जोइटिङ्ग्रे

कथा
गुरुदत्त ज्ञवाली

छोरी दुछुम्म माइती घरमा आएको देखेर आमा दङ्ग परिन् । माइतबाट घर गर्न गएकी छोरी, एक हप्ता नबित्दै कुनै मेलो मेसो, आजा–पूजा वा दुःख बिरामी केही नभइकन र कुनै खबरै नगरिकन एकाएक आउँदा अचम्म लाग्ने नै भयो ।
‘एक्लै आयौ छोरी ?’

आमाको जवाफ नदिइकन छोरीले पछिल्तिर संकेत गरिन् । ज्वाइँले गेटबाट मोटरसाइकल भित्र छिराउँदै थिए ।

‘ए.. ज्वाइँ पनि आइसेछ, नमस्ते ज्वाइँ साप ।’

ज्वाइँलाई देखेपछि सासुआमाले साडीको सप्को मिलाइन् र अलि अस्वाभाविक रूपले सटरपटर गर्न थालिन् । छोरीको बिहेपछि उनले आइस्यो गइस्यो भन्न सिक्दैछिन् ।

बैठक कोठामा बसेपछि आमाले, ‘आहा कति राम्री मेरी छोरी’ भन्दै छोरीलाई मुसार्न थालिन् । ज्वाइँ धेरै बोलेनन् ।

‘ए सुनिस् ? छोरी ज्वाइँ आइसेको यसलाई पत्तै छैन, कुलकी छोरी भए पो ख्याल हुन्छ ? हैन कहाँ मोरिस् भनेको ? हेर न नटेरेको ?’ उता सासुआमाले बुहारीलाई ठुलै डाँको काढेर एकै सासमा तथानाम गाली गरिन् बुहारीलाई र छोरी ज्वाइँसँग कुरामा मस्त भइन् । बुहारी निकै अदवका साथ लुसुक्क त्यो कोठामा पसिन् र नन्द तथा ज्वाइँलाई नमस्कार गरिन् । नन्देभाइ भनिन्थ्यो, अचेल ज्वाइँ भन्ने चलन चलेको छ ।

बुहारीले सञ्चो बिसन्चो सोध्न नपाउँदै सासुको हुकाइ खाइ हालिन्, ‘ज्वाइँ सापलाई पानी बनाएर टकार्नु पर्दैन ?’ पानी त के बनाउनु थियो र ? चिनी घोलेर ल्या.. भनेको होला अथवा सर्वत पानी । बुहारी फनक्क फर्केर सर्वत बनाउन गइन् । टिपेर राखेको कागती रहेनछ र उनी नजिकैको करेसाबारीमा गएर कागती टिपेर ल्याइन् । ढिलो भएछ क्या र ? सासु आमाको गधा डाँको फुस्क्यो, ‘हैन कता ठुन्किस् ? हे भगवान्…! यस्ता बुहारीबाट पनि के सुख हुन्छ र ?’

बुटवलबाट भैरहवा जाने बसमा चढेर पाँच किलोमिटरजति बस गुडेपछि शंकरनगर भन्ने ठाउँ आउँछ । बसबाट उत्रेर पूर्वतिर वनवाटिका जाने बाटो हुँदै लाग्दा पहिलेको गाविस कार्यालय र हाल नगरपालिका भएपछिको वडा कार्यालय आउँछ बाटोमा । त्यसको सय कदम पर पुगेपछि एउटा बाटो दख्खिन जान्छ । आधा दख्खिन लागेपछि पूर्व जाने बाटोतिर तेर्सिनु पर्छ । पूर्वबाट थोरै पर पुगेपछि उत्तर जाने बाटोतिर लाग्दा बडेमानको महल छ । त्यसको ठीक कोख्खैमा बाटोभन्दा धेरै उँचाइमा गेटसहितको दुई तलाको घर छ । घरको आँगनमा कुनै फूलसुल छैनन् । एउटा मोटरबाइक कहिलेकाहीँ देखिन्छ । दाहिनेतिर आँगनमा धाराको टुटी रसीले बाँधेको हुन्छ तर पनि पानी तपतप चुहुन्छ । त्यसैको किनारमा शौचालय छ । शौचालयको ढोकामा प्वाल परेर बोराले छेकेको छ । शौचालयभित्र पानीको धारो छैन, एउटा कुच्चिएको बाल्टिन् छ । ढोका रसीले तानेर अड्याउनु पर्छ । घरमा रंग लगाएको तर अहिले खुइलिएको अवस्था छ । घरपछाडि गोठ, गोठमा दुईटा काठेगाई र एउटा बकेर्नो भँैसी देखिन्छ । त्यहाँ एकजना अलि पाका मान्छे, हरदम गोठमै हुन्छन् । उनी धेरै बोल्दैनन् । देख्दा कुनै नोकर चाकरजस्ता भए पनि त्यस घरका घरधनी हुन् ।

