
मैयाँको ‘आइ लभ यु’
कथा
गुरुदत्त ज्ञवाली
कभर मोडलः लीला अनमोल ।
‘‘प्लिज सर, आइ लभ यु ।”
त्यो दिनको ट्युसन पढ्दापढ्दै लाडिएर छात्रा सरसँग टाँस्सिइन् । सरले छात्राको टाउको उठाए, सम्झाए र फेरि पढाउन थाले । छात्राले अचेल धेरै भयो यस्तो सङ्केत गर्न थालेको । त्यो दिन त विचित्रै गरिन् । त्यसैले सरले पनि त्यसको उपाय खोज्दै छन् । उपाय त अरु के हुन्थ्यो र ? त्यो ठाउँ छोडेर अन्यत्र जानु हो । त्यसो गर्दा पनि भएन भने त्यो स्कुल नै छोड्नु पर्ला । तर उनले त्यसरी सुखै पाएनन् । छात्राले कुर्कुरे माया जालमा भन्ने कि बैँसको भुमरीमा फसाएरै छोडिन् । सर फसे ।
मनोज रुपन्देहीकै बासिन्दा हुन् । त्यो बेलाको कुरो हो, बुटवल बहुमुखी क्याम्पसमा प्रमाणपत्र तहको पढाइ हुन्थ्यो । त्यो तह सकेर उनले त्यसै क्याम्पसबाट बी.एड. पास गरे । अलि महिना नै कुनै जागिर पाइएन । एक दिन उनका बाउले भने, ‘‘हैन हो केटा, यसरी हल्खारिएर हुन्छ र ? जा कतै जागिर खोज्, छोरोमान्छे जहाँ गए पनि त हुन्छ नि !” मनोजलाई बाउको कुराले झन् चसक्क बिझायो ।
मनोज त्यस्तै कोही आफन्तको सहयोग लिएर जागिर खोज्दै जाँदा कालीकोट पुगे । चार वर्ष त्यहाँको कुनै हाइस्कुलमा मास्टरी गर्दासम्म सरुवाका त कुरै छोडाँै स्थायित्वकै टुङ्गो लागेन । स्थानीय स्रोतको दरबन्दीमा गएका, मासिक तलबले मात्र खर्च धान्न सकेन । सरकारी दरबन्दीमा परेनन् । त्यसैले दिक्क लागेर त्यहाँको मास्टरी त्यसै छोडेर नेपालगञ्जमा हान्निए । नेपालगञ्जमा कोही ठूलो मान्छे भनिने बाबुसाहेबसँग सम्पर्क भयो । उनले बोलाए । त्यस बेला मनोजको उमेर त्यस्तै २४ वर्ष हुँदो हो, बिहे भएको थिएन ।
नेपालगञ्जमा पुगेर एउटा नाम चलेको सरकारी हाइस्कुलमा नियुक्त भए । ती बाबुसाहेब त्यसै स्कुलका अध्यक्ष थिए । उनकै कृपा प्राप्त भयो भनौँ । त्यहाँ पनि दरबन्दी त स्थानीय स्रोतकै रहेछ । सरकारी स्केल थिएन तर नेपालगञ्जमा ट्युसन पढाउने काम राम्रै पाइयो । उनले धेरै ठाउँमा समूहगत ट्युसन अर्थात कोचिङ्ग पढाउँदै गए । गणितमा बी.एड. गरेका, ट्युसनको अभाव भएन । अब त सबै आम्दानी जोड्दा खान बस्न र अलिअलि घरमा पठाउन पुग्ने भयो । सामान्य सरकारी जागिरसँग तुलना गर्ने हो भने त्यो भन्दा राम्रै पैसा कमाउने जोहो बन्यो । उहीँ त हो, पैसा कमाउने र खर्च घटाउने लोभले तान्यो मनोजलाई ।
एक दिन उनै बाबुसाहेबसँग अलि मसिना कुरा भए । बाबुसाहेबले, ‘‘मेरो घरमा बस्नुस् र मेरी छोरीलाई पढाइदिनुस सर, खान बस्नको सुविधा दिन्छु” भने । मनोज सामान्य किसानको छोरो, बाबुसाहेबको घरमा बसेर शाही खानपान गर्न पाइने र आवासको समेत सुविधा पाइने भएपछि फुरुङ्ग भए । उनको डेरा बाबुसाहेबको घरमा स-यो ।
त्यो बेला बाबुसाहेबकी छोरीले नौ कक्षामा त्यसै स्कुलमा पढ्थिन्, जहाँ मनोजले पढाउँथे । ठकुरीकी छोरी, उमेर त त्यस्तै १३–१४ को हुँदो हो तर देख्दा मोटी–घाटी, राम्री र रहर लाग्दो जिउडालकी थिइन् । ती छात्राको नाम अलिशा हो तर घरमा मैयाँ भन्ने गर्छन् । अझ मैयाँसा’ब पनि भन्छन् कसैले । राम्री हुनु मैयाँको दोष त थिएन तर उमेर मिल्ने केटाहरुले जिस्क्याउँथे । उनको शरीरको बनोटले जिस्किने खालकी बनाएको थियो । घरको र स्कुलको कडा अनुशासनको कारणले त्यो जिस्क्याहट मैयाँको मनमै गुम्सिन्थ्यो । घरमा आमा बुबा मात्र छन् । दाजु भाइ भए पनि घरमा छैनन्, नैनीताल बसेर पढ्छन् । साँच्चै भन्ने हो भने मैयाँले यसो गफ गर्ने ठाउँ पनि पाएकी छैनन् । हाँसो मजाकको त कुरै नगरौँ ।
आइस्यो गइस्यो भनेर बोल्ने चलन, त्यो पनि अदबका साथ । घरमै सर आएर पढाउन थालेपछि मैयाँ अलिअलि बोल्न थालिन् । विषयगत कुरामा भए पनि सरसँग दोहोरो कुरा गर्न थालिन् । मनोज सर त्यसै पनि शिक्षक मान्छे, त्यो कडा अनुशासन भएको बाबुसाहेबको घरमा बसेका छन् । उनले त चुँ आखर कुरो बिराउन हुन्न । धेरैसम्म बिराएनन् पनि । मैयाँलाई एउटी छात्राको रूपमा हेरे । त्यसै अनुसार पढाउँदै गए । बोलाउँदा पनि मनोज सरले मैयाँ भन्छन् ।
