विमान फर्केर गयो, बुढा थचक्क भुइँमा बसे

लघुकथा / अवाक्

हरिप्रसाद गौतम

मनोहर बाजेले पछिल्ला दिनमा धर्मकर्मका कुरामा अलि बढी नै चासो राख्न थालेका थिए । जीवनभर घरपरिवारको लालनपालन गर्दागर्दै सुख काट्ने खासै फुर्सद पनि मिलेन । धर्म र कर्तव्यको तालमेल मिलाउँदा मिलाउँदै जीवनलाई बुढ्यौलीले छोइसकेपछि भने उनी अलि बढी अधैर्य भएका थिए । यो लोकमा जतिसुकै भौतिक उन्नति गरे पनि उनी परलोक सुधार्ने उयायको खोजीमा थिए ।

पछिल्ला दिनमा भने गाउँघरमा हुने पूजापाठ, आफूले सक्ने तीर्थव्रत, दानदक्षिणा आदिमा बाजेले सक्दो र सुहाउँदो गरेकै थिए । आफ्नो मेहनतको जगले छोराछोरीको जीवनमा पनि चहचह नै थियो । बाजेबज्यैले सन्तानको सुखद भविष्यका लागि कुनै कसर बाँकी राखेका थिएनन् । बुढी पनि बुहारी र नातिनातिनासँग मिलेर रमेको देख्दा बाजेलाई अब म क्यै गरी मरिहालेछु भने पनि यसको खासै पिर छैन भन्ने लाग्थ्यो ।

पुराणका कुरा सुनेका बाजे सत्कर्मले स्वर्ग गइन्छ भन्ने विश्वास राख्थे । युधिष्ठिर जिउँदै स्वर्ग गएको कथा पनि सुनेका थिए । वरपरका दौतरीहरू रोगले थला परेको देख्दा उनी आफू भने रोगव्याधि नलाग्दै फ्याट्ट जान पाए उनीहरूकोजस्तो पीडा त हुने थिएन भन्दै घोरिन्थे ।

मनोहर बाजेको सरल जीवन, गृहस्थमा रहेर पनि गरेको धर्मकर्म आदिको लेखाजोखा विधाताले गरेका रहेछन् । त्यस दिन बिहानको खाना खाएपछि बज्यै माथि बैठकमा गएर सुत्नासाथ निदाइछिन् । असारको अन्त्यतिरको चटारोले कोही फुर्सदिला थिएनन् । बारीबाट एकमुठी स्याउला ल्याएर पाठापाठीलाई दिन्छु भन्दै बाजे हातमा हँसिया बोकेर निस्के ।

बुढा आँगनमा पुगेका मात्रै के थिए, सुटुक्क आएको विमान आँगनमा रोकियो । इन्द्रजस्तै देखिने चालकले उनलाई बस्न आग्रह गरे । कालगति नभएकाले जबर्जस्ती थिएन । केवल मनोहर बाजेको इच्छा स्वर्गको कामना हो भन्ने बुझेको विधाताले यो तय गरेको रहेछ तर एक्कासि मिलेको यो स्वर्गले बाजे निकै बेरसम्म अवाक् भए । विमान फर्केर गयो । बुढा थचक्क भुइँमा बसे ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button