वानीरा दिज्यूले फर्माइस गरिरहनुभयो, मैले गाइरहेँ

सम्झना

इल्या भट्टराई

चारैतिर मृत्युको उत्सव चलिरहेको बेला अब त बिहान उठेर फेसबुक हेर्न पनि डरलाग्ने भएको छ । प्रत्येक दिन फेसबुकका भित्ताहरु रंगिन थालेका छन्, आफ्ना परिचितहरुका लागि लेखिएका शोक सन्देश तथा सम्वेदनाहरुले ।

एकाबिहानै भोरमै आफ्नो घरसंगै टाँसिएको घरमा भइरहेको मानिसहरुको कल्याङमल्याङ्ले निद्रा खुल्यो । मन सशंकित भयो, ’दास दाइलाई केही त भएन ?‘ एकछिन पछि नै सुनिएको चर्को रोदनले कुरा बुझायो, दास दाई पनि अनन्तको यात्रामा प्रस्थान भएछ । लकडाउन हुनुभन्दा केही दिनअघिमात्रै आफ्नै ढोकाअगाडि भेट भएर सन्चो–बिसन्चो सोधेका थियौं ।

मन खल्लो भयो ।

बिहानीका आफ्ना सम्पूर्ण काम–कर्तव्यबाट केही समय पाएपछि फेरि फेसबुक नै पल्टाएँ, त्यहाँ त माथिदेखि तलसम्मका भित्ता आदरणीय वानीरा दिज्यूको अवसानको खबरले भरिएको रहेछ । वानीरादीसँगको चिनजान आजको होइन । साहित्यको क्षेत्रमा कलम चलाउने धेरै नारी हस्ताक्षरकी गुरुआमा हुनुहुन्थ्यो वानीरा दिज्यू । अहिले पनि मानसपटलमा ताजै छ, वानीरा दिज्यूले स्नातकको कक्षामा भूपि शेरचनको ‘हामी’ कविता पढाएको, कन्वेन्ट स्कूलमा पढेकी वानीरा दिज्यूले नेपाली भाषामा अंग्रेजी भाषालाई सम्मिश्रण गर्दै नेपाली विषयको कक्षा लिएको ।

२०३२ सालमा स्नातक तहको परीक्षापछि वानीरा दिज्यूसँग भेट भएको थिएन ।

२०४० सालको मंसिरमा नेपाल इन्जिनियरिङ् क्याम्पस, पुल्चोकका शिक्षक दीपकज्यूलाई पोखरामा निर्माण हुन लागेको ‘पश्चिमान्चल क्याम्पस योजना’को प्रोजेक्ट इन्जिनियरको रुपमा काम गर्नका लागि त्रिविविले खटायो र पोखरा सरुवा गरायो ।

हामी पोखरा पुगेकोलगत्तै ससुराबुवा पनि काठमाडौंको जाडो छल्न पोखरा आइपुगिबक्स्यो । त्यतिखेर हामी पोखराको पश्चिमान्चल अस्पतालनजिकै रानीपौवामा बसेका थियौं ।

दिउँसो सुतेर उठेपछि १ बजेतिर उहाँलाई फलफूल खान दिने गरेकी थिएँ । त्यो दिन फलफूल सकिएको रहेछ । म एक वर्षीय छोरालाई सुताएर हतार हतार महेन्द्रपुलमा फलफूल किन्न दौडिएँ । हाम्रो ठाउँबाट महेन्द्रपुलसम्मको हिँडाई दस मिनेटजतिको हुँदो हो । ठेलावालाको ठेलाबाट मनोयोगले फलफूल छानिरहँदा अकस्मातै ‘इल्या होइन ?’ भन्ने प्रश्नले मलाई आफ्नो अगाडि हेर्न बाध्य तुल्याएको थियो ।