मैयाँ पहिले पढाइमा कमजोर हुन् । उनले मनोज सरसँग ट्युसन पढ्न थालेपछि ९ कक्षामा राम्रो अङ्क ल्याएर पास गरिन् । मनोज सरको खास विषय गणित भएपनि अङ्ग्रेजी लगायत सबै विषय पढाउन कुशल छन् । मैयाँको सफलताले बाबुसाहेब प्रसन्न भए । बाबुसाहेबकी श्रीमती; उनी त्यसै पनि मैयाँरानी हुन् र उनलाई रानीसाहेब भन्ने गर्छन् । त्यता त्यस्तो चलन छ । मानौँ त्यताका ठकुरी राजपरिवार हुन् । जेठा राजा, जेठी रानी, माइला राजा, माइली रानी यस्तै चल्छ । राप्तीपारि महाकालीसम्म त्यस्तै हो ठकुरी परिवारमा । गरिब ठकुरी परिवारमा पनि त्यस्तै छ, हैकम भन्ने कि संस्कार भन्ने ? मैयाँको घरपरिवार त अलि माथिल्लो नै हो । जमिनदार हुन् बर्दियाको कुनै मौजाका । बर्दियामा कच्ची घर मात्र छ, हरवा–चरवा वा कमैया छन् । मुक्तकमैयाको घोषणा भएको भए पनि कसरी कानून मिलाएका छन् कुन्नि ? तर कमैया छन् ।

बाबुसाहेबको नेपालगञ्जको घर, घरबारी टोलभन्दा थोरै भित्र पर्छ । चारैतिरबाट पर्खाल लगाइएको, सानो बगैँचा र ठूलो आँगन छ । घर साढे दुई तलाको छ । तल बरण्डा, ठूलो बैठक कोठा, दुईटा बेडरुम, भान्सा आदि छन् । माथिल्लो तलामा तीनवटा कोठा छन् । एउटा कोठा दुई भाइ छोराहरुको लागि छ तर त्यो कोठा सधैँ बन्द हुन्छ । मैयाँको एउटा कोठा र तेस्रो कोठामा मनोज सर बस्छन् । मैयाँले मनोज सरकै कोठामा गएर पढ्छिन् । आफ्नै घर भएकोले मैयाँले सुत्ने समयमा बाहेक सरकै कोठामा समय बिताउँछिन् । माथिको लागि माथि नै बाथरुम छ । सबभन्दा माथि एउटा ठुलै कोठा छ । पाहुनापाछा आउँदा माथिल्लो कोठामा बस्छन् । बीचको तलामा अगाडि बरण्डा छ । बीचमा गल्ली भएको चार कोठाको ठाउँमा एउटा कोठा बराबर बाथरुमले खाएको छ । गल्लीको ढोका बाहिरपट्टि फलामे च्यानल र त्यसैको भित्रबाट काठको ढोका पनि छ ।
बाबुसाहेबकी श्रीमती त्यसै पनि राम्री हुन् । उमेर खासै भएको छैन, त्यस्तै चालीसकी । रानीसाहेब सिँगारिएर झनै राम्री देखिन्छिन् । उनको सुन्दरता अरु कसैले देख्न पाउन्न । हुन त घरमा नोकर चाकर छन् र पनि उनको धेरै समय भान्सामै बितेको हुन्छ । माछा मासु लगायतका धेरै परिकार सधैँ पाक्छन् । भात खाने पाहुना पनि निकै आएको देखिन्छ । बाबुसाहेबलाई राजा भन्ने गर्छन् । पाहुनाले राजाको चाकरी गर्छन्, भात मार्छन् र जान्छन् । चट्टै सुख्खा खाना खाइयो भनेको दिनमा पनि ६–७ थरिका तरकारी हुन्छन् त्यो घरमा । रानीसाहेब त्यतै हराउँछिन् । बाबुसाहेब भने पाहुना आउँदा र कुनै मेलो मेसो परेको बेलामा बाहेक घरमा बस्दैनन् । कि त दिनभर डुल्न निस्कन्छन् कि त बर्दियातिर । बर्दिया भने पनि नेपालगञ्जबाट धेरै टाढा छैन जमिनदारी । एउटा पुरानो मोडेलको बाइक छ, त्यसैमा आउने जाने गर्छन् । राति अबेरसम्म भए पनि घरमा आउँछन् । औसतमा बाबुसाहेब खराब मान्छे होइनन् भन्छन् चाकरी गर्न आउनेहरुले । हुन पनि उनले भनेर हुने काममा कञ्जुस्याइँ गरेको थाहा छैन । अरु स्वार्थ पनि छैन; बस्, ‘‘राजा अस्सल होइसिन्छ” भनिदियो भने पुग्छ ।
