मृत्यु बुद्ध भयो, बुद्ध मृत्यु भए

मृत्यु कविता-६

ठाकुर बेलवासे

जन्मले
मृत्यु दियो
विश्वस्त बनौं
मृत्युले जन्म दिने छ ।

पूर्णसत्य र पूर्णअसत्यमाथि बहस गर्नु
आत्मकुण्ठा हुनसक्छ
मृत्यु र जीवनमाथिको कुण्ठाले
मान्छेको भावनालाई कैद गरिदिँदो रहेछ ।

बुद्धसँगै थियो
मृत्यु
मृत्यु प्रेम गर्दागर्दै
बुद्ध आफै भगवान भए ।

सायद
बुद्धको जन्मसँगै
मृत्यु बुद्ध भयो
बुद्ध मृत्यु भए ।

हुनसक्छ
बुद्धको जन्मसँगै
प्राणीमा
मृत्युसँगसँगै बुद्ध पनि प्रवेश गरे
जीवनको लोभमा
मानिसले
न बुद्ध देख्यो
न त मृत्यु नै ।

चुपचाप प्राणीमा वसेको
मृत्यु
कहिल्यै कोलाहल गरेन
हल्ला त
जीवनले गरिरहेको छ ।

जीवन जोगाउन
जति सचेत छ
मान्छे
मृत्यु संरक्षित गर्न पनि
उत्ति नै चिन्तित भएको भए
सायद
आज
संसार बुद्ध हुन्थ्यो होला ।

जीवन छ
र, त
मृत्यु छ ।

मृत्यु छ
र, त जीवनको अर्थ छ ।

जीवन बाँच्न प्रेरित गर्ने
आफ्नै मृत्युको

सधैँ अनुष्ठान गरिरहेको छु ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button