हामी पोखरा पुगेको लगभग पन्ध्र दिनजत्ति मात्रै भएको थियो । न त मैले पोखरामा कसैलाई चिनेकी थिएँ, न त कुनै पोखरावासीले मलाई चिनेका थिए । अचम्भित भएर अगाडि हेर्दा मेरो अगाडि ठेलाको अर्कोपट्टि वानीरा दिज्यू असमञ्जस्को स्थितिमा मलाई हेरिरहनु भएको रहेछ । मलाई असिमित आनन्द लाग्यो । मजस्ती सामान्य विद्यार्थीलाई लगभग आठ वर्षको अन्तरालमा पनि दिज्यूले चिन्नुभयो । खासमा मलाई चिन्न मेरो पिताजी (मदनमणि दीक्षित)को परिचयले पनि धेरै काम गरेको रहेछ । म फलानोकी छोरी भनेर उहाँलाई क्याम्पसकै दिनदेखि नै थाहा रहेछ । मलाई ठ्याक्कै ठम्याइहाल्न उहाँलाई गाह्रो हुन पुगेकोचाहिँ एक त आठ वर्षको लामो अन्तराल, दोस्रो ४२ किलोकी म त्यतिखेर ५५ किलोकी भइसकेकी थिएँ ।

दिज्यूको यतिखेर महेन्द्र पुलमा कसरी ? भन्ने प्रश्नको उत्तरमा दीपकज्यूको पोखरामा भएको सरुवाका साथै मेरो मुखबाट अनायासै ‘ससुराबुवाको लागि फलफूल किन्न आएकी’ भन्ने उत्तरले उहाँलाई चकित पारेछ । उहाँले पछिसम्म भन्ने गर्नुहुन्थ्यो ‘मान्छेले आफ्नो सन्तानको लागि फलफूल किनेको सुनेकी छु । श्रीमानका लागि किनेको सुनेकी छु, आफ्नो लागि किनेको सुनेकी छु, तर ससुराबुवाका लागि यति मनोयोगले फलफूल किन्न बजार आएको भन्ने कुनै पनि महिलाको मुखबाट सुनेकी छैन । मलाई तिम्रो ससुराप्रतिको यो व्यवहार साह्रै मनप¥यो ।’

वानीरा दिज्यूको श्रीमान आदरणीय शंकर गिरिज्यूको पश्चिमान्चल सडक डिभिजनको सुपरिटेन्डिङ इन्जिनियर (सुई)को रुपमा पोखरा डिभिजनमा सरुवा भएको रहेछ । उहाँहरु त्यतिखेर पोखराको सडक विभागको क्याम्पमा बस्ने गर्नुभएको रहेछ ।

पोखरामा भएको भेटको केहि दिनपछि नै दीपकज्यूलाई वानीरा दिज्यूको फोन आयो । उहाँले आफ्नो परिचय दिंदै मसँगको आफ्नो परिचय बताउँदै ‘सुई साबले भेटन खोज्नु भएको छ, मिल्छ भने बैनीलाई लिएर दिउँसो चिया खान आउनुहोस्, ज्वाईँसाब’ भनेर बोलाउनु भएछ ।

दीपकज्यूले २३ वर्षको उमेरमा भारतबाट इन्जिनियरिङको परीक्षा सकेर आउनेबित्तिकै सरकारको पनि केही प्रतिशत स्वामित्व भएको निर्माण संस्था एन.सी.सी.एन. अर्थात नेशनल कन्सट्रक्शन कम्पनी अफ नेपालमा जागिर खानुभएको थियो । सरकारी स्वामित्वको कम्पनी भएको हुँदा त्यहाँका माथिल्ला पदहरुमा सडक विभागकै वरिष्ठ इन्जिनियरहरुको वर्चश्व हुने गर्दथ्यो । एन.सी.सी.एनको जि.एम नै आप्mनो कार्यकाल सकिएपछि सडक विभागको डि.जी. बन्ने चलनजस्तै थियो । एक त दीपकज्यूको उत्साही र परिश्रमी स्वभावले एनसीसीएनमा मात्र होइन, सडक विभागमै पनि उहाँ लोकप्रिय हुनुहुन्थ्यो, दोस्रो भैरहवा–लुम्बिनी सडकमा प्रोजेक्ट इन्जिनियरको रुपमा २३ किलोमिटर सडक र ६ वटा पुलको निर्माणसमयभन्दा निकै पहिला सकेर उहाँले सफलताको जुन झन्डा गाडनु भएको थियो र पछि हेटौंडा नारायणघाट सडकमा पनि उहाँको परिश्रम र लगनशीलताको गाथाले गर्दा उहाँ सडक विभागको कसैबाट पनि उहाँ अपरिचित हुनुहुन्थेन । त्यही भएर आदरणीय शंकर गिरि भिनाजु पनि दीपकज्यूसँग अपरिचित हुनुहुन्थेन ।