घरमा मैयाँलाई अरु कुरामा चेवा–चासो कसैले गर्दैनन् । त्यस्तो गर्नु पर्छ भनेर पनि उनका बाबु–आमाले ठान्दैनन् । त्यसमा मनोज सरको जिम्मामा छोरी भएकीले संरक्षक नै नियुक्त गरेर राखिएको भन्ने लागेको छ । ती सबै कुरा मनोज सरलाई पनि थाहा छ । बिहानको चिया नास्ता मैयाँको कोठामै पुग्छ । मनोज सरको कोठामा पनि त्यसै गरेर पुग्छ । त्यस पछि मैयाँले मनोज सरको कोठामा गएर पढ्छिन् । मनोज सर त्यस घरमा बस्न थाले पछि अन्यत्र कतै ट्युसन पढाउन जान्नन् । आवश्यक पनि ठान्दैनन् । खान र बस्न बाबुसाहेबकै शानमा पाएका छन् । पैसो पनि तलबै भनेर दिन्नन् तर बेलाबेलामा बाबुसाहेबले खुसुक्क, नगनिकनै नोट दिन्छन् । गन्दा स्कुलको तलबलाई उछिन्छ । उता रानी साहेबले बेला–बेलामा के–के उपहार दिन्छिन् । घरमा राखेको मास्टर भनेर हेप्ने चलन हुन्छ कतै तर मनोज सरले सम्मान पाएका छन् । स्कुलमा पनि पावरवाला सर भन्छन् अरु साथीहरुले । अचेल मनोज सर त मख्खै …! मैयाँमा बाबुसाहेबकी छोरी भएर पनि खासै बडप्पन देखिन्न । कलिली केटी, अनुशासन कडा, दायाँ बायाँ सोच्ने फुर्सद पनि छैन । खाने र पढ्ने, काम त्यत्ति मात्र हो । मनोज सरले जसरी पढाएका छन्, मैयाँको दिमागमा सबै घुसेको छ भन्ने लागेको छ सबैलाई । त्यसैले पनि त्यो घरमा मनोजले जस पाएका छन् । विश्वासपात्र बनेका छन् ।
मैयाँ दिनानुदिन मनोज सरसँग झिम्मिदै जान थालिन् । बिहानको समयमा मनोज सरको नित्यकर्म पूरा नहुँदै मैयाँ त्यो कोठामा पुग्छिन् र पढ्न थाल्छिन् । उनले आफ्नो पहिरनलाई पनि त्यहाँ खासै ध्यान दिएकी हुन्निन् । उनलाई आफू बच्चै छु भन्ने लाग्छ शायद, रात्रि पोशाकमै हुन्छिन् । मनोजले पनि पूरा लुगा लगाउनु भनेर सिकाएका हुन्नन् । छात्रा हो भनेर पनि खासै वास्ता नगरेका हुन सक्छन् र त्यो भन्दा पनि त्यस परिवारमा उनले पढाउने कुरामा बाहेक अरु कुरामा धेरै बोल्ने हैसियत राखेका छैनन् । शाही अदब मनोजले पूरै पालन गरेका छन् ।
पढ्ने–लेख्ने काम सकेपछि मैयाँ कहिले मनोज सरको काखमा लुट्पुटिन र जिस्किन थालिन् । उनको त्यस स्वभावले कत्ति पनि कुर्कुरे बैँसको गन्ध वा खराब नियतको सङ्केत देखा पर्दैन । मनोजले एक प्रकारको स्नेहले नै होला, ती सबै कुरा पचाएका छन्, रुचाएका छन् वा रमाइलो मानेका छन् ।
दिन हिजो जस्तो आज हुन्न । त्यसमा पनि सानै उमेरकी भए पनि मैयाँको स्वभाव पनि सधैँ एकनासले रहेन । सानै पो के भन्ने र ? खाई बढेकी मैयाँ, १५ वर्षमा टेक्दा त उनीभित्रको बैँसको आगाको रापिलो तातो नशा–नशामा दगुर्न थालेको हुन्छ । त्यो राप उनी आफैले थाहा पाउन थालिन् । त्यसो हुँदा हुँदै पनि मनोज सरसँग लाडिने बानी उस्तै छ । त्यहाँ कोही मान्छेले नियन्त्रण गर्ला वा गाली गर्ला भन्ने छैन । हुँदा हुँदा राति सुत्दा समेत मनोज सरको बिछौनामा घुप्लुक्क सुत्न थालिन् । मनोजले इन्कार त गर्थे तर अब त सरलाई पनि टेरे पो ! पढ्ने विषयमा बाहेक मनोज सर मैयाँका साथी जस्ता भए । त्यसो हुँदासम्म मनोज सरले संयम गुमाएको थाहा छैन । यौन जन्य मजाक गरेको पनि पाइँदैन । हो, उनी भित्र रहेको पुरुषले यदाकदा पापको सङ्केत देखाउँछ तर त्यो सङ्केत मनोजको शीरमा पुग्दा त्यो पाप हराउँछ ।
क्रमशः मैयाँ मनोज सरसँग पग्लन थालिन् । दिन दिनै जसो त्यस अवस्थामा रहँदा मैयाँमा कुर्कुरे उत्सुकता बढ्दै गयो । हुँदा हुँदा मनोज सरभित्रको पाप, उनको नियन्त्रणमा रहन सकेन । एक दिन, दुई दिन, महिना र वर्ष बित्न थाले । त्यो क्रम चल्दै गयो । मैयाँले पढ्दै पनि गइन् । पढ्ने काममा कहिल्यै अवरोध भएन । त्यो सम्बन्ध पनि कतै पोखिएन, कसैले शङ्का गरेन र त्यो कोठाभित्रको व्यवहारबाहेक अन्य काम धन्दामा समेत उनीहरुमा कुनै खालको परिवर्तन देखा परेन । बरु मैयाँको पढाइको रफ्तार बढेको देखेर बाबुसाहेब झनै प्रशन्न भए, रानीसाहेब खुसी भइन् । एवं रीतले मैयाँले १० कक्षा प्रथम श्रेणीमै पास गरिन् । एघार पास गरिन्, बाह्र पनि पास गरिन् । उनी स्नातककी छात्रा भइन् । मनोज सरको ट्युसन जारी छ , मैयाँ बस्ने कोठा उहीँ छ र त्यो घरको दिनचर्या पनि उस्तै छ ।
