एक प्रशासन कथा ‘प्रमोसनको धुन’

गुरुदत्त ज्ञवाली

‘जाऊ न जाऊ, मेरो प्रमोसनको सवाल छ क्या…! केही पनि हुन्न । कहाँ हाकिम साहेब त्यस्तो हुनुहुन्छ र ?’

आफ्नो प्रमोसनको लागि उनले श्रीमतीलाई हाकिमकहाँ कोसेली लिएर जान फकाउँदै छन् र श्रीमतीले खासै मन गरेकी छैनन् ।

‘अँ… केही भयो भने ?’

श्रीमतीले नमान्नुको कारण त्यो रात कोसेली पु¥याएर घरमा फर्कने समय छैन र अन्यत्र कतै बस्ने जस्तो ठाउँ पनि छैन । भन्नुको मतलब उनकी श्रीमती त्यो रात हाकिमको क्वाटरमै बस्नु पर्ने हुन्छ, जहाँ अहिले हाकिम्नी पनि छैनन् । नजानु त भएकै छैन, श्रीमानको प्रमोसन हाकिमको हातमा छ । त्यसै जागिरले धानिनु पर्ने भएपछि प्रमोसनमा अलिकति चाकडी त हो ? गरेर के बिग्रन्छ र ? चाकडीको नाममा सर्वस्व जाने पो हो कि ? कसरी बचाउने हो त्यो सर्वस्व ? उनकी श्रीमतीको मनमा खेलेको कुरा हो यो । उनले त्यस बारेमा सोचेका छैनन् वा जेसुकै होस् भनेका छन् । के हो त्यो जेसुकै भनेको ? र, श्रीमतीले पनि ‘केही भयो भने ..?’ यहीँबाट उनको प्रमोसनको धुन सुरु हुन्छ ।

उनका हाकिमले चित्तलको सुकुटी निकै मन पराउँछन् । काठमाडौँमा बस्ने मान्छे, बालीघरे जागिर जस्तै भएको थियो काठमाडौँमा उनको जागिर । एकाएक राजधानी बाहिर सरुवा हुँदा मनमनै त सातो गएको अनुभूति गरे । डराए । मुग्लानै पसेझैँ पनि लागे होला । तै तराइमा परे, धनगढीमा । आवरणमा भने काठमाडौँको घर र त्यहीँबाट सरुवा भएको कुरा भजाएका छन् । राजधानीबाट आएको हाकिम भन्ने भएको छ । उनले आफूलाई निकै ठूलो मान्छे ठानेका छन् । पदको ठूलो होइन, पदले त लौ, ठूलै हुन् । त्यो कार्यालयको हाकिम हुन् । कार्यालय पनि चानचुने खालको कहाँ हो र ? खरिदारसम्मका कर्मचारी निवेदनको भरमा ठाडै नियुक्त गर्न र सबै कर्मचारीको पदोन्नतिको सिफारिस गर्ने अधिकार पाएका छन् । सिफारिस त भन्ने मात्र हो, उनैले भन्ने गर्छन्, आजसम्म एउटा सिफारिस पनि बाटोमुनि परेको छैन ।’ जागिर दिने र खोस्ने अधिकार उनको हातमा छ । हो, त्यसैले प्रमोसनको लागि चित्तलको सुकुटी हाकिमकहाँ पु¥याउनु छ । आफैले दिन पनि सकेका छैनन् र हल्ला गर्न त भएकै छैन । त्यसैले त साँझपख लुसुक्क जानु परेको हो । रातको कुरो, उनकी श्रीमतीलाई हाकिमले चरप्पै पार्ने हुन् कि ? यो डर पति–पत्नी दुवैको मनमा छ । उनको नाम पीताम्बर र श्रीमतीको नाम देवका हो ।

पीताम्बर खरिदार सरहका कर्मचारी हुन् । त्यसै कार्यालयमा नियुक्त भएका विगत दश वर्षयता चित्तलको सुकुटी खाने हाकिम कोही आएका थिएनन् कि क्या हो ? पालो आएन । उनको प्रमोसन हुन सकेन । यसपटक मौका परेको छ भन्छन् । अफिसभन्दा उनको घर अलि परै छ । फूलबारी भन्ने गाउँमा ।