त्यो दिन सडक विभागको क्याम्पभित्रको उहाँहरुको क्वाटरमा भएको भेटघाटले हामी दुईको सम्बन्धमा नयाँ आयाम थपेको थियो । हामी गुरुआमा र विद्यार्थीको सम्बन्धबाट दिदीबहिनीको आत्मीय सम्बन्धमा उक्लिएका थियौं । मेरो लागि पनि पोखरा नौलो र अपरिचित । उहाँको लागि पनि त्यहाँ भएको केही सम्बन्धहरु मात्र औपचारिक ।

त्यसपछि नै हामी आफ्नो न्यास्रो मेटाउन एकअर्काको घरमा जाऊआऊ गर्न थालेका थियौं । म एकदिन उहाँकोमा पुग्दा उहाँ भात खाएर दिउँसो घाममा बसेर गालामा भर्खर खाएका सुन्तलाको बोक्रा दलिरहनु भएको थियो । ‘यो सुन्तलाको बोक्रा छालाको लागि निकै राम्रो हुन्छ । यसले छालामा आएको चायापोतो मेटन मद्धत गर्छ । मेरो अनुहारमा कस्तो पोतो आएको थियो, यही सुन्तलाको बोक्रा दली दली पोतो गयो । अहिले हलुका बाँकी छ, तर धन्य भगवानले हामीलाई छालाको यस्तो रंग दिएछन् । अलि अलि पोतो दाग त यो रंगमा देखिँदै देखिँदैन । यस्तो रंग पाउने हामी त भाग्यमानी हौं ∕ ती खलपत्रे गोराहरुको छालामा त सानो दाग पनि प्रष्टै देखिन्छ ।’ उहाँबाट त्यतिखेर पाएको ज्ञानले मैले छाला दागरहित बनाउने सजिलो र सस्तो उपाय सिकेकी थिएँ ।

त्यही दिनदेखि सुन्तलाको बोक्रासँग मेरो अभिन्न साइनो गाँसियो । छालाको स्याहार गर्न के के गर्नुपर्छ भन्ने तत्वज्ञान पनि मैले उहाँबाट तिनै भेटघाटहरुमा पाएँ ।

‘मलाई अरुले आएर मेरो लिपस्टिक लाइदिएको पटक्कै मन पर्दैन । अरुले ओठमा दलेपछि त्यो जुठो भएन ?’, एकदिन मेरो बैठकको सोफामा सजिलोसंग बसिसकेपछि त्यही बिहान कसैले उहाँको लिपस्टिक लगाइदिएको असन्तुष्टि उहाँले पोख्नुभयो ।

उहाँको भनाइ सुनेपछि म पो झसंग भएँ । म मेरा भाउजुहरु र साथीहरुको लिपस्टिक निर्धक्क लगाउने गर्थेँ । अरुले ओठमा दलेको त्यो तत्व जुठो हो भन्ने कुरो मेरो मस्तिष्कमा कहिल्यै पनि आएको थिएन । मैले केही वास्तै नगरी लगाइदिंदा कतै भाउजुहरुलाई वा साथीहरुलाई मेरो जुठोजस्तो लाग्दो हो कि ? तर दिज्यूबाट त्यो दिन ती कुराहरु सुनेपछि भने मैले आजको दिनसम्म कहिल्यै कसैको लिपस्टिक लगाएकी छैन ।

