
श्रद्दान्जली लेख्न बसेका यिनै हात हुन्, तिमीलाई भोट हाल्न काँपेका
कविताः हार्दिक श्रद्दान्जली उज्ज्वल
सागर काफ्ले
दाई
हामीले नदेख्ने ठाऊँमा पुग्यौ
था छैन
त्यहाँ के व्यवस्था छ
सुनेको छु,
तिमीले देख्छौ रे हामीलाई
देखेर अचम्म नपर्नु है ।
दाई,
यो मलाई अधिकार छ या छैन
तिमीलाई श्रद्दान्जली भन्ने
अनि देशले उज्ज्वल नक्षत्र गुमायो भन्ने ।
तिमीलाई श्रद्दान्जली लेख्न बसेका
यिनै हात हुन्
तिमीलाई भोट हाल्ने बेला काँपेका ।
मेरो सुझाव तिमीलाई
यत्ति खुसी पनि नहुनु कि
मलाई माया गर्ने यति रहेछन् भनेर
त्यत्ति दुखी पनि नहुनु कि
मैले यी सबैको
आकांक्षा पुरा गर्न सकिनँ भनेर ।
यो त
मरेपछि
दुश्मनलाई पनि नराम्रो नभन्ने ठाँउ हो
दानवलाई पनि देवता भन्ने देश हो
तिमी त कमसेकम मानव थियौ ।
भोलि तिम्रो सालिक बन्न सक्छन्
तिम्रा निम्ति लाख कविता लेखिन सक्छन्
तिनै हातहरुबाट
जुन हातमा तिमीले
सर्वश्रेष्ठ अधिकार थमाउँछु भन्दा पनि
हजार मत दिन अगाडि सरेनन् ।
भन्ने छन् भोलिबाट
त्यो बाँचेको भए
देश आकाशमा पुर्याउँथ्यो
हामी सबै तारा सरी चम्किन्थ्यौं
भन्ने छैनन्
हामीले त्यसलाई पातालमा पुर्याउँथ्यौं
र, हामी सबै सुँगुर सरी जोतिन्थ्यौं ।
पछुतो नमान्नु दाई,
तिमीले शासन गर्ने नर्कमा होइन
त्यसैले स्वर्ग आसनले बोलायो ।
मरेको तिमी होइनौ
हामी हौँ
मारिरहने छौं
दुषित आत्मा बोकेर ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
पछुतो नमान्नु दाई,
तिमीले शासन गर्ने नर्कमा होइन
त्यसैले स्वर्ग आसनले बोलायो . Rip!