त्यो दिन शनिवार पनि हो । सुकुटी बोकेर देवकालाई पठाउँदै छन् । आफै जानु पर्ने नि ! तर सोझै सुकुटी लगेर ‘लौनुस् सर’ भन्न त गाह्रै कुरा हो । जागिरे मानसिकता न हो ! सोझी भन्ने कि टाठी भन्ने देवकालाई ? पति पीताम्बरले सबै कुरा खोलेर अह्राए, नाइँ भन्नै भएन । देवका साँझपख धनगढीस्थित हाकिमको क्वाटरमा पुगिन् । कार्यालय तल्लो तलामा छ र क्वाटर त्यसै भवनको माथिल्लो तलामा छ ।

समय त्यस्तै साँझको ७ बजेको हुँदो हो, देवकाले सुकुटी झोलामा राखेर हिँडिन् । धनगढी बजारमा पुगेपछि एउटा रिक्सा समातिन् र अफिस भएतिर लागिन् । गेटैनेर पुगेपछि एकैछिन् अल्मलिइन् । त्यस्तैमा अलि मन बाँधेर गेटपालेसँग अहिले आउँछु भनेर भित्र पसिन् । उनले त्यस कार्यालयका सबै स्टाफलाई चिनेकै थिइन् । पिकनिक हुन्छ कहिलेकाहीँ । त्यसैबेला सबै स्टाफका परिवार चिनिएका हुन्छन् । पालेले त के भनोस् र ? हुन्छ भन्यो ।

देवका हाकिमको कोठामै पुगेर नमस्ते गरिन् । साँझको बेलामा तरुनी आइमाई, एकाएक कोठामा आउँदा हाकिम झसङ्ग त भए, र देवकालाई उनी आउनुको कारण सोधे । देवकाले पनि आफू घरबाट सुकुटी लिएर आएको कुरै गरिनन् । बरु ‘माइत कञ्चनपुरबाट आउँदा अँध्यारो भयो, यतिबेला गाडी चल्दैन, पैदल जाऊँ भने रात प-यो, बाटोमा गाडीले ढिलो ग¥यो, घरमा पुगिन्न कि भनेर यता पसेकी हुँ’ भनिन् । हाकिमले अलिकति मन तातो गराउने कुरा तानिसकेका रहेछन् । त्यसैले उनको मनको कुनामा बुढौली बैँस सल्बलायो र ‘हुन्छ नि बस्नुस्’ भने । ‘मेडम खोई त ?’ देवकाले सोध्नै आँटेकी थिइन् हाकिमले पहिल्यै भने, ‘मेडम पनि छैनन् … ।’

उनको त्यो भनाइमा मेडम छैनन् तिमी आयौ सजिलै भयो भन्ने पनि हो जस्तो लाग्यो । मेडम नभएको कुरा त देवकालाई पहिल्यै थाहा थियो । उनले, ‘भइहाल्छ नि सर … ’ के भनेकी थिइन् हाकिमले बासनाको थुक घुटुक्क निले । वनको सिकार घरमै आयो भन्ने भयो होला नि हाकिमलाई ।

साँझको भात–भान्सा पियनले तयार ग¥यो । उसले हाकिमलाई खाना खुवाएर घरमा जाने गर्छ । हाकिम्नी हुँदा भने उसले भात पकाउनु पर्दैन, त्यसैले छिटै घरमा जान पनि पाउँछ । उसले हाकिमको कोठामा को पाहुना आउँछन् र को जान्छन् मेसो पाउन्न । जे अह्रायो त्यो ग-यो । त्यसै बेला कुरा मिलाएर देवकाले आफू माइतबाट आएको र सरले चित्तलको सुकुटी मन पराउनुहुन्छ भनेर ल्याइदिएकी भनिन् । उनले पीताम्बरलाई थाहा नदिइकन हरिणको छाला पनि लगेकी रहिछन् । त्यो पनि दिइन् । हाकिमले ज्युँदै चित्तल घरमा आएको छ भन्ने सोचेर होला, ‘भइहाल्छ नि’ भनेर राखे । पोको पनि पाँच किलोजति रहेछ । उसमाथि छाला पनि छ । उनी त्यो सुकुटी र छाला कहाँबाट, कसरी ल्याएकी भनेर सोध्ने मुडमै भएनन् । चित्तलको सुकुटी अझ पाँच किलो । हाकिम दङ्ग परे ।

साँझको भात खाने बेला भयो । पियनले देवका र हाकिमलाई एउटै टेबुलमा बसालेर खाना खुवायो । हाकिमले देवकाको लागि पल्लो कोठामा बिस्तरा लगाइदिनु भने । सबै काम सकेर पियन घरमा गयो ।