त्यस अवधिमा मनोजले दुईटा काम गरे । एउटा त विषय भने केमा हो, एम.ए. पास गरे । दोस्रो काम भनेको नेपालगञ्जमै घडेरी किने । ती दुवै कामका कारणले नै होला बिहे गर्न भ्याएका छैनन् । घरबाट दबाब भएको हो र पनि मानेका छैनन् । नमान्नुको कारण मैयाँ होइनन् । मैयाँसँगको सम्बन्धले कुनै दिन पोल्नेछ भन्ने सोँच पनि देखिन्न र बिहे गर्नु पर्छ भन्ने पनि लागेको छैन । त्यसलाई त एउटा खेल मात्र सम्झेका छन् । हुन पनि त्यो कोठाको परिवेशबाहेक कतै कुनै पनि प्रकारको गन्ध चुहिएको छैन । आँखा जुधेका छैनन् । प्रेम भन्छन् नि, प्रेम पनि उहीँ पुरानै खालको, छात्रा र शिक्षकको बीचमा हुने प्रेम छ, देखा पर्छ । अहँ…! त्यो भन्दा फिटिक्कै केही देखा पर्दैन ।
बाबुसाहेबले एक दिन छोरीलाई भने, ‘‘मैयाँ…! अब त ठूली भयौ, सरले अप्ठेरो मान्नु होला, तलको कोठामा बस्ने कि ?” मैयाँ बल्ल झल्याँस्स भइन् । कुरो त बिग्रिसकेको थियो । मैयाँ बोलिनन् । त्यो कुरो रानीसाहेबले सुनेकी रहिछन्, ‘‘के भनिस्यो हजुरले मैयाँलाई ? न मैयाँ त्यस्ती छ न मनोज सर नै, छोडिस्यो त्यस्ता कुरा ।” त्यसपछि त्यो कुरो पनि त्यत्तिकै हरायो । बाहिर त कुरो हरायो तर मैयाँको मनमा कुराको बिउ रोपियो । मैयाँ अहिले त वयस्क भएकी छन् । बैँस पनि भरिएको छ । यतिका वर्षसम्म चलेको त्यो खेल, अब त जीवनको सवाल पो भयो । उता मैयाँकी आमाले पनि, ‘‘अँ साँच्चै बैँस हो, केही तलमाथि प¥यो भने..?” मनमा कुरा खेलाइन् । कुरा खेलाइन् अनि, ‘‘आ…, आफ्नै आँखाले नदेखेका कुरामा के चिन्ता गर्ने ?” भन्दै घर धन्दामा लागिन् । उनको खान्दानी सोँच भन्ने कि के भन्ने ? कसैका आँखाले देख्ने कुरा हो र त्यो ?
मैयाँले मनोज सरलाई सरकै मर्यादामा राख्दै, ‘‘आइ लभ यु सर” भन्न थालिन् । पहिले पहिले पनि त्यसरी जिस्क्याउने त गर्थिन् । सरले मजाकमै उडाएका थिए । अब भने मैयाँले कसेरै भन्न थालिन्, ‘‘प्लिज सर आइ लभ यु ।” जीवनकै बाटो सोझ्याएर भन्न थालिन् । शायद अब कुनै प्राविधिक समस्या पनि थपिएको छ, नैतिक सङ्कट थपिएको छ । त्यो खेलको परिणति भौतिक रूपमै देखिने वाला छ जुन कुरा लुकाएर लुक्न सक्दैन । ढाकेर ढाक्न सकिन्न । प्रारम्भिक सङ्केत देखा परेको छ मैयाँमा । त्यति हुँदासम्म त्यस घरका बाबु–आमाले मेसो नपाउनु, नोकर चाकरले मेसो नपाउनु, दाजु भाइले मेसो नपाउनु, यहाँसम्म त ठीकै होला रे । मनोज सर र मैयाँले समेत गट्टा खेलेको हो कि यौन लिला गरेको हो ? अलिकति त मेसो पाउनु पर्ने ! अलिकति त आँखा खुल्नु पने ! एकादेशको दन्त्यकथा जस्तो पनि लाग्छ कुरो सुन्दा । तर, खान्दानी परिवारमा त्यस्तो हुने गर्छ भन्छन् । यो त नेपालगञ्जका एउटा सामान्य बाबुसाहेबको कुरो भयो, अझ माथिका कुरा सुन्ने हो भने कम्मरभन्दा तल नातागोता नै हुँदैन पनि भन्छन् । यो कुरा त सामान्य मानेका पनि त हुन सक्छन् ।
समस्याले हाँगा हाल्न थाल्यो । मैयाँले एकोहोरो जिद्दी गर्न थालिन् । अब भने मनोज सरका आँखा खुले र उनले मैयाँको ‘‘आइ लभ यु”मा कुरो टिमाल्न थाले । मैयाँको कुरो स्वीकारेनन् र उनी त्यस घरबाट फुत्कने वा भाग्ने दाउमा लागे । कहाँ जाने भागेर ? पहिलो कुरो त त्यस घरबाट मनोज सरलाई अन्यत्र डेरा सर्न दिनेवाला छैनन् । बरु सुविधा थप्न तयार छन् । मनोज सरले नै सामान्य अवस्थाकी छोरीलाई पढाएर सक्षम गराएका छन् । पैसै चाहिएको त हो मनोजलाई ? र अर्को कुरा, मनोज अब कहाँ जान्छन् ? स्कुलमा स्थायित्व भएको छ । नेपालगञ्जमा घडेरी किनिएको छ र घर बनाउने तयारी छ । ती सबै कुरा च्यात्तै छोडेर कहाँ जान्छन् ? भागेर पनि कहाँ जान्छन् ? कुरो सजिलो छैन । अनि आफैले आजसम्म पढाएकी छात्रालाई त्यो हालतमा कसरी मैयाँको ‘‘आइ लभ यु” स्वीकार्छन् त ? अरु परिपञ्चले बिहे गरेको भए लौ बाहुनको छोराले ठकुरीकी छोरी बिहे ग¥यो मात्र भन्ने थिए । कसैले ठुलै घरकी कन्या पायो भन्दा हुन् । घरका बाउ आमाको अलिदिन मनमा अमिल्चुके आउँदो हो । यहाँ त अब के हुने हो भन्ने कुरा थाहै छैन । मैयाँको पेटमा छ कि ? भएन बर्बाद ?