तिनै भेटहरुमा रसिलो र हँसिलो पाराले बोल्न कहिल्यै नथाक्ने उहाँले म आपूm कहिल्यै नगएकी दार्जलिङका छालाका सस्ता र बलिया जुत्ताहरुका बारेमा, त्यहाँ पाइने भारतको लुधियानाबाट ल्याइने सस्ता तर न्याना स्विटरहरुका बारेमा, त्यहाँका स्कूलहरुका बारेमा, त्यहाँका बंगालीहरुका बारेमा, त्यहाँका स्थानीय व्यक्तिहरुका बारेमा धेरै कुराहरु बताउनु भएको थियो ।

‘हेर्नु नानी, मैले पहिलोपल्ट पोखरामा उनलाई भेट्दा उनी आफ्नो ससुराको लागि फलफूल किन्न आएकी रहिछन् । उनको त्यो व्यवहारले नै म आफ्नी विद्यार्थी भएता पनि उनीबाट निकै प्रभावित भएकी थिएँ’, उहाँको घरमा उहाँलाई भेट्न जाँदा उहाँको नन्द मूर्तिकार प्रमिला गिरिलाई उहाँले मेरो परिचय यसरी गराउनु भएको थियो ।

यसरी पोखराको हाम्रो बसाईका केही समय कहिले दिउँसोको खाजा खान एकअर्काको घरमा हामी एक्लाएक्लै आऊजाऊ गर्ने वा कहिले रातिको खाना खान दुवैका दम्पति एकअर्काको घर जाने क्रम दिज्यूको संगतमा साह्रै रमाइलोसँग चलिरह्यो । उहाँका छोराछोरीहरु खर्सांग हो कि दार्जिलिङमा पढ्थे क्यार ! त्यसैले त्योताका उहाँहरु मात्रै पोखरामा हुनुहुन्थ्यो ।

एकपल्ट छोरी बिदामा घर आएको बेला पारेर हामीले उहाँहरुलाई रात्रि भोजनमा डाकेका थियौं ।

त्यतिखेरसम्म म केही लेख्दिनथेँ । साहित्यको पाठकमात्रै थिएँ । विवाहपछि पूर्णकालिक गृहिणी भएर छोराछोरी हुर्काइरहेकी म त्यतिखेर त राम्रो पाठक पनि थिइनँ, त्यसैकारण हामीबीचको सम्बन्धमा साहित्य कहिल्यै पनि सेतु बनेन ।

केहीपछि भिनाजुको पोखराबाट सरुवा भयो । उहाँहरु काठमाडौं फर्किनुभयो ।

पोखरामै हुँदाखेरी मेरो पहिलो व्यंग्य रचना दीपकज्यूकै अग्रसरतामा २०४२ मा प्रकाशित भएको इन्जिनियरिङ् स्मारिकामा छापिएको थियो । धेरै इन्जिनियर तथा इन्जिनियर श्रीमतीहरुले निकै रमाइलो मान्नु भएको त्यो मेरो रचना इन्जिनियरकी श्रीमती भएको नाताले दिज्यूलाई पनि मन पथ्र्यो कि ? तर त्यो स्मारिका उहाँको हात पार्ने कुरो मैले पनि सोचिनँ, अरु उपायद्धारा उहाँको हातमा पनि पुगेन ।

तर, २०४३ सालको कुनै महिना, म काठमाडौं आएको बेला, संयोगले म माइति कालिकास्थानमै भएको बेला र त्यही संयोगले पिताजीसँग कुरा गर्न वानीरा दिज्यूले फोन गर्नुभएको रहेछ । त्यही बेला दिज्यूले मेरो गरीमा पत्रिकामा सद्यः प्रकाशित कथा ‘उसको पुतली’बारे पिताजीसँग चर्चा गर्नु भएछ । पिताजीले इल्या अहिले यहीँ छ भनेपछि दिज्यूले मसँग कुरा गर्ने इच्छा गर्नुभएछ । सो फोनवार्तामा दिज्यूले कथा निकै मनपरेको भन्दै अब तिमीले कलम कहिल्यै नरोक भनेर उत्साह जगाउनु भयो । त्यतिमात्र नभई उहाँले त्यो कथाको पात्र ‘पुतली पनि पक्कै रसियन ठूलो पुतली हुनुपर्छ हो ?’ भनी जिज्ञासा पनि देखाउनु भयो । ‘मैले पनि रुसबाट त्यस्तै पुतली ल्याएकी थिएँ नि, त्यही भएर कथा पढुन्जेल मेरो मस्तिष्कमा त्यही पुतलीको बिम्ब आइरह्यो’ भन्नुभयो ।