जब भात खाएर सके, हाकिम र देवका बैठक कोठामै नजिक–नजिक बसेर एकै छिन टिभी हेर्न थाले । टिभी के हेर्नु थियो र हाकिमलाई ? ध्यान जति देवकालाई कसरी नजिक ल्याउने भन्ने कुरा मनमा खेलेको छ । सिधै भन्नु पनि भएन । उनले टिभीका च्यानल तल र माथि सार्दै गरे । कुनै च्यानलमा आँखा अडिएनन् । बस्ने ठाउँ पनि त्यस्तै थियो । हाकिमले देवकासँग डराइ डराइ नजिक हुने प्रयास गरे । छोइए । टाँस्सिए । अहँ, देवकाले प्रतिवाद गरिनन् । टस्मस् गरिनन् । हाकिमको मन बढ्यो । बुढौली बैँसको योजनामा देवकालाई पारे ।

कथाकार ज्ञवाली

त्यसै मौका पारेर देवकाले पति पिताम्बरको प्रमोसनको कुरा बडो घुमाउरो पाराले गरिन् । ‘यत्रा वर्ष भयो उहाँको प्रमोसन पनि हुन्न, आफ्नो भन्ने कोही छैन । हामी जस्ताले यसरी नै सहने त होला नि सर ?’ हाकिमले देवकाको कुरा महसुस गरे । ‘लौ यसपाली हुन्छ’ यसो भन्दै पुरापुर वचन दिए । कुराले पीताम्बरको ना.सु.मा प्रमोसन हुने भयो । पक्कापक्की भयो तर … ! तर उही त हो, हाकिमको त्यो कुरो पूरा भएमा मात्र त होला नि ! देवकाले मनमा त्यस्तै कुरा खेलाइन् । अब देवकाको तलबितल पर्ने बेला आयो । केही कुछ हुने बेला आयो । लोग्नेको प्रमोसनको लागि देवकाले … सर्वस्व दिनु पर्ने बाध्यता पनि होइन, पीताम्बरले त्यसै होला भनेर हाकिमकहाँ पठाएका पनि होइनन् र पनि त्यस्तै पर्ने बेला आयो । यस्सो हेर्दा देवकाको पनि त बैँस छ । नैतिकता वा संयम गुमाउने हो भने उनको मनमा पनि यौवनले कुत्कुत्याइरहने बेला हो । उनी हाकिमसँग अचम्मले लहस्सिइन् र पनि अर्को मन जब्बर गराइन् ।

हाकिमले अलिकति फोहरै त होइन तर कामुक कुरा निकाले । जिस्किए भनौँ । छोरा–छोरी छन् वा छैनन् ? पेटमा बच्चा छ कि छैन ? बुढा–बुढी कत्तिको रमाइलो गर्नु हुन्छ ? यस्तै यस्तै कुरा गर्दा गर्दै कुरो भित्तामै पु¥याए । देवका मसक्क परेकी देखिइन् । त्यसले गर्दा हाकिमले पनि देवकाको मौन स्वीकृति पाएको अनुभुति गरे र संयम गुमाउँदै गए । सुत्ने बेला हुँदै थियो, देवकाको निम्ति तयार गरिएको कोठा पल्लो थियो तर हाकिमको इशारामा देवका हाकिम सुत्ने कोठामा पुगिन् । हाकिमलाई कतिबेला कामुकताको चित्तललाई सिकार गरूँ भन्ने लागेको छ । यो मनोविज्ञान पनि कमजोर छैन । हाकिमलाई मन लागेको मात्र छ । मुखले अझ सिधा कुरो भनी बिराएका छैनन् । शब्दमा व्यक्त गरेका छैनन् तर इशाराले कुरो सकेका छन् र त्यस कुरामा देवका मञ्जुर भएको बुझेका छन् । त्यति चाँजो पाँजो मिलाउन हाकिमलाई दुई घण्टा लाग्यो । ‘हँ… बर्बाद त हुने होइन ?’ यस्तो पनि सोचेका छन् हाकिमले । अब त कुरो सकियो, कथा सकियो भन्ने लागेको छ ।

घटनाले अचानक दोस्रो मोड लियो । देवका हाकिमसँग अझै लहसिँदै गइन्, बग्दै गइन् । बैँसालु नजर हाकिमतिर फालिन् र फिस्स हासिन् । अनि बाथरुम गएर आउँछु भनिन् । बाथरुममा गएर आउने कुरालाई हाकिमले सुल्टै सम्झे र पलङ्गमा डङ्लङ्ग पल्टे ।