निरीह मनोज सर फसे । उनले चाहेर पनि होइन । आफैले बल गरेको पनि होइन । मैयाँलाई फकाएर यौन शोषण गरेका पनि त होइनन् । हो, कुरो जे सुकै भए पनि मनोज सर फसे । शाही खान पान र पैसाको लोभमा फसे । अनि मैयाँले उडाएको चङ्गाको लट्टाइ त समातेकै हुन् । मैयाँको सुकोमल शरीर त चोर आँखाले नियालेकै हुन् । अब पन्छिन पाउँछन् ? अब मैयाँको ‘‘आइ लभ यु”लाई ‘‘यस्” भन्ने हो भने त्यताको परिणाम के हुन्छ ? लगातार पाँच छ वर्षदेखि आफैले ट्युसन पढाएकी छात्रामाथि यौन शोषण गरे भनेर भन्दैन समाजले ?
मैयाँले अरु सबै कुरा त भनिनन् तर पछिल्लो कुरा आमासँग गरिन् । कस्तो अचम्म ? त्यस कुराले रानीसाहेब कत्ति पनि विचलित भइनन्, मानौँ त्यो कोठामा छोरी र ज्वाइँ बस्ने गरेका छन् । र छोरीलाई सोधिन्, ‘‘कति महिना भयो ?’’ मैयाँले नबोलिकनै हातको औँलाले इशारा गरिन्, ‘‘दुई” । दुई महिना भएछ रजस्वला नभएको । रानीसाहेब, मनोज सरलाई पर्खेर बसिन् थप कुरो बुझ्न । मनोज त्यो बेला स्कुलमा थिए । उनलाई त्यो कुरो मैयाँलाई बाहेक अरु कसैलाई पनि थाहा छैन भन्ने छ । स्कुलबाट फर्केर आउँदा रानीसाहेबले गेटैमा कुरेर बसेकी थिइन् । बोल्दै नबोलिकन सरासर दुवै जना मनोजको कोठामा गए । रानीसाहेबले ड्याम्म ढोका लगाइन् र सोध्न थालिन् । मनोजका पसिना छुटे । पहिले चीसा पसिना आए र ओभाए । लगत्तै ताता पसिना आए । ऊनी निथ्रुक्क भिजे । ओँठ मुख सुके । ‘‘ल भन्नुस् सर अब के गर्ने ?” रानीसाहेबले नम्र स्वरमै प्रश्न गरिन् । मनोज एकछिन त बोल्दै बोलेनन् र सुस्तरी ‘‘मेरो केही दोष छैन रानीसाहेब” सम्म भने । रानीसाहेबकी पुल्पुलिएकी छोरी, आफूहरुले बेलैमा ख्याल नगरेको आदि कुरा उनले सोचिन् र कोठाबाट निस्किन् । मनोजको अवस्था थुक्न न निल्नको भयो । उनी न भाग्ने हिम्मत गर्छन् न त भाग्ने बाटो नै छ । घरको चौकिल्ला बन्द छ, अथवा मूल गेट नै बन्द भयो ।
बाबुसाहेब त्यो दिन साँझ झमक्क परे पछि मात्र घरमा आए । कहिल्यै नभएको कुरा आजै मैयाँले भान्सामा आमालाई सघाएकी छन् । आमाले अह्राएर होइन, माथि कोठामा जानको लाजले । उनी बाउको सामुन्ने पनि परेकी छैनन् । खानपीन सकिएपछि बैठक कोठामा बसेका पतिसँग रानीसाहेब नजिकै गएर बसिन् । उनी मैयाँको विषयमा कुरा गर्ने पक्षमा छैनन् । मैयाँ र मनोजको विषयको कुरो बाबुसाहेबले थाहा पाए भने मनोजको त छालै काढ्छन् भन्ने लागेको छ र मैयाँको समेत चरित्रमा दाग लाग्नेछ । मैयाँको मात्र के कुरा गर्ने ? त्यस परिवारको वा खानदानमै दाग लाग्छ । ती सबै कुरामा रानीसाहेब बाबुसाहेबभन्दा चलाक मान्नु पर्छ । उनले भनिन्, ‘‘होइन, हजुर लखनउ कहिले गइसिन्छ ?” लखनउमा उनीहरुका आफन्त बस्छन् । त्यसो त ठूला खाले बाबुसाहेबहरु धेरैको लखनउमा घरद्वार छ । उनका दाजु पनि लखनउमै छन् । दाजुको छोराको बिहेको तय भएको ६ महिना पहिलै नै हो । अबको एक हप्तामा त बिहे नै हो । रानीसाहेबले बाबुसाहेबलाई फस्लाङ्ग फुस्लुङ्ग पारेर भोलिपल्ट बिहानै लखनउ जाने गराइन् र आमा छोरी बिहेको दुई दिन पहिले आउने कुरो मिलाइन् । सधैँ एकोहोरो कुरा गर्ने बाबुसाहेबले त्यो दिन खासै कुरा काटेनन् । त्यो रात मैयाँ पनि तलैको कोठामा सुतिन् ।