यसरी म सिकारु लेखकको कथा पनि दिज्यूले झिँझो नमानी आद्योपान्त पढनुभएको रहेछ । उहाँबाट त्यतिखेर पाएको त्यो उत्साहले पनि मेरो लेखनको बाटो फराकिलो पार्न ठूलो भूमिका खेलेको थियो । बरु त्यतिखेर नपढेको भएता पनि, पछि त्यो कथा पढेता पनि पिताजीले त्यो कथाको कहिल्यै मसँग चर्चा गर्नुभएन । सके नारी मनोविज्ञान र पुरुष मनोविज्ञानको फरकले कथालाई मन पराउनुमा केही प्रभाव पार्दो हो कि !

हामी २०४६ सालसम्म पोखरामा थियौं । त्यहाँबाट काठमाडौं आउँदा कहिले असनतिर, कहिले कमलादीतिर अथवा कहिले कतातिर दिज्यूसंग संयोगले भेट भइरहन्थ्यो । भेटमा दिज्यूले सधैं मलाई ‘ज्वाईँसाबलाई लिएर खानेगरी आउनु है’ भनेर निम्तो दिइरहनुहुन्थ्यो । ती निम्ताहरु औपचारिक हुँदैनथे । त्यही भएर ती अनौपचारिक निम्तो मान्न कहिल्यै साइत जुरेन । मैले दिज्यूको घर देख्ने रहर नेपाल टेलिभिजनको कुनै अन्र्तवार्ता कार्यक्रमले उहाँसँग अन्र्तवार्ता लिँदा उहाँको घर आद्योपान्त देखाएर पूर्ण गराइदिएको थियो ।

पछि नईले आयोजना गर्न लागेको ‘विश्व नारी रत्न सम्मान’ वानीरा दिज्यूलाई अर्पण गर्ने निर्णय भएपछि त्यो निर्णय सुनाउनका लागि मिटिङपछि हामी उहाँको घरमा गएका थियौं । त्यो बेला अवसरै बेग्लै थियो, त्यसकारण दिज्यू भिनाजुसँग नजिकिएर कुरा गर्न सकिएन ।

कहिलेकाहिँ कुनै खास साहित्यिक कार्यक्रममा दिज्यूसँग भेट भने भई नै रहन्थ्यो ।

२०६२–६३ सालतिरको कुरा हुनुपर्छ, म नेपाल इन्जिनियरिङ श्रीमती समाजको महासचिव थिएँ । त्यतिखेर हामीले समाजसेवाका कार्यहरु गर्ने गर्दथ्यौं । त्यही बेला तीजको अवसरलाई नारी सशक्तिकरणको रुप मानी प्रत्येक हृदयमा अनुभूति हुन्छ, कसैले त्यसलाई व्यक्त गर्न सक्छ, कसैले सक्दैन । त्यसैले आफ्ना अनुभूतिहरु व्यक्त गर्न तिनै कहिल्यै कलम नसमातेका हाम्रा सदस्य दिदीबहिनीहरुका हातमा कलम दिएर उनीहरुलाई आफ्नो मनमा जे जे कुरा आउँछ, त्यसलाई जस्ताको त्यस्तै लेख्नु भनेर उत्प्रेरित गरेका थियौं । यसरी उनीहरुले लेखेका कुराहरुलाई ‘मनका कुरा जस्ताको तस्तै’ नाम राखी तीजको अवसरमा स्मारिका निकाल्ने ग-यौं । मेरो महासचिवत्वको कार्यकालमा शुरु गरेको सो पत्रिका प्रकाशन हालसम्म पनि चलिरहेको छ । मेरो दुई कार्यकालमा पाँच वर्षसम्म पाँचवटा अंक मेरै सम्पादकत्वमा प्रकाशित भएको थियो ।