देवका बाथरुममा गएको अलि बेर लगाइन् । कामातुर हाकिमले पर्खेर बसेका छन् भन्ने लाग्यो देवकालाई । मदिराको हल्का नशाले हाकिमकोे मन एकोहोरो गराएको छ । टिल्ल पनि छैनन् र फ्रेस पनि छैनन् । देवका बाथरुममा कुनै शौचादि गर्न गएकी थिइनन् । उनले एकै छिन निकै सोचिन् । ‘आ.. कसले थाहा पाउँछ र ?’ यस्तो पनि लाग्यो । फेरि मनको गियर बटारिन् । देवकाको मन न्युट्रल गियरमा आयो । अनि तत्कालै उनकी साथीलाई मिसकल मारिन्, फोन उतैबाट आयो । र, दिउँसो अह्राएको कुरो गर्न भनिन् । उनले यस काण्डमा हुन सक्ने सम्भाव्य दुर्घटनाको उपाय दिउँसै तयार गरेकी रहिछन् ।

देवकाकी मनपेट मिल्ने साथीको नाम मथुरा हो । उमेरले मथुरा अझै तरुनी छन् । समाजले तरुनी भन्यो भने अन्यथा ठान्ने चलन छ । हुन त तरुण शब्दको स्त्रीलिङ्ग हो । यहाँ तरुनीको अर्थ पनि त्यस्तै हो । मथुरा र हाकिमको चिनजान थियो थिएन तर अहिले एउटा नाटक गर्नु परेको छ । मथुराले पूर्व योजना अनुसार बनावटी शब्दमा हाकिमलाई फोन गरिन् ।

टिरिरिरि… गर्दै हाकिमको मोबाइलमा घण्टी बज्यो । उनले हेलो… भन्ने बित्तिकै मथुराले ‘सर नमस्कार… खोई त सरले दिउसो गरेको कुरा ? म आएकी छु, सर त कता हो कता ?’ हाकिम अल्लमल्लमा परे र सोधे, ‘को रे तपाई ?’ मथुराले त्यस्तै कुनै नाम बताइन् । हाकिमको बानी त्यस्तै रहेछ, कुनै युवतीसँग गफगाफ भयो भने ‘साँझ घरमा आऊ न, कुरा गरौँला’ भन्छन् । हो न हो कुनै युवती आउँदैछिन् भन्ने लाग्यो । उताबाट फोन तारन्तार आउन थाल्यो । अब भने हाकिमले एकैछिन देवकालाई बिर्से । उनी तल झरेर पालेलाई, ‘यहाँ एउटी बैनी आउँदैछिन् माथि पठाइदिनु’ भने । बैनी त को आउँथिन् र फोन भने आएको आइ गर्न थाल्यो । फोनले घरी पालेदाइले छिर्न दिएनन् भन्छ त घरी तल पर्खेकी छु भन्छ । आधारातसम्म हाकिम तलमाथि गरे कुनै बैनी न सैनी कोही आइनन् । को बहिनी आएर के हुने हो भन्ने ख्याल पनि बिर्सेका जस्ता छन् । थकाइ पनि लागेछ, अझै पनि बैनी आउने आशामा बिस्तरामा पल्टेका भुसुक्क निदाए । त्यो नाटकले काम नगरेमा देवकाले अर्को अलि कडा खालको नाटक तयार गरेर मञ्चन गर्न मथुरालाई दिउँसै सिकाएकी थिइन् । पहिलो नाटकले हाकिमलाई लठ््याएछ भन्ने लाग्यो । त्यो कुराको जानकारी मथुरालाई दिएर देवका उनकै लागि तोकिएको अर्को कोठामा सुतिन् ।

भोलिपल्ट बिहानै, रातिको कुरामा ‘सर त कता हराउनु भएछ कुन्नि ?’ भन्दै देवका अरु साँचिली बनिन् । हाकिमको नशा उत्रेको थियो, मुसुक्क हाँसे मात्र । देवका घरतिर लागिन् । हाकिमले आउँदै गर्नुहोला भनेर बिदा गरे । हाकिम देवकाको चक्करमा परेको वा नपरेको भन्ने उनैलाई थाहा छैन तर देवकाको मनमा ‘हाकिम साहेब’ भन्ने शब्दले डेरा गरेको छ । हाकिमले सामान्य भाषामा फेरि आउनु भने । देवकाको मनमा उनी हाकिमकी सुन्दरी देवका भन्ने छाप बस्यो भन्ने लागेको छ ।