बिहानै उठेर बाबुसाहेब एकजना नोकरलाई झिटी बोकाएर लखनउतिर लागे । रानीसाहेबले त्यसको बन्दोबस्त पारेकी थिइन् । पति गएपछि उनले जिल्ला प्रहरी कार्यालय बाँकेमा रहेका उनका भाइ इन्सपेक्टरलाई तुरुन्त आउनु भनेर बोलाइन् र ‘‘कुनै सिरियस केस छ हल्ला नगर्नुृ” भन्दै मनोजलाई उनै भाइको जिम्मामा पठाइन् । मनोजलाई कतै फोन–फान गर्न दिइएन । त्यस कुरामा मनोज नै राजी भएका थिए । उनले आफू प्रहरीको फन्दामा परेको भन्ने बुझे । मैयाँ भने ती सबै कुराको जानकारीबाट बञ्चित भइन् । उसै दिन रानीसाहेबले मैयाँलाई लिएर भारतको रुपहीडिहा अस्पतालमा पुगिन् र कुनै डाक्टरसँग सम्वेदनशील कुरा छ भन्दै छोरीको उपचार गराइन् । आमासँग गएकी छोरीको विषयमा डाक्टरले धेरै उल्टा कुरा भने सोचेनन् । मैयाँको स्वास्थ्य परीक्षणको रिपोर्टले उनको रजस्वला सम्बन्धि गडबडी भएको भन्ने देखायो । ‘‘और कुछ तो नही ?” रानीसाहेबले सोधेकी थिइन् । डाक्टरले कुरो बुझे । त्यस्तो कुनै समस्या रहेनछ अर्थात गर्भधारणको शङ्का थियो, रहेनछ र सामान्य औषधि लिएर आमा–छोरी घरमा फर्के ।
प्रहरी इन्स्पेक्टरसँग गएका मनोज दिनभर जिल्ला प्रहरी कार्यालयमा बसे । उनलाई न कसैले केरकार ग¥यो न कुनै कुरा सोध्यो । उनको मनमा मैयाँको केसमा थुनिन्छु भन्ने लागेकै छ । उनी मैयाँसँग चुकेको कारण कुनै प्रतिवाद वा प्रश्नोत्तरको अवस्था छैन तर कतै हल्ला भएको समेत थाहा पाएका छैनन् । साँझ इन्सपेक्टरले आफ्नै क्वाटरमा लगेर राखे । दिज्यूको आदेश पालना गरेका छन् उनले पनि । इन्सपेक्टरलाई लागेको छ मनोजलाई कुनै केस लागेको छ र दिदीले बचाउनु भएको छ । त्यस कारणले उनले मनोजलाई आदरपूर्वक नै राखे ।
साँझको समाचारमा स्थानीय एफएमले ‘‘पाँच वर्षदेखि एउटी छात्रालाई ट्युसन पढाउँदै आएका शिक्षकले ती छात्रामाथि यौन शोषण गर्दै आएको र उनी प्रहरी हिरासतमा रहेको” भनेर समाचार पढ्यो । त्यो समाचार देशभरि फैलियो । भोलिपल्ट अखबारहरुमा पनि आयो तर शिक्षकको नाम, स्कुलको नाम र छात्राको बारेमा समाचार मौन रह्यो । त्यो समाचार मनोज र इन्स्पेक्टरले सुने । उता रानीसाहेबले पनि सुनिन् । मैयाँले थाहा पाइनन् । धेरैको अड्कल मनोजमाथि रह्यो । त्यहीँ समयमा मनोज स्कुलमा नजानु, बाबुसाहेबको घरमा बसेको घटना मिल्नु, बाबुसाहेब पनि घरमा नहुनु, फोन सम्पर्क नहुनु आदि कारणले मनोजबाहेक अरु कोही हुन सक्दैन भन्ने लागेको छ । त्यो समाचार देशैभरि फैलियो । यता मनोजको विषयमा सोध्नेहरुलाई उनी आमा बिरामी भएर अचानक घरमा गएको हल्ला प्रचार गरियो ।
बाँके जिल्लाकै कुनै गाउँमा घटेको घटनाले अघिल्लो दिनको छात्रामाथिको यौन शोषणको समाचार बनेको रहेछ । ती शिक्षक प्रहरी हिरासतामा फेला परे । स्थानीय नेताहरुको दलगत विवादको कारणले ती शिक्षक र स्कुलको नाम नबताइएको रहेछ । सञ्चारले त सामान्य छिद्र पाएको आधारमा समाचार बनायो । स्थानीय नेताहरुमा उचित न्याय गर्नुभन्दा पनि एउटा पक्षले त्यस घटनालाई लुकाउने र अर्को पक्षले लथालिङ्ग पार्ने भन्ने कुरामा विवाद भएको पाइयो । दोस्रो दिनको पूर्ण समाचारले मनोजमा राहतको सास आयो । उनी इन्स्पेक्टरकहाँ अरु कारणले नजरबन्दमा परेको अनुमान गरे ।
