालाई दह्रोसँग अंगालो हालेर उभिरह्यौं । हामी डराएका थियौं । हतास थियौं । आत्तिएका थियौं । पानी झरीमा पनि हाम्रो शरीरबाट चिसा पसिना निस्किरहेका थिए । हामी कामिरहेका थियौं ।
हल्लिँदाहल्लिँदै हामी बाटोबाट तल झर्यौं । झर्यौं र झरिरह्यौं ।
पहिले त हामी नीलो आकाशैआकाश झरिरहेका थियौं । हाम्रो चारैतर्फ टाढा–टाढा नीलो आकाश देखिन्थ्यो । तर बिस्तारै त्यो नीलो रङ कालोमा फेरिँदै गयो । केहीबेरमै हाम्रो चारैतर्फ कालैकालो भयो । कहीँकतै केही देखिँदैनथ्यो, खालि कालैकालो थियो । चुक घोप्ट्याएको अँध्यारो थियो । मानौं हामी ब्ल्याकहोलमा पसिरहेका थियौं । बिलिन भइरहेका थियौं । कुनै आवाज थिएन, सुनसान थियो । हामी एकअर्काको मुटु धड्किएको आवाज राम्रोसँग सुन्न सक्थ्यौं ।
हामी एक अर्कालाई दह्रोसँग अँगालोमा कसेर झरिरहेका थियौं ।
झ
रि
र
हे
का थियौं ।
अचानक त्यहाँ हावाहुरी चल्न थाल्यो । यस्तो बेस्सरी चल्न लाग्यो कि हामीलाई यताउता उडाउन थाल्यो । घरी बेस्सरी दायाँ लैजान्थ्यो, घरी उसैगरी बायाँ । घरी माथि उचाल्थ्यो, घरी सयौं फिट तल पुग्ने गरी झारिदिन्थ्यो ।
थाहा छैन हावाले कहाँबाट कहाँ पुर्यायो र फेरि झर्न छोडिदियो । झर्दाझर्दै अलिअलि उज्यालो देखियो, सुनौलो रङको ।
रङ देखिनु नै उज्यालो थियो ।
केहीबेरमा हामी एउटा पोखरीमा पुग्यौं । पोखरीमा गुलाबी पानी थियो । त्यसमा हरिया पात तैरिरहेका थिए कमलका । पातहरु माथि फूलेका थिए, सेता, राता, नीला रङका कमल । सुनौलो घामको प्रकाशमा धपक्क बलेका थिए ती कमल फूल ।
पोखरीको वरपर रुखहरू थिए । रुखमा बसेका थिए, गौंथली, चिरबिरे र अरू चराहरु । तिनीहरू संगीत भरिरहेका थिए वातावरणमा । प्रकृतिका संगीतकार थिए ती चरा । लाग्थ्यो त्यहाँ पियानो, भ्वायलीन बजिरहेको छ । कसैले बाँसुरी बजाइरहेको छ , कसैले हार्मोनियम ।
यो सबैको केन्द्रमा हामी दुई थियौं । प्रेमको पोखरीमा थियौं हामी ।
माछाहरु थिए थरी-थरी रङका । कोही राता, कोही सुनौला, कोही सेता । गुलाबी पानीमा गुलाबी माछा त देख्न पनि मुस्किल पर्थ्यो । हामी दुई पौडिरहेका थियौं यो पोखरीमा । यो किनाराबाट त्यो किनारा, त्यो किनाराबाट यो किनारा । हामी जता पौडिन्थ्यौं, माछा दौडिन्थे हाम्रो पछिपछि । हामी पौडिँदा छचल्किएको पानीले अनेक रङ बनाउँथ्यो ।
पौडिँदै पौडिँदै हामी पोखरीको बीचमा आइपुग्यौं । माछाहरूले हामीलाई चारैतिरबाट घेरे ।
यतिबेलै पोखरीमाथिबाट चारवटा चील उडेर आए । ती चील त हाम्रो वरिपरि पो उड्न लागे । उनीहरू एकदम नजिकैबाट उडेका थिए । नजिकै आएर उनीहरूले आफ्नो पन्जा खोले । ती चीलका पन्जा पनि एकदमै डरलाग्दा थिए । नङ्ग्रामा चक्कु जोडेका थिए । हामी डराएका थियौं । माछाहरूले हामीलाई घेरेर राखेका थिए ।