भोलिपल्ट, आइतबारको कार्यालय यथासमयमा खुल्यो । देवकाको कारणले हाकिम पीताम्बरसँग प्रसन्न देखिए । पीताम्बर त्यस कार्यालयको असल कर्मचारी भएको गफ अरुसँग पनि गरे । हुन त सुकुटीले मात्र पनि हाकिम प्रसन्न हुने मान्छे हुन् । देवकाको सिकार झण्डैले खेलेका, त्यो पनि देवकाकै मञ्जुरीमा भन्ने उनले बुझेका थिए । कति खुसी भए कति । ती सबै कुरा पीताम्बरले थाहा पाउने कुरै भएन । उनले त हाकिम असल मान्छे हुन्, त्यसैले देवका उनको क्वाटरमा रात बिताए पनि फरक पर्दैन भन्ने विश्वासमा छन् । बढी चाकडी गर्ने स्वभावले पनि त्यस्तो सोच बन्न सक्छ । नत्र अलिकति त शंका उत्पन्न हुनुपर्ने हो । जस्तोसुकै लफङ्गो पुरुषले पनि श्रीमतीलाई हाकिमकहाँ सुम्पन सक्दैन भन्ने कुरा पनि उठ्ला । त्यो कुरो यहाँ नगरौँ, त्यस्ता घटना हुन्नन् भन्न सकिने भए यो कुरो चल्ने नै थिएन ।

केही दिनपछि त्यस कार्यालयको गाडी काठमाडौँ गयो । हाकिमले, देवकाले दिएको सुकुटी काठमाडौँ पठाए । संस्थाको गाडी भएकोले बाटोमा खासै चेक जाँच भएन । भएकै भए पनि हाकिमले त्यो पहुँच बनाएका थिए । त्यो सुकुटीबाट दुई किलो जति केन्द्रका उनकै हाकिमकहाँ पठाउने व्यवस्था गरेका रहेछन् । हाकिमका हाकिमले त्यो सुकुटी खाए, चित्तलकै रहेछ, निकै स्वादिलो लाग्यो भनेर धनगढीका हाकिमलाई फोन गरे । त्यस घटनाले पीताम्बरको डबल प्रमोसन गर्न मिल्ने भए पनि हुने थियो झैँ भयो । समय आएपछि त्यस कार्यालयबाट पीताम्बरको मात्र प्रमोसन भयो । अरु टाठा, जान्ने, योग्यता र अवधि पुगेका तथा अनुभवी कर्मचारी हेरेका हे¥यै भए । एउटा लोसे कर्मचारी भनेर चिनिएका जुनियर कर्मचारी पीताम्बरको मात्र प्रमोसन भयो भन्ने कुरामा सबै अचम्म परे । हाकिमले पनि, ‘मैले त सबैको सिफारिस गरेकै हुँ के भयो कुन्नि ?’ भनेर उम्के ।

त्यस कार्यालयमा पीताम्बरको प्रमोसनको उपलक्ष्यमा सामान्य भोजको आयोजना भयो । मासु र च्युरा, र अरु यस्तै यस्तै त हो… ! त्यसमा रमझम गर्न रहर हुनेहरुलाई रमको पनि व्यवस्था थियो । शुक्रवारको दिन साँझपखको त्यस रमाइलोमा ३÷४ जना महिला कर्मचारी पनि संलग्न थिए । जम्मा जम्मी १५ जना स्टाफ भएको त्यो कार्यालय, पिताम्बरले सम्भव हुनेहरुले श्रीमती पनि ल्याउने भनेका थिए । त्यसो भन्नुको कारण हाकिम आफूसँग नलहसिउन् भन्ने अर्थ देवकाले लगाइन् । … भन्न त श्रीमानको खुसीयालीमा श्रीमती आउँदा रमाइलो हुन्छ भनेर हाकिमले पनि बोलाएका हुन् । देवका झनै बाठी मान्छे, सबै स्टाफका श्रीमतीहरुलाई निम्तो गर्नु भनेर श्रीमानलाई सिकाइन् । उनकी साथी मथुरासमेत त्यस कार्यक्रममा जाने भइन् । हाम्रो संस्कार पनि त्यस्तै छ, महिला कर्मचारीका श्रीमान हुनेहरुका श्रीमानलाई पनि बोलाएको भए हुने ? यो कुरो पनि चलेको हो । तर कसैका पनि श्रीमानहरु त्यसरी जाँदा रहेनछन् ।