पत्नीको कचकच सहन नसकेर दिनभरि गोठतिर भुल्छन् उनी । उनको नाम रुमाकान्त हो । उनी गुल्मीबाट त्यहाँ झरेका हुन् । गुल्मी छँदा एक दिन बुढाबुढी भएर अगेनाको छेउमा आगो ताप्दै रहेछन्, पत्नीले ‘अलिपर सर्नुस् न, कति टाँस्सिएको हो ?’ के भनेकी थिइन् रुमाकान्त जुरुक्क उठेर हिँडेका ! कलकत्ता पुगेछन् । ‘कलकत्ता पुगेँ, यहीँ बसूँ कि अझै पर जाऊँ ?’ भनेर चिठी पठाए । त्यसैले उनको नाम कलकत्ते रहेको हो । कलकत्ते दाइ भनेपछि सबैले चिन्छन् ।

कलकत्ते दाइका सन्तान दुईटा मात्र हुन्, ठूलो छोरो र त्यसपछि छोरी । छोरो पढेलेखेको लक्का जवान छ । उसको बिहे भएर छोरो जन्मेको छ । छोरीको पोहोर साल बिहे भएको । छोरी अलि पुल्पुलिएकी, यस्सो कडा मिजासले बोल्यो भने प्याच्च रुने नत्र हरेक कुरामा घुर्की लगाउने स्वभावकी । कलकत्तेकी पत्नीको नाम अरुन्धता हो तर बोल्दा बोलाउँदा सबैले रुन्नता भन्छन् । छोराको नाम पुरन र बुहारीको नाम पूर्णिमा । छोरीको नाम सुमित्रा । हो, यो घटना त्यही घरको हो । अब ठनास्दै जानुस् त्यो घरको चालामाला ।

रुन्नताले छोरीको बिहे भएपछि आइस्यो गइस्यो भन्न थालेकी भए पनि अझै मेसो पाउन्निन् । नातिको नामको अझै टुङ्गो लागेको छैन । रुन्नताले देउताको नाम राख्न खोज्छिन्, छोरा बुहारीले आधुनिक नाम राख्न चाहन्छन् । त्यहीँ कुरो नमिलेर सबैले नाति नै भन्छन् मानौँ उसको नाम नै नाति हो ।

नाति ज्वरोले निस्लोट छ अहिले । पुरनले उसको अहेव साथीलाई बोलाउन गएका फर्केका छैनन् । उनै साथीको सल्लाहले अस्पताल लैजाने वा नलैजाने भन्ने निधो हुन्छ होला । पूर्णिमाले नातिलाई पानीपट्टी दिइरहेको बेलामा छोरी ज्वाइँ आए । त्यसैले पूर्णिमा तत्काल अतिथि सत्कारमा हाजिर हुन सकिनन् । रुन्नतालाई ती सबै कुरा थाहा थियो । ज्वाइँको सामुन्ने लरक्क पार्नु परेकोले नातिको मर्म लुकाइन्, बुहारीलाई त सधँै पोलेको पिँडालु झैँ गराउँछिन् । पूर्णिमाले सासुलाई मुख फर्काएको थाहा छैन ।