चराहरूको संगीत एउटा भयावह धूनमा बद्लियो । युद्धको उद्घोषमा ढोल पिटे झैं आवाज आइरहेको थियो ।
मैले नियालेर हेरेँ, ती चील त अँध्यारोमा भेटिएका मेरा परिचितहरु पो रहेछन् ।
एउटा चीलले पोखरीमा केही फ्याँक्यो । एकपटक त पोखरी नै खालि होला झैं गरी पानी आकाशमा उछिट्टियो । माछाहरू डरले आकाशमा यताउता उड्न थाले । कति पोखरीको तलतल पसे ।
ती चीलहरुले राजकुमारीलाई समाउन थाले । एउटा चीलले उसको टाउको समायो । दुई वटाले एक एक हात समाए । एउटाले दुवै खुट्टा समात्यो । म जोगाउन खोज्दै थिएँ तर मान्छेभन्दा ठूल्ठूला ती चीलसँग मेरो केही जोर चलेन । राजकुमारीले पनि कुनै प्रतिवाद गर्न सकिन । उनीहरूले उसलाई मबाट छुटाएर लगे ।
एउटा चीलले भन्यो, ‘तैले रगतको रेखा नाघिस् । हजार वर्षदेखिको यो रगतको रेखा नाघ्ने कसैको पनि भलो भएको छैन । हामी यो हुन दिँदैनौं ।’
मैले सोधेँ, ‘किन ?’
चीलले भन्यो, ‘किनभने कथामा त्यही छ । अँध्यारोमा बाँच्न हामीलाई कथा चाहिन्छ । कथामा हाम्रा पुर्खा छन् । कथामा हाम्रा देवता छन् । कथामा हाम्रो आस्था छ । हामी छौं कथामा ।’
मैले भनेँ, ‘यो अँध्यारोको कथा हो । अँध्यारोको कथाबाट बाहिर निस्किँदैमा हामी कथाहिन हुँदैनौं । म उज्यालोको कथा लेख्न चाहन्छु । म कथामा उज्यालोका देवताहरु चाहन्छु । म कथामा हाम्रा उज्याला पूर्वजहरु भेट्न चाहन्छौं ।’
चीलले भन्यो, ‘हामी यी कथा रच्न सक्दैनौं । कथामा जे छ, हामी त्यही हौं । न त हामी रगतको रेखा नै नाघ्न सक्छौं ।’
मैले सोधेँ, ‘रगतको रेखा किन नाघ्न सक्दैनौं ?’
चीलले भन्यो, ‘रगतको रेखा कथामा परापूर्वकालमा कोरिएको हो । त्यो रेखाको पारीपट्टी अरु नै मानिसहरु छन्, हामीले उनीहरुसँग प्रेम गर्नु हुन्न ।’
म चिच्याएँ, ‘त्यसोभए म मेट्न चाहन्छु यो रगतको रेखा र कोर्न चाहन्छु प्रेमको रेखा । म अँध्यारो कथा र अँध्यारोका देवताहरुमा विश्वास गर्दिनँ । म उज्यालोको कथा चाहन्छु । म ऊज्यालोको मानिस हुन चाहन्छु ।’
मेरो कुरा सुनेपछि चील मलाई त्यत्तिकै छोडेर फर्कियो । केहीबेरपछि म उठेँ, बिस्तारै हिड्न थालेँ ।
त्यस दिनदेखि म निरन्तर हिडिरहेको छु, राजकुमारीको खोजीमा । सयौं पटक मैले मैले, सात समुद्र, सात महादेशको यात्रा गरेको छु । मरुभूमिको उखरमाउलो गर्मीदेखि हिमालयको शरीर जमाउने चिसोसमेत खेपेको छु। हरेक दिन जब सूर्य उदाउँछ, अनि म मेरी राजकुमारीलाई खोज्दै यात्रामा निस्किन्छु र साँझ सुर्य नअस्ताउन्जेलसम्म हिडिरहन्छु । घाम, हावा, झरी, आँधी केही नभनी हिडिरहन्छु ।
एक हजार वर्षभन्दा धेरै भइसक्यो म यसरी भौंतारिएको । रगतको रेखा अझै उस्तै छ । अँध्यारोको कथा अझै उस्तै छ । (aavaasilam.blogspot.com)
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)