सबै गरेर २५ जना जुटे त्यस कार्यक्रममा । खानपिन आदि भयो र रमाइलो भयो । अरु बेलामा त हाकिम असल हुन् भन्छन् सबैले । रमले तातेका बेलामा महिलाहरुसँग कुम जोड्न खोज्छन् । त्यो पनि त्यहीँका महिला स्टाफसँग होइन, अरुसँग । यस्तो उनको मात्र स्वभाव वा समस्या होइन । भन्न त हुन्न र मात्र, धेरै महिला तथा पुरुषमा यो रहर लुकेको हुन्छ र त्यस्तै बेलामा प्रस्फुटन हुन्छ । छताछुल्लै भएको देखिएको छ । कतै त हरिबिजोगै भएको पनि देखिएको छ । कसैले त्यसलाई आनन्द मान्छन्, रमाइलो मान्छन् । फलानो सर कति रमाइलो भन्छन् र फलानी मेडम कति रमाइली भन्नेहरु पनि हुन्छन् । जो त्यस रमाईलोमा सहभागी हुन्नन् त्यसलाई रमाईलो मान्दैनन्, उनीहरुले मात्र कुरा काट्छन् भन्ने भनाइ पनि उत्तिकै छ । हाकिम त्यो सभ्यताभन्दा बाहिरका होइनन् । आजको आकर्षण हाकिमले देवकालाई कस्तो व्यवहार गर्छन् भन्ने कुरा हो । त्यो मनगढन्ते कुरा देवकाले मात्र सोचेकी छन् । त्यसको उपचारमा मथुरा आएकी छन् । अब भने कथाले तेस्रो मोड लिन्छ जस्तो छ ।

खानपिन सँगै कर्मचारीहरु नाच्न थाले, कसैले गाउन पनि थाले । हाकिम त्यसै रसिक मान्छे । जुरुक्कै उठे र नाच्दै देवकातिर हान्निए । हान्निए मात्र, ठोक्किएनन् । त्यस अवस्थामा सँगै नाच्दैमा खोँचे थाप्ने अवस्था थिएन । देवका पनि नाच्न थालिन् । देवका र हाकिमको चाल–ढाल बिग्रला भन्ने लागेछ क्या र ? त्यस्तैमा मथुराले नाचको अनौठो फन्को मारिन् र ट्याक्क हाकिमको कुममा गएर जोडिइन् । यो मथुराको अभिनय हो । देवकासँग पनि हाकिमले कुनै नगर्नु काम गरेका छैनन् । एउटा काकताली परेर नजिक भएका मात्र हुन् । आज त उनका पति पनि सँगै छन् । किन कसैको चित्त दुखाउनु भन्ने लागेछ र हाकिम मथुरातिर सल्के । सँगै नाचे । नाचले सबैमा रोमाञ्च थप्यो । त्यहाँ अरु सबैले त्यस्तै रमाइलो गरेका छन् । कुरो हाकिमको मात्र चल्नु परेको भएर पनि चर्चा भएको हो ।

एकैछिनको त्यो ताम–झामपछि खेल समाप्त भयो । सबै आ–आफ्ना गन्तव्यको धुनमा लागे । संयम तथा चलाक भनेर मानिएकी मथुरालाई हाकिमले के इशारा दिएछन् कुन्नि ? बैँसको नशा लागेछ । उनले देवकालाई, ‘म अहिले आउँछु’ भनेर हाकिमको क्वाटरतिर सोझिइन् । त्यो इशारा हाकिमले पहिल्यै दिएका थिए । देवकाले कुनै काम होला भनेर निस्किन् र पर पसलमा गएर पर्खिन् । पीताम्बर अरु साथीहरुको लहैमा मस्त गफमा थिए ।
मथुराको चाल ढालले त हाकिमसँग अलि इत्तरिएको जस्तो लाग्थ्यो । हाकिमले के सोचेका थिए थाहा भएन । कोठामा पुगेपछि हाकिमले मथुरासँग कुनै पनि अश्लील कुरा गरेनन् । मात्तिएनन् । मथुरालाई एउटी रमाइली केटीको रूपमा मात्र लिए । हाकिमको त्यस चालाले मथुरा अचम्म परिन् । उनलाई त्यहाँ थोरै बैँसको धुवाँ उडाउने रहर थियो । मन शान्त गराउने रहर पनि थियो तर त्यो विधि के हुन्थ्यो उनैलाई थाहा छैन । आज हाकिमको व्यवहार देख्दा अघिल्लो पटक देवकासँग भएको घटना सत्य थियो वा देवकाले नै नाटक गरेकी हो भन्ने पनि लाग्यो । हाकिमको दोहोरो कला मथुराले बुझिनन् ।