‘दाइ खोइ त आमा ?’, कुरा गर्दैगर्दा सुमित्राको मुखबाट दाजुको कुरा के निस्केको थियो, रुन्नताले सत्तलसिंह राजाको कथा बाँचे जस्तै छोराको कथा सुनाइन् । ‘ईं….बरै छोरी, त्यो मोरो जोइटिङ्ग्रे, सधैँ स्वास्नीका कुरा सुन्छ र त्यसैलाई बोकेर डुल्छ । कहिले अस्पताल जान्छु भन्ने बहाना गर्छ, कहिले के भन्छ । बुहारी पनि कङ्कालीकी छोरी रैछ । मुखभरि धुलो दलेर फुस्रै हुन्छे ।’

‘हो र ?’, सुमित्राले ट्वाल्ल परेर आमाका कुरा सुन्दै गइन् ।

‘अँ तनि छोरी, त्यो मोरो जोइटिङ्ग्रेका र नक्कलीका कुरा के गर्ने ?’, उनले कुरो बदल्दै ‘साडी त राम्रै लगाइछस्, कसले किनिदिएको हो ?’ भनिन् ।

‘ज्वाइँले’, सुमित्राले छोटो जवाफ दिइन् ।

रुन्नताले फेरि कुरो थपिन्, ‘आहा…! कति भाग्यमानी तँ त .., असल ज्वाइँ पाउनु पनि भाग्यमा लिएर आउनु पर्छ ।’

छोरी मसक्क परेको देखेर आमाले अरु हाल खबर सोधिन्, ‘एक्कै सातामा आइस् त ..?’

‘हो आमा, अस्ति लुम्बिनी गयौँ, त्यो भन्दा पहिले भैरान्थान गयौँ । त्योभन्दा पहिले उहाँलाई कर गरेर रानीघाट गयौँ । हिजोकोे दिन हो खालि बसेको, दिन बिताउन साह्रै गाह्रो । आज यता आयौँ । दुई चार दिन बसेर यतैबाट पोखरा जाने सल्लाह छ । घरमा त सासु आमाले सबै धान्नु हुन्छ केरे, बुवा पनि टाठै हुनुहुन्छ । म त जाम् भन्छु र हिँडिहाल्छु । उहाँले जे भने पनि मान्नु हुन्छ क्यारे …’, सुमित्राले कुरामा सितारा गाँस्दै बयान दिइन् ।

‘अनि ज्वाइँ कहिले फर्किबक्सनुहुन्छ त ?’, रुन्नताले कुरो दुहुन थालिन् । त्यो बेला ज्वाइँ सर्वतपानी खाएर बाहिर निस्केका थिए ।

‘सँगै नि’, छोरीले युद्ध जितेको सिपाहीले जसरी जवाफ दिइन् ।

एउटा मोटरसाइकल खुर्र आएर त्यसै घरको आँगनमा पस्यो । पुरनले साथीलाई सँगै लिएर आए । उनीहरु सरासर बिरामी नातितिर लागे । पुरनलाई बहिनी ज्वाइँ आएको थाहा थिएन ।

‘यता छोरी ज्वाइँ आएको देखिनस् ? उतै मठारिनु पर्छ जस्तेर सुकै ?’ भन्दै रुन्नताले पुरनतिर हेर्दै आँखाका गेडी घुमाइन् ।

नातिलाई अस्पताल लैजानुपर्ने कुरो भएछ । पुरन, पूर्णिमा र पुरनको साथी भएर अस्पताल जाने तरखरमा लागे । सुमित्राका आमा छोरी न त बिरामी नातिलाई कस्तो छ भनेर हेर्न गए न त भाउजूको मुखमा सुमित्राले हेरिन् ।

‘ए…. बहिनी आएकी ? ज्वाइँं सञ्चै हुनुहुन्छ ?’, पुरनले बहिनीलाई सोध्न नभ्याउँदै ज्वाइँं आँगनमा देखिए । उनले ज्वाइँंलाई नमस्ते गर्दै अस्पताल जानु परेको कुरा गरेर निस्के । रुन्नतालाई छोरा बुहारीको कुरा दमाल्न फुक्काफाल भयो ।