तिनै मेरो कार्यकालको कुनै एउटा वर्षमा सो तीजको कार्यक्रमको प्रमुख अतीथि वानीरा दिज्यूलाई बन्न आग्रह गर्ने निर्णय भयो । मैले दिज्यूसँग सोबारे कुरा गरेँ, उहाँले हुन्छ भन्नुभयो । हाम्री तत्कालिन अध्यक्षले ‘तिमीले निर्णय त ग-यौ, तर उहाँ असाध्यै असजिलो र मुडी हुनुहुन्छ भन्ने सुनेकी छु, फेरि केही अप्ठेरो पर्ला नि’ भनेर मलाई चेताउनु भएको थियो ।

अर्थात इन्जिनियरिङ समुदायमा पनि दिज्यूको निर्भिक, हक्की र मुडी स्वभावको चर्चा हुनेगर्दो रहेछ ।

दिज्यूसँग राम्रै कुराकानी भइरहेको थियो । कार्यक्रमको दिन निश्चित समयमा उहाँलाई लिन म गएँ । कार्यक्रम शुरु हुन बाँकि थियो । विरेन्द्र अन्तर्राष्टिय सभागृहको पश्चिमी हलमा रातो सारी र झरिझुट्ट गहना लाएका दिदीबहिनीहरु ओहोरदोहोर गरिरहेका थिए । म दिज्यूनिरै गएर बसेँ । उहाँले असन्तुष्ट भएर मलाई भन्नुभयो, ‘होइन ! तपाईँ आफू लेखकजस्तो मान्छे, आफ्नो स्थिति नबुझेर तपाईँ अझै श्रीमानकै नामले मात्रै चिनिन चाहनु हुन्छ ? तपाईँ त लेखक हो । आफ्नो लेखन शक्तिको गरिमा नबुझेर के यस्तो नचाहिँदो संस्थामा बसेर आफ्नो समय खेर फालिरहनु भएको ? तपाईँले त स्मारिकाको विमोचन गर्ने कार्यक्रम भन्नु भएको थियो । फेरि के को यो तामझाम हो यो ?’

दिज्यूको चित्त बुझाउन मलाई बेरै लागेन । मैले हाम्रो उद्धेश्य बताएँ । कसरी हामीले कहिल्यै कलम नसमातेका दिदीबहिनीहरुलाई निरन्तर लेख्न लगाइरहेका छौं भन्ने बताएँ । के कसरी हामीले यो एक दिन पनि दिदीबहिनीहरु घरगृहस्थीको झन्झटबाट केहीबेर निकालेर आपसमा मिलेर नाचगान गरी आफ्नो मनको खुसी पाउन सक्छन भनेर व्याख्या गरेँ ।

भन्नै पर्दा यसरी सार्वजनिक रुपमा दिदीबहिनीहरु भेला भएर नाचगान गर्दै रमाएर दर खाने चलन सर्वप्रथम नेपाल इन्जिनियर श्रीमती समाजले ल्याएको हो । नेइश्रीसको यो कार्यक्रमबाट प्रभावित भएन शुरुका केही वर्ष नेपाल पर्यटन बोर्डले यस कार्यक्रम गर्नका लागि केही आर्थिक सहयोग पनि गरेको थियो । र, शुरुको दुई वर्ष हाम्रो यो कार्यक्रमलाई आफ्नो क्यालेन्डरमा पनि दर्शाएको थियो । हामीले शुरु गरेको तीन वर्षपछि बल्ल अरुले पनि यो कार्यक्रम गर्न थालेका थिए । पछि त यो तीज मनाउने चलन देशभरिमात्रै नभएर विदेशमा सम्म पनि व्यापक भएको थियो ।

