
उभिएकी छु एक्लै
कविता
सुस्मिता नेपाल
सुनसान ठाउँमा
उभिएकी छु एक्लै ।
टाढाबाट तिमीले
बोले जस्तो लाग्छ
टाढाबाट तिमी
बिस्तारै आए जस्तो लाग्छ
अनुभूत गर्छु
तिम्रो बोलीको
आफै हराएजस्तो लाग्छ
तिमी आउने बाटो
आफै भएजस्तो लाग्छ ।
मेरो एक्लोपनमा
आँखा टम्म रसाउँछन्
भरिएका आँसु झर्न हिम्मतै गर्दैनन्
आँखाभित्रभित्रै बिलाउँछन् ।
थाहा छ तिमीलाई ?
समय मेरै खुट्टा भएर
फैलिँदै फैलिँदै गएजस्तो लाग्छ
आकाशमा टाँगिन पुगेको मन पनि
बादलका आकारहरूमा
कोरिन पुगेजस्तो लाग्छ ।
तिमी नआए पनि
साँच्चै
तिमी नआए पनि
तिम्रो आवाज
तिमी आउने बाटो
तिम्रो सुसेलीले
पछ्याइरहेजस्तो लाग्छ
यही सुनसान ठाउँमा ।
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा,मुक्तक, दैनिकी,संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
गहकिलो भाव अनि सरल शैलीको मीठो प्रस्तुति !