‘देखिस् छोरी…! छोरो हिँडेको, त्यो लखौरी पनि पछि लागी । के को अस्पताल जाउन् ? नाति केटालाई सञ्चो छैन भन्यो, काखी च्याँप्यो हिँड्यो, कति स्वादै हो ? बोल्न हुन्न, अह्राउन कहिल्यै पाइन्न । यो लखौरी भित्रिएपछि घरमा शान्ति पनि भएन, सुख त कहाँ हो कहाँ ? त्यसको अलच्छिन्ले छोराको डाँगो पनि खत्तम भयो । पैसा, पैसा स्वाहा, यस्तो छोरो हुनुभन्दा त … ।’

‘त्यस्ता बुहारीलाई लाच्छे र लुच्छे पार्नुस् न आमा’, सुमित्राले अझै बत्तीसमसला थपिन् आमाको कुरामा । ज्वाइँंले नजिकै बसेर कुरो सुनिरहे । उनले मनमनै सोचे होलान्, ‘मेरी आमाले पनि यस्तै भन्नु हुँदो हो नि !’

बुहारी भित्रिएपछि रुन्नताले त्यो घरको भित्री काममा सिन्को भाँचिनन् । गोठल्याइँं लोग्नेले गर्छन्, भित्रको धन्दा बुहारीले सक्छिन् । उनको काम ढोका बाहिर निस्कँदा लोग्नेलाई ठुँग्ने र भित्र पस्दा बुहारीलाई ठुँग्नेबाहेक अरु हुन्न । छिमेकी दिदी बहिनी आए भने, ‘मेरो छोरो स्वास्नीको फरियामा नाच्यो, छोरा पाउनु पनि यस्तै रहेछ, उस जुनीको सराप’ भन्दै टाउको ठोक्दै रुन्छिन् ।

नातिलाई टाइफाइड भएछ । साँझ झमक्क परेपछि छोरा–बुहारी, बिरामी नातिलाई लिएर आए । घरको खानपानमा कहिल्यै सुको नचुहाउने रुन्नताले छोरी बुहारी आएका भनेर खसीको मासु ल्याएकी थिइन् ।

‘मासु त छोरी ज्वाइँ तथा आमाले मात्र हसुरेछन्’, पूर्णिमाले पति पुरनसँग सुस्तरी भनिन् । छोरा बुहारी घरमा आउँदा उनीहरु खाएर उम्केका थिए । भान्सामा सेलाएको भात र दालको सङ्ग्लो झोल मात्र थियो । रुमाकान्तले त त्यो घरको चर्तिकला ब्यहोरेको हुनाले मासु हुनु र नहुनुमा वास्ता गरेनन् तर मौका मिलेको खण्डमा मासु खाने मान्छे हुन् ।

सुत्नुभन्दा पहिले राति अबेरसम्म रुन्नताले बुहारी र छोराका कुरा काटेर सकिन् । वास्तवमा जोइटिङ्ग्रे त ज्वाइँ थिए भन्ने कुराको मेसो पाइनन् । रुन्नताले ‘भगवान जस्ता ज्वाइँ’ भनेर कुराको चिल्लो घसेको र छोरीलाई साँच्चै नै तेलले चिल्लो घसेको पूर्णिमाले सुनिन्, देखिन् ।

त्यस्तैमा नाति ज्वरोले आत्तिएर बेस्सरी रोयो । रुन्नताले छोरीसँग भनिन्, ‘देखिस्, काम गर्नको दुःखले त्यो नखर्माउलीले छोरालाई चिमोटेर रुवाई ।’

छोरीले पुर्लुक्क आमाको मुखमा हेरिन् र ला…मो सास तानिन् ।

ज्वाइँलाई सासुआमा र उनकी पत्नी सुमित्राको कुराले एक हजार वाटको बिजुलीको झट्काले टाउकोमा हिर्काएको अनुभूति भयो क्या र ? रातभरि निदाएनन् र मनमनै कुरा खेलाए, ‘जालिस् सुमित्रे अब पोखरा….!’

पोखरा जाने निधो गरेका ज्वाइँले भोलि बिहानै त्यहाँबाट फनक्क फर्केर घरमै जाने निधो गरे । जोइटिङ्ग्रे शब्दले उनलाई बेस्सरी पोल्यो क्यार ?

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा,मुक्तकदैनिकी,संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button