
थेग्दैन भो’ देशले
उत्तम विचार
बढ्दो कोभिडको छ सङ्क्रमण झन् बढ्दो छ चिन्ता अरू
हाम्रा शासक छन् निमग्न पदमा लाजै पचेकाहरू ।
ठाडो तोक दिई कुशासन यहाँ चल्दैछ आदेशले
यो निर्वाचन खर्चिलो छ अति नै थेग्दैन भो देशले ।
तिम्रा कर्तुतका सिकार नबनून् यो देशका रक्षक
हाम्रा डाक्टर नर्स कर्मठ कुनै प्राचार्य हुन् शिक्षक ।
चल्ला देश हुँदा सुशासन यहाँ चल्दैन आवेगले
यो निर्वाचन धान्न सकिन्न सजिलै थेग्दैन भो देशले ।
गर्छौ जाल र झेल यो मुलुकमा दुर्गन्ध फैलाउने
हुन्नन् काम कुनै बसी सदनमा होस् सम्झना आउने ।
बढ्ला झन् महँगी अभाव चुलिँदा के हुन्छ संघर्षले
यो निर्वाचनको प्रसङ्ग नरहोस् थेग्दैन भो देशले ।
आफ्नै सम्सदको न इज्जत गर्यौ भन्दैछु धिक्कार म
घाँटी थिच्न पुग्यौ कठोर तनले ठाडो बलात्कारमा ।
राजा मात्र रहे रहन्न पिउसो बुझ्दैन यो चेसले
यो निर्वाचन ख्याल हैन सहजै थेग्दैन भो देशले ।
अध्यादेश ठुलो भयो मुलुकका ढोकाहरू बन्द छन्
लड्छन् आपसमा फुटे दलहरू हुन् शत्रुझैँ द्वन्द छन् ।
उठ्ला देश भन्यो ढल्यो सदनझैँ आशा भरोसा ढले
यो निर्वाचन व्यर्थ भार नबनोस् थेग्दैन भो देशले ।
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
हार्दिक आभार नाम्चानेपाल प्रती यो स्थान र सद्भावका लागि ।