सो कार्यक्रममा उदघोषण मेरै थियो । दिदीलाई राम्रो लागेछ । पछि स्मारिका विमोचन भयो । स्मारिकाको गुणवत्ता दिज्यूलाई मनप-यो । त्यस कार्यक्रममा एउटा नाटक पनि मन्चन गरिएको थियो । त्यसमा छुच्ची सासुको भूमिका मैले नै निर्वाह गरेकी थिएँ ।

दिज्यूले सो नाटक पनि चाख मानेर हेर्नुभयो ।

हाम्रो औपचारिक कार्यक्रम सकिएर उहाँलाई दर खुवाउन लग्दा दिज्यू प्रसन्न हुनुहुन्थ्यो ।

‘मलाई तपाई यो संस्थामा यति सक्रिय भएर लागेको कत्ति पनि चित्त बुझेको थिएन । तर अहिले तपाईँहरूको यो आफ्नो अनुभूतिहरू लेख्न लगाएको प्रयास, अनि तपाईँको उदघोषण र तपाईँको अभिनय देखेपछि भने म तपाईँको यो सिर्जनशीलतालाई कदर गर्छु । आखिर मानिसले सिर्जना गर्ने न हो । तर लेख्न भने कहिल्यै नछोडनुहोस् । लेखनको मूल्यमा यी कामहरु नगर्नुहोस् ।’

मिति त अहिले बिर्सिएँ, तर २०६७!६८ सालको कार्तिक महिनातिरको कुरा हुनुपर्छ, ‘स्थानीय बीउ बिजन जोगाउने’ कुनै आइएनजिओको तीन दिने कार्यक्रममा रसुवाको धुन्चे जानका लागि मलाई निम्तो आयो । बिहान ७ बजे पुरानो कान्तिपथको होटल यलो पगोडाको अघिल्तिर हामी एक समूह बसमा चढ्यौं । अर्को समूह राष्ट्रिय नाचघर अगाडि उभिरहनु भएको रहेछ । त्यही समूहमा वानीरा दिज्यू पनि हुनुहुँदो रहेछ ।

दिज्यूलाई त्यहाँ देखेर म अचम्भित भएँ । दिज्यू पनि मलाई देखेर सुखद आश्चर्यमा पर्नुभयो । म बसबाट उक्लिनेबित्तिकैको दाहिनेपट्टिको अगाडिको सिटमा झ्यालतिर बसेकी । दिज्यूचाहिँ ड्राइभरपछाडिको अगाडिको सिटमा बस्नु भएको । यात्रा शुरु हुनेबित्तिकै हामी दुईबीच चलेको वार्तालाप लामो समयसम्म सुनिसकेपछि मसँगै बस्नु भएकी महिलाले हाम्रो कुराकानी सजिलो होस् भनी आफ्नो सिट छोडिदिनु भएर दिज्यूलाई त्यहाँ बस्न बोलाउनु भयो ।

त्रिशुलीको त्यो साँघुरो बाटो निकै डरलाग्दो थियो । बेलाबेलामा बाटो देखेर दिज्यू निकै आत्तिनु हुन्थ्यो । यात्राको अन्त्यमा धुन्चे पुगेपछि ‘यस्तो खतरनाक बाटो छ भनेर पहिल्यै भन्नुपथ्र्यो नि, यस्तो थाहा भएको भए त म आउँदै आउन्न थिएँ’ भनेर आयोजकसंग असन्तुष्टि पोख्नुभयो । मलाई भने ‘त्यस्तोे खतरनाक बाटो पनि झ्यालबाट हेरेर सहज भएर बसिरहन सक्ने बहादुर मान्छे’ भन्ने पदवी दिनुभयो ।