मनोजको घर रुपन्देहीको मोतीपुरमा पर्छ । मनोजबाट उनको घरको पूरा ठेगाना लिएर रानीसाहेबले मोतीपुरमा दुई जना दूत पठाइन् । एउटा सामान्य भिखारीको रूपमा र अर्को जोगीको रूपमा । भीखारीको रूपमा जानेले मनोजको घर पत्ता लगाएर भिक्षा माग्दै गयो । उसले त्यसै घरमा भात मागेर खायो र गफ निकाल्यो । उसले आफ्नो घर नेपालगञ्ज नै बतायो । मनोजका बाबुले नेपालगञ्जमा छोरो भएको कुरा गरे । कुरै कुरामा भिखारीले, ‘‘मनोजसर हो ?” भनेर सोध्यो । कुरा अझ नजिकबाट हुन थाले । त्यस्तैमा त्यस भिखारीले नाटकीय रूपमा, ‘‘ई…बरै ! के भन्ने के नभन्ने ? हजुरको अभाग ..” भन्दै कुरो बीचैमा रोक्यो । कुराले कौतुहलता ल्याएपछि उसले, ‘‘मनोजसरले त सार्कीकी छोरी बिहे गरे, धरोधर्म…।” उसले कसमै खायो । सबै कुरा मिल्छन् । होइन भन्ने ठाउँ नै रहेन । मनोजका बाबु, आमा र घरका सबै डाँको छोडेरै रुन कराउन थाले । बाउले त, ‘‘थुक्क मोरो, बरु क्षेत्री, ठकुरी, थारु वा अरु सजिलो जातकी केटी भगाएको भए हुने” भनेर सरापे । भिखारी गयो ।
अर्को दिन मनोजको घरमा लटा पालेको ठुलै महन्त पुग्यो र फटाफट भविष्यवाणी बर्बराउन थाल्यो । सबै कुरा ठ्याक्क भन्छ बा…! मनोजका बाबुले छोराको विषयमा पनि सोधे । जोगीले हिन्दी मिश्रित नेपाली भाषामा मनोजको नालीबेली सहित, ‘‘छोरो भाग्यमानी छ, बाबु आमालाई उसैले पाल्छ, अथाह सम्पत्ति कमाउँछ, राजा महाराजासँग सङ्गत हुन्छ, अबको एक महिनामा त्यो ठाउँबाट यो घरभन्दा पूर्वतिर सरुवा हुन्छ र मात्र कुनै राजकुमारीसँग बिहे हुन्छ” आदि भन्यो । यो कुरो हिजोको भिखारीले भनेको भन्दा उल्टो भयो । हिजोको भिखारी पागल रहेछ भन्ने लाग्यो । मनोजका बाबुले, ‘‘छोराले त उतै नराम्री केटीसँग बिहे ग-यो भन्ने हल्ला छ नि ?” भनेर सोधेका थिए । जोगीले धर्म र विद्याको कसम खाएर होइन भनेर ठोकुवा ग¥यो र उचित दक्षिणा लिएर गयो । सार्कीकी छोरी ल्यायो भन्दा सातो गएको मनोजको परिवार कुनै ठकुरी सकुरीकी छोरी ल्याउँछ भन्ने सुन्दा शान्त भए । उनले अघिल्लो दिनमै कुरो फुस्काएका थिए । त्यस्तै हो, संस्कार वा जात भात त्यही बिहे गर्दा मात्र सोधिने कुरो हो । बूढा मान्छेले खराब कुरा साचे भनेर भन्ने अवस्था पनि छैन ।
रानीसाहेबको पहुँच माथिसम्म छ । उनले ठुलै शक्ति प्रयोग गरेर मनोजको सरुवा एकै हप्तामा चितवनमा गराइन् । उता लखनउको बिहेको निम्तो मानेर सबै घरमा फर्के । मैयाँ र मनोजको कुरो न बाबुसाहेवलाई थाहा छ न त रानीसाहेबको भाइ इन्स्पेक्टरलाई । तर जब मनोजको सरुवा चितवनको कुनै उच्च मा.वि.मा भएको पत्र त्यस स्कुलमा आयो तब रानीसाहेबले मैयाँलाई तेरो बिहे मनोजसरसँग नै हुन्छ हल्ला नगरेस् भनेर कबुल गराइन् । अब भने मैयाँको खुसीको सास फुलेर ढक्क मुटु भयो । त्यस्तै रानीसाहेबले भाइ इन्स्पेक्टरलाई पनि मैयाँ र मनोजको बारेमा पछिल्ला कुरा गरिन् । मनोजलाई त पहिले नै कबुल गराएकी थिइन् । ‘‘धन–दौलत प्रशस्त दिन्छौँ, सुख हुन्छ, जमाना यस्तै छ बाहुन र ठकुरीको भेद राख्न हुँदैन” भनेर सम्झाइन् । उनले मनोजको घरको समस्या सुल्झाउने र मर्यादित गराउने मेरो जिम्मा भयो भनेर पनि सम्झाइन् । दूत पठाइएको कुरो रानीसाहेब बाहेक अरु कसैले मेसो पाएन । दूतहरुले त भन्ने कुरै थिएन । पहिले लाज र डरले इन्कार गरेका मनोज, रानीसाहेबको ढाडसले त खुसी नै भए ।