त्यस्तैमा हाकिमले मथुरालाई सोधे, ‘नानीले जागिर खाने हो ?’ मथुराको ज्यानबाट एकाएक चिसा पसिना आए । कामुक प्रस्तुतिको सिलसिलामा त्यस्तो जिम्मेवारी कुरा हाकिमले गरेपछि उनी लाजले पानी भइन् र भनिन्, ‘पाए त खाने हो सर….!’ मथुरा पढे–लेखेकी युवती हुन् । टाठी पनि हुन् । हाकिमले उनको कुशलता, सुन्दरता, तथा चलाकीको छनक पाएकोले कोठामा बोलाएका रहेछन् । अचम्मको कुरो त हाकिमले जे जति हाँसो मजाक गर्ने गर्दथे ती सबै नाटकीय हुँदा रहेछन् । त्यसै नाटकमा मान्छेलाई तौल्दा रहेछन् भन्ने लाग्यो मथुरालाई । हो, मथुराको मूल्यांकनमा देवकालाई पनि तौलेका मात्र रहेछन् भन्ने लाग्यो । हाकिमले गम्भीर मुद्रामा ‘हुन्छ जानुस्, भोलि कागजात लिएर आउनुस्’ भनेपछि मथुरा त्यहाँबाट निस्किन् । उनले देवकाका दम्पत्तिलाई बाटैमा भेटिन् तर देवकासँग सबै कुरा गरिनन् । देवकाको मनमा पनि मथुराको विषयमा कुनै अन्यथा शंका थिएन । मथुराले बेलाबेलामा गर्ने महिलाको सवालका त्यस्ता नाटकीय खेल त्यो दिनबाट बन्द गरिन् ।

भोलिपल्ट मथुरा त्यस अफिसमा मुखिया सरहको पदमा जागिरे भइन् । हिजोको त्यो रसरंग, आजै मथुराले नियुक्ति पाउनु । अरु सबै कर्मचारी त अचम्म परे परे, पीताम्बर पनि चकितै परे । ‘हाकिम रण्डो रहेछ’, पुरुष कर्मचारीको हाकिमप्रतिको मूल्यांकन हो । ती सबै खसाखुसु मथुराले सुनिनन्, सुन्ने चेष्टा पनि गरिनन् । उता पीताम्बरको एकाएक प्रमोसन हुनु र मथुरा भन्ने नक्कली केटी हाकिमसँग एकै छिन कुम जोडेर नाचेकै भरमा जागिर पाउनुले प्रमोसन हुन नसकेका कर्मचारीहरुको मनमा इष्र्या उत्पन्न भयो । तर, त्यस्ता कुरा एक्लाएक्लै सोचे, आपसमा गरेनन् ।

यता मथुराको मनमा कस्सो संयम गुमाइनछु भन्ने कुराले गर्व त लागेको छ तर हिजो हाकिमसँग बढी मात्तिएँ कि भन्ने कुराले मन पोलेको छ । लाज पनि लागेको छ । त्यस्तै देवकाले ल्याएको सुकुटीको कुराले त मनमा झनै ढ्याङ्ग्रो ठोक्यो । चित्तलको भनेर उपहार दिएको सुकुटी भैँसीको पो रहेछ । हुन त त्यसको दोष मथुरालाई जान्न । देवकालाई नै जान्छ । हाकिमले थाहा पाए कि पाएनन् भन्ने पिरलो मथुरालाई पनि लाग्यो । संयोग त्यो सुकुटीको पोको हाकिमले खोल्दै नखोलिकन पठाएछन् । चित्तलको सुकुटी नै नचाखेका मान्छेले चित्तलै सम्झेर खाए । त्यो भैँसी गति प¥यो त भन्नु प¥यो !

