
हामीले फालेको २५० वर्ष पुरानो मूर्तिको ठाउँमा तिम्रो मूर्ति बनाइरहेछन् कालीगढहरू
कविताः गणतन्त्र नेपाल
मणि लोहनी
मानिसहरू अझै उस्तै छन् जस्तो पहिला थिए ।
हस्तरेखाजस्तो आफैंमा टाासिएको गरिबी
कुवाझैं खोपिल्टा परेका आाखामा हुर्किएको सपना
प्रत्येक पल मरिरहेका तिनै सपनाहरूसँग
शोकगीत गाइरहेको छापामार शैलीको आवेश
वा तिमीले बोकेर हिँडेका शक्तिपीठहरूको आक्रोश ।
स्कुल त्यही हो, जहाँ अहिले पनि मारिन्छन् शिक्षकहरू
बालकहरूले गाउने राष्ट्रगान खोसेर
तिम्रो भक्तिगीत राखिंदैमा
तिम्रै स्तुति घोकेर हरियो रूखजस्ता सैनिकहरू उभिंदैमा
भाँचेर कलम पत्रकारहरू मुग्लान भासिदैमा
प्रोफेसरको ओखरे गिदी भुटेर स्कच पिलाउँदै सिद्धान्त भट्याउँदैमा
कहाँ फेरियो खै समय ?
तर तिमी डिङ्ग हाँकिरहेछौ नयाँ नेपालको ।
औंलाको नङमा आलै छ मतदानको चोट
सहिदको रगतजस्तै सांसदहरूको निधारको रातो अबीर
र, छातीमा टल्किएको सुनौलो ब्याज
च्यातिएका घोषणा-पत्रहरू
बल्दाबल्दै निभाइएका टायर
र, त्यसबाट उडिरहेको धुँवा
यत्रतत्र भेटिन्छन् सडकपेटीहरूमा ।
भर्खरै फालेको निरङ्कुशताका अवशेष
र अधिनायकवादका जुत्ताहरू
उस्तै छन् फेरि पनि
भिन्न भएकै कहाँ छ र आम दुःखको पहाड ?
केही भिन्न छैनन्
गणतन्त्र नेपालमा
सबै उस्तै छन्
उस्तैउस्तै नै छन्
फरक यत्ति हो
हामीले फालेको २ सय ५० वर्ष पुरानो मूर्तिको ठाउँमा
तिम्रो मूर्ति बनाइरहेछन् कालीगढहरू ।
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)