यसरी त्यो यात्रामा हामी तीन दिन सँगसँगै अभिन्न भएर बस्यौं । सँगै खायौं । राति एउटै कोठामा सुत्यौं । हाम्रो कार्यक्रम हुने स्थल धुन्चे बजारको देब्रेपट्टि सडकबाट केही ओरालो ओर्र्लिएपछि पुगिने त्यहाँको कुनै सार्वजनिक भवनमा थियो । बिहान ८ बजे शुरु भएको कार्यक्रम दिउँसो १२ बजे खाना खानका लागि रोकिन्थ्यो । खानापछि फेरि शुरु भएर ४ बजेसम्म चल्थ्यो । यसरी हामी दिनमा दुईपल्ट उक्लिन्थ्यौं अनि दुईपल्ट ओर्लिथ्यौं । मलाई उकालो उक्लिन असाध्यै गारो लाग्ने । ओर्लिन भने सारै सजिलो । तर, दिज्यू उकालो मजाले उक्लिने तर ओरालो ओर्लिन भने दुईजनाले दुईतिर समातिदिनु नै पर्ने ।

त्यही कार्यक्रमको समापनको अवसरमा मुख्य अतिथिको रूपमा बोल्दा दिज्यूले आफ्नो भर्खरै प्रकाशित कृति ‘पर्वतको अर्को नाम पार्वती’को एउटा लामो कविता वाचन गर्नुभएको थियो । तर, कोर्समाबाहेक अरु कुनै कविता नसुन्ने हाम्रै समूहले त नबुझ्ने कविता त्यहाँका स्थानीयले पनि बुझेनन् ।

धुन्चेको त्यही सडकमा, स्याफ्रुबेसीं झर्ने बाटोमा साँझपख ओहोरदोहोर गर्दै हामीले आफ्नो मन फुकायौं । दिज्यूले आफ्नोबारे धेरै कुराहरू गर्नुभयो । पद्मकन्या कलेजका आफ्ना पुराना साथीहरुका कुराहरु सुनाउनु भयो । उसै पनि आफ्नी गुरुआमा, त्यसमाथि वरिष्ठ लेखिकाको अगाडि मैले धेरै बोल्ने कुरै आएन । एक त बहिर्मुखी स्वभावकी दिज्यू, त्यसमाथि साहित्यसँग टाढाको पनि साइनो नभएको त्यो समूहसँग दिज्यूको सान्निध्य हुने कुरै थिएन, त्यसैकारण ती तिनै दिन दिज्यूको सान्निध्यको लाभ उठाउने अवसर मैले पाएकी थिएँ । मैले उहाँका अतीतका धेरै कालखन्डहरुसँग परिचित हुने मौका पाएकी थिएँ ।

तेस्रो दिनको कार्यक्रम सकेर हामी स्याफ्रुबेँसी झरेका थियौ । भर्खर अँध्यारोले पाइला टेकेको उपलक्ष्यमा झलमल्ल बत्ती बलेको त्यो साँझमा त्यहाँ पुग्दा पोखराको लेकसाइडको एउटा टुक्रो त्यहाँ फेला परेकोमा हामी दुवैजना खुसीले गदगद् भएका थियौं । डिनर खान कुरुन्जेल हामीले त्यहाँका केही स्थानीय हस्तकलाका केही सामान किनमेल गरेका थियौं ।

फर्किँदा बाटोभरि हामी गफिँदै थियौं । गफ सकिएको कुनै मौन क्षणमा म कुनै एउटा पुरानो हिन्दी गीत गुनगुनाउन पुगेछु । निदाउनु भएछ कि भन्ठानेको दिज्यूले मैले गुन्गुनाएको सुनिरहनु भएको रहेछ । त्यसपछि भने दिज्यूले फर्माइस गर्दै जाने र मैले मधुरो स्वरमा दिज्यूको कानसम्ममात्रै पुग्ने स्वरमा गीत गाउन थालेँ । झन्डै पूरै यात्राभरि गीत गाएँ । पछि पछि त घाँटी नै सुकेकोजस्तो भयो । तर पनि दिज्यूको हृदय आनन्दित भयो भनेर म पनि आनन्दित भएँ ।

त्यसपछि भने दिज्यूसँग यदाकदा भेट भएता पनि ती भेटहरु उल्लेखनीय थिएनन् । अब त झन् मेरो यो जीवनमा कहिल्यै हुने छैन, मात्र सम्झनामा उहाँसंग साक्षात्कार हुने छ ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button