घटनाले चौथो मोड लियो । प्रमोसन हुन नसकेका कर्मचारीहरुमध्ये अरुले त यस्तै हो भनेर चित्त बुझाए । एक जनाको मनमा पाप पस्यो । हाकिमसँग आफ्नै श्रीमतीलाई लगेर झोँस्ने, जे पर्ला पर्ला । ती कर्मचारीलाई पीताम्बरको प्रमोसन कसरी भएको हो भन्ने त थाहा छैन तर हाकिम कामुक छन् र त्यसैमा फसाउन सकिन्छ भन्ने उनको सरल अनुमान छ । उता हाकिमले फटाफट मान्छेको मन तौल्दै गरेको देखिन्छ । उनले मान्छेलाई खास गरेर कर्मचारीहरुलाई ठिक्क काँटा मिलाएर तौल्दा रहेछन् । शून्यमा पुग्दा तराजु तल झर्छ वा माथि जान्छ ? काम त सबैले गरेकै हुन्छन् । हाकिमले पिताम्बरलाई चाकडी, सुकुटी, मृगको छाला तथा देवकाको देह देखेर प्रमोसन गरेको होइन भन्ने लागेको छ । देवकासँगको सामिप्यता त एउटा मान्छेमा हुने सामान्य मनोविज्ञान हो । धेरैले लुकाएर मात्र हो त्यस्तो संयोग अरुमा पनि परेको हुन्छ । हाकिमसँग तेर्सिँदैमा प्रमोसन हुने हो र ?

ती कर्मचारीले त्यसै साँझ उनकी श्रीमतीसँग प्रमोसनको निम्ति हाकिमलाई यौनजन्य तरिकाले कसरी हातमा लिन सकिन्छ भनेर कुरा गरे । श्रीमतीले सुरुमा कुरा बुझिनन् । उनले त अरु कुनै नक्कली महिला लगाएर हात लिने भनेको जस्तो बुझिन् । त्यस बुझाइले पनि श्रीमतीले ठाडै इन्कार गरेकी थिइन् । कसैको निजी स्वार्थमा अरु कुनै महिलाको अस्मितामा खेलवाड गर्न हुन्न भन्दै थिइन् । अझ आफै संलग्न भएर हाकिमको बिस्तरामा सुत्न जाने अभिनय भन्ने कुरो बुझेकी भए के हालत हुँदो हो ? उनका पतिले कुरो गर्न नजानेर हो वा डराएर हो ? भन्न खोजेको चाहिँ उनकै श्रीमतीले त्यो नाटक गरुन् भन्ने हो । पतिले पनि सिधै हाकिमकी रखौटी बन् भनेको होइन । त्यस कुराले उनीहरुको त्यो रात वादविवादमै बित्यो र आपसी असमझदारीको बीजारोपण सुुरु भयो । श्रीमतीलाई उनका श्रीमानका त्यस्ता कुराले निकै घोँच्यो । मन पोल्यो र रातभर निदाउन सकिनन् । उनी उनका पतिले भनेको कुरो भन्दा पनि हाकिमको चरित्रले झस्किन् ।

भोलिपल्ट, कार्यालय खुल्यो । हाकिमको कोठामा कुनै गोप्य फ्याक्स आएको कुराले चर्चा पाएको थियो । हाकिमले सबै कर्मचारीहरुलाई उनकै कक्षमा बोलाए । भारतको अवध विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र भएका तीनजना कर्मचारीका कागजात छानबिनमा रहेछन् । त्यसै दिन ती कागजात सक्कली हुन् भन्ने सदर भएछ । भर्खरै आएको फ्याक्स ती कर्मचारीहरुको रोकिएको प्रमोसन फुकुवा भएको जानकारी पत्र रहेछ । प्रमोसन रोकिएको कुरो कर्मचारी कसैलाई पनि थाहा थिएन । थाहा हुने कुरो पनि भएन । हाकिमले प्रमोसन भएका थप कर्मचारीहरुलाई बोलाएर बधाइ दिए । वातावरण एकाएक फेरियो । हाकिम साहेब असल मान्छे भन्ने भयो । त्यस कुराले पीताम्बरलाई पनि रमाइलो लाग्यो किनकि उनी त त्यसै कनिष्ट थिए । त्यो खबर भर्खरै नियुक्त भएकी मथुराले मेसै पाइनन् । यस खबरले हिजो राति हाकिमकै विषयमा घरमा झगडा हुने कर्मचारीको जोडीले के सोच्ने होलान् कुन्नि ?

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

  1. धेरै धेरै धन्यवाद छ नेपालनाम्चालाई !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button