साँझको खाना, उनीहरुको भाषामा भुजा खाएर टिभी हेर्दै गर्दा रानीसाहेबले बाबुसाहेबसँग लरक्क पारेर मैयाँको बिहेको कुरा निकालिन् । त्यो दिन रानीसाहेबका भाइ इन्स्पेक्टर पनि आएका थिए । ‘‘कोही माग्न आएको छैन” बाबुसाहेबले छोँटो जवाफ दिए । कुरो घुमाउँदै रानीसाहेबले मनोजसँग जोडेर कुरो गरिन् । एक पटक त बाबुसाहेब झनक्क रिसाए पनि । पछि रानीसाहेबले, “मनोज र मैयाँ यतिका वर्ष सँगै जस्तो गरेर बसेका छन् । नजाने के भयो, भन्न सकिन्न । मैयाँ पनि मनोज सरसँग लहसिए जस्तो छ । छोरीले त मान्छे ।” भनेर कुरो गम्भीर जस्तो बनाइन् । उनले, ‘‘कुरो आजसम्म तलमाथि परेको छैन तर मनोजलाई दिँदा राम्रै हुन्छ” भनिन् । इन्स्पेक्टरले दिदीकै कुरामा अरु जोड दिए । बाबुसाहेबले कुरो गहिरो छ भन्ने अन्दाजसम्म गरे । रानीसाहेबले पुरानो कुरो पटक्कै खोलिनन् । यसरी उनीहरुको कुरो मिल्यो । ठकुरीकी छोरी बाहुनका छोरालाई दिन खासै अनौठो कुरो पनि थिएन र त्यस्ता अरु घटना पनि थिए उदाहरणको लागि । मनोज भने सरुवा भएको स्कुलमा गइसकेका थिए । मनोज र उनका घरतिरको कुरो त टुङ्गिएकै थियो ।
कुरो टुङ्गिएको एक महिनापछि मैयाँ र मनोजको बिहे लखनउबाट भयो । लखनउमा बाबुसाहेबका दाजुको घर समेत भएको र समस्या अलि घुमाउरो परेकोले त्यहाँ पुगेका हुन् । बिहेमा दाइजो स्वरुप गर–गहना र लत्ता कपडा मनोजको जीवनभर पुग्नेजस्तो गरेर दिए । बर्दियाको जमिन्दारीबाट चार बिगाह खेत पनि दिने कबुल गरे छोरीलाई । बिहे सम्पन्न भयो । त्यसै दिन साँझ लखनउमा बाबुसाहेब, उनका दाजु र भाउजू, इन्स्पेक्टर साला तथा रानीसाहेब भएर मैयाँको विवाहको समीक्षा गरे । घरकै कुरो थियो, रानीसाहेबले मैयाँ र मनोजको बारेका सबै कुरा भनिन् । अरु सबै अचम्म त परे नै । कस्सो बदनाम भएको भन्ने कुराले ला..मो सास ताने । बाबुसाहेबले सोझी भनेकी रानीसाहेबले त्यत्रो भूमिका खेलेर सबै परिवारकै मर्यादा बचाउन सकेकोमा धन्यवाद दिए ।
उता मनोज र मैयाँ त्यो साँझै उनको घर मोतीपुरमा पुगे । उनीहरुले पनि विगतदेखि त्यो अवस्थासम्मको समीक्षा गरे । मनोजले पुरानो कुरो खुलेको भए उनको ज्यानै समेत जाने कुरो गरे र घटनाले सकारात्मक मोड लिएर सुखद जीवनको सुरुवात भएकोमा मुवा (रानीसाहेब) प्रति आभार व्यक्त गरे । त्यस घटनाले मनोजको यौनशोषणको ठूलै आरोप लागेर जीवन नै बर्बाद हुने थियो । उता मैयाँको जीवनमा पनि ठुलै धक्का लाग्ने थियो । मैयाँले त, ‘‘मैले आत्महत्या गर्ने योजना बनाएकी थिएँ” भन्दै त्यस सुखद क्षणले अति भावुक बनेर बेस्सरी रोइन् । त्यो सबै कुराको परिपञ्च मुवाले पारिसेछ भनेर खुसी पनि भइन् । अनि मैयाँ फेरि रोइन् र, ‘‘आई लभ यू मनोज सर, आइ लभ यू …” भन्दै मनोजको काखमा टाँस्सिइन् ।
नोजका बाबु–आमा झनै खुसी देखिए । भिखारीको हल्लाले सातो गएका उनीहरु जोगीले सबै पु¥याएको र राम्रो हुँदै गएकोमा मख्ख परे । ‘‘बुहारी लच्छिनकी रैछ ।” आमाले कुरो थपिन् । मनोजका बाबु–आमाले पुरानो संस्कारमा थोरै क्रान्ति गरे त्यो दिनबाट, ठकुरीकी छोरी बुहारी भएर आएकी छन् । ती बुहारी छोराकी पत्नी हुन् । हुन पनि त्यो दिनबाट उनीहरुको घरमा सभ्यताको बत्ती बल्यो । बुहारीले पकाएको भात खान्नन् कि भन्ने डर थियो तर बाबु–आमाले त्यस्तो असभ्यता देखाएनन् । मैयाँ अब त्यो घरमा मैया बनिनन्, कुशल बुहारी वा पत्नीको भूमिकामा रहिन् । विगतको भयङ्कर गल्तीले पनि सकारात्मक मोड लिएर आजको अवस्थामा आउन पाएकोमा उनले अबको जीवनशैली नै परिवर्तन गरिन् । मनोज भने विगत सम्झेर अझै पनि झसङ्ग हुन्छन्, मैयाँको ‘‘आइ लभ